अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~

नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ ।

जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने अर्कातिर, मानवशास्त्रीय अर्थले नेपालमा आधुनिक मानव समुदाय (विगत ८/९ वर्षदेखि) को सक्रिय विचरित हैसियतको चिनारीसहित गतिशील प्रतिस्पर्धात्मक अवसरमा आफ्नो पहुँच पनि पढाइरहेको छ । अतः यसले हामीलाई आफ्नो अपनत्वको आत्माभाव जागरणसँगै  विश्व सभ्यताको आधुनिक आँगनतिर पनि अगाडि बढाइरहेको हुन्छ ।

सांस्कृतिक सम्पदाको अर्थमा लोकबाजाहरूको सिर्जना र प्रयोग बोल्य (भर्वल), लेख्य भाषाको विशेष विकास हुनुभन्दा पहिले साझा (सामुदायिक) संकेत : श्रव्य–दृश्य र भावभङ्गिमा भाषाको रुपमा लिइएको पाइन्छ । जो प्राकृतिक/भौगोलिक, विचरण/बासस्थान र तत्कालीन मानवीय पर्यावरण अनुकूलनीय प्रयोजनार्थको प्राथमिक आवश्यकतानुसार विकास भई प्रचलन हुँदै आएको मानिन्छ ।

त्यो अर्थमा, सिकारी–कन्दमूलको जीविकापार्जनमुखी युगमा समुन्द्री माछा मार्दै, शंख फुकेर, त्यस्तै जंगलमा सिकार खेल्न सुईसुला पारेर तथा रूखको बोक्रा बटारी ढुंग्रो र पिपिरी (पात) बजाएर, बाँसको ढुंग्रो फुकेर व्यवहार चलाउनुजस्ता कुराहरू आमोद–प्रमोदको तत्कालीन सम्पर्क र साङ्केतिक भावभाषाकै उदाहरण मान्न सकिन्छ  ।

त्यही चरणमा पशुपंक्षीलाई भेद गरी आफ्नो सिकारी जालमा पार्न विभिन्न जनावरहरूको नक्कल आवाजसँगै रुखको पातको विभिन्न भाका (लय)को विकास तथा नरभक्षक जीव–जनावरलाई भगाउन–धपाउन ढुंगा, काठको लठ्ठी र बाँस ठोकेर बजाउने, लहरा र पाटको डोरी वा जनावरको नशा र आन्द्रा तथा छालाको लोती बनाई तानेर, जनावरकै खप्पर, धोद्रेकाठ, बाँसको ढुंग्रोमा तन्काएर थर्काइ वा रेटेर बजाउने बाजाहरूको विकास पनि त्यो बेलाकै सामरिक र महत्वपूर्ण संगीत÷संस्कृति प्र्रसङ्गको विशेषता मान्नुपर्दछ ।

समाज–सभ्यताको कविला–कृषि युग सुरु भएपछि, धातुको विकास र प्रचलनपछि भने अन्य धेरै खाले लोकबाजाहरूको पनि सिर्जना र परिमार्जन हुँदै आएको पाइन्छ । यही बेलादेखि नै नेपाललगायत विश्वको जाति तथा आदिवासी जनजातिहरूमा ठोकेर (ढोल–ढ्यांग्रो, लाठी…), हल्लाएर (घण्टी…), फुकेर (मुरली–बाँसुरी, सनाई…) तथा रेटेर (एकतारे, सारङ्गी…) लगायत थर्काएर बज्ने–बजाउने (टुंसी–टुंना…) तथा बिनायो–मुर्चुङ्गाजस्ता बाजाहरूको पनि विकास र प्रचलन भएको देखिन्छ ।

नेपालमा बिायो–मुर्चङ्गाको कुरा उठाउँदा यसको पूर्वपरम्पराको विकास प्रचलनक्रम र प्राविधिक विकास–बिस्तारसँगै विश्वस्तरको पृष्ठभूमिमा परिमार्जित फैलावटको सवाल पनि खोज्नुपर्ने हुन्छ । यसरी हेर्दा यसको सिर्जना र सुरु विकास पूर्व–दक्षिण एसिया (विशेषतः चीन–मङ्गोलियाबाट, कउमस नामले (४औँ शताब्दी ईसापूर्वबाटै), हुँदैपछि राजस्थान–भारत (आजभन्दा क. १५०० वर्ष अगाडि, मर्चुङ), हुँदै भियतनाम, रुस, टर्किस, सिन्धी, अष्ट्रिया, नर्वे, जर्मनी, फ्रान्स आदिजस्ता पश्चिम–दक्षिण र युरोपियन क्षेत्रका देशहरूमा प्रसारित प्रचलन, सिल्करोडको व्यापार–विनिमयसँगै फैलिएको देखिन्छ ।

त्यहीक्रममा सांस्कृतिक सम्पदाको रुपले युनेस्कोमा दर्ता भने अष्ट्रियन जर्व–हार्पको नामले दर्ता गरेको तथा यसको डकुमेन्टेसन पनि मध्यपूर्वीय बाजाको रुपमा सन १४८१ मा भएको (माइकल राइट्स, विकिपिडिया अनुसार) देखिन्छ ।

नेपालमा पनि यसको प्रचलन मंगोलाईड वंशपरम्पराको संस्कृतिबाटै उत्तरको हिमाली–पहाडी तथा तिब्बेतन सभ्यताबाट बिचरण हुँदै किराँतमूल सभ्यता परम्पराको ढोल–ढ्यांग्रो र रिसिया, हाक्पारे–लामबारी, लहरे रिच्यूयल–ल्यूड (आलाप) को संगीतसँगै बिनायो–मुर्चुङ्गाको पनि प्रचलन हुैदै आएको हो भन्न सकिन्छ ।

जसानुसार किराँत समुदायको पूर्वावस्थामा यो आन्तरिक तथा पारिवारिक निकटताको आपसी आत्मियता बढाउन तथा आमोद–प्रमोदको लागि मात्रै हैन मानसिक उपचार र विभिन्न तान्त्रिक र संस्कारिक विधि विधानमा सांस्कृतिक–भाषा संकेतको रुपमा पनि प्रयोग गर्ने गरेको अनुमान गर्न सकिन्छ ।

यसैक्रमपछि हितैषी साथीभाई तथा युवा युवतीबीच सम्पर्क, मनोविनोद र हार्दिक भावना साटासाट, मानसिक थकाई–मेटाई साथै मनोत्पे्ररणात्मक योग र पुनर्उर्जा आदानप्रदान तथा सामुदायिक सांगीतिक जीवन र व्यक्तित्वको प्रचारप्रसारमा पनि विशेष प्रयोग भएको पाइन्छ ।

बिनायो–मुर्चुङ्गाको बनावट, विशेषता र विकासः 

यसको प्राविधिक बनावट र बजाउने तरिकामा पहिले–पहिले बास÷मालिङ्गो भाटा (टुक्रा) फुटाएर फलामको नर्नीबिनै पनि त्यसको बीचमा सानो जिब्री (चिम्टी) निकाली फेदमा दाँतले टोकेर च्यापी ट्याङ–ट्याङ पारी मुखबाहिरै थर्काएर बजाउने क्रममै बिनायो–मुर्चुङ्गाको पनि विकास भएको मान्न सकिन्छ ।

बाजाको स्वरुपः..

आजकल नेपालमा ३/४ इन्चको लम्बाई र आधा इन्चभन्दा कमको चौडाई तथा आधा सेमीको मोटाइमा ३/४ वर्षे, टुप्पो नभाँचिएको घमाइलो ठाउँको मालिङ्गो–बाँसको सानो पाता–कप्ट्यारोमा नर्नी (एकप्रकारको कर्द तर बिँडपटिका भाग भने बटारेर सानो छिनोको धार निकालिएको) ले खिपेर–खोपेर, त्यसको दुईभाग बनाई सानोपट्टिको भागमा खिरिलो जिब्री सहज रुपले कम्पन हुने गरी निकालिन्छ ।

र, बजाउनको लागि एकापट्टि फेदमा नरम धागोको पातलो डोरी जोडेर अर्काेपट्टिको छेउमा समाएर झड्काइ बजाउने गरिन्छ । तर मुर्चुङ्गा भने फलामको सानो २/३ इन्चको टुक्रामा भित्री सानो बिनायो झैं चिम्टी निकाली बनाइन्छ तर यसमा डोरीको सट्टाका त्यही सानो चिम्टी कै टुप्पोलाई मोडेर निकाली बजाउने बनाइन्छ । त्यसैगरी विश्वमा केही प्रचलित बिनायो (बाँस वा धातु निर्मित) को पनि त्यसैमा टुप्पो निकालेर डोरीबिनै आैंलाले थर्काएर मुर्चुङ्गा झैं बजाइन्छ ।

यसरी बनाइने–बजाइने बिनायो–मुर्चुङ्गा भने ओंठ–दाँतमा अडेस लगाई डोरी–औंलाको थर्काइ–कम्पनले छाती–कोठारको नाद र भित्री सासको झोक्का तथा जिब्रोको गति, उतारचढाव अनुसार स्वरको आरोह–अवरोह तह र मुख–कोठारको भित्री आयतन तथा गतिशीलताको परिवर्तन गरी यसबाट विशेष मौलिक–लयात्मक ताल सुरको धुन निकालिन्छ ।

पहिले–पहिले यसको सामुदायिक उपयोग सरल समाजको प्रचलनै थियो । अतः इन्डोर म्यूजिकको रुपमा नै पारिवारिक जमघटको आत्मिय भाव साटासाट, सरल–सहज, सस्तो र आत्मानिर्भर संगीत प्रविधि भएको कारणले त्यसबेला बढी प्रचलन–प्रयोग भएको पाइन्छ ।

यी बाजाहरूको अर्को विशेषता भनेको सानो स्वर, सीमित र शान्त वातावरणीय क्षेत्र (नजिक)मा मात्रै सुनिने भएपनि यो ताल–सूर दुवै समान गतिमा बज्ने हुँदा यसबाट लय भर्न सजिलै हुन्छ । यसको नाद कम्पन हुँदा ताल प्रधानता जस्तो सुनिए पनि भित्री भाव सुर भने स्वर–लयानुसार बजाउन सकिन्छ ।

अतः यसको नाद यान्त्रिक नभई प्राकृतिक–मौलिक तथा आत्मिक भावपूर्ण स्वरुपमा आउने भएकोले नै यसको बादनमा केबल ओँठ, दाँत र जिब्रोको मात्रै हैन मुटुको धड्कनपूर्ण झोक्का (भम्पिङ) को अनुभूतिजन्य गतिबाट स्वस्फूर्त मौलिक रस र राग–भाव गुन्जाइन्छ ।

संगीतमा यसको मूल प्रयोजन र प्रयोगः

यी बाजाहरू सुक्ष्म प्रकृति र सरल प्रविधिको भएको हुनाले यसका केही निश्चित सीमिततामा नै प्रयोग–प्रयोजनको महत्व हुन्छ । विशेष गरेर सोलो ताल सुर लाग्ने लयहरूमा रचित संगीतमा, विशेष लोकलयमा, अरु संगीतको काउन्टर पिसमा, विशेष शान्त–करुण, श्रृंगारिक रस–रागका संगीत रचनामा बढी स्वभाविक हुने गर्दछ ।

तर यसैबाट विशेष धुन–लयको वाद्यरचना गर्न परेमा यसमा डेढ–दुई सप्तकको स्वरको मात्रै प्रस्टताबोध हुने हुनाले अरु धेरै स्केल–आकारको थप बिनायो–मुर्चुङ्गाहरूको पनि सह–संयोजनसहित प्रस्तुत गर्नुपर्ने हुन्छ ।

यसका अन्य थप विशेष प्रसंगहरूः सरल समाजको भावुक–संवेदनात्मक संगीत साधन, सामुदायिक भाव–भाषा र सांकेतिक संगीत–बिम्ब, युवा युवतीको प्रेमप्रसंग बढाउने प्रेमोपहार–चिन्ह, घरेलु हस्तकलाको सीप–सिर्जना, सांस्कृतिक वाद्योपहार र पहिचानको माध्यम, प्राकृतिक वस्तु र मानवको सहज अभ्यासबाटै संगीतको उपयोग गर्न सकिने हुन्छ ।

प्राय सवै उमेर, लिङ्ग र तहका व्यक्तिहरूले बजाउन र सुन्न सक्ने, बोक्न, उचाल्न र एकैठाउँबाट अर्को ठाउँ पु¥याउन–पठाउन छिटोछरितो हुने तथा सस्तो, सहजै व्यवस्थापन र सुरक्षा गर्न सकिने, एकलदेखि सामूहिक तथा अन्य बाजा गाजासँग संयोजन गरी पनि बजाउन सकिने, पर्यावरणीय महत्वको सुमधुर आवाज र मौलिक नाद भएको,  तान्त्रिक रुपले संगीतोपचारको प्रयोग हुँदै आएकोमा अझ आधुनिक प्रक्रियाले प्रयोग गर्न सकिने, आदि रुपमा स्वीकार्न उचित हुन्छ ।

यस बाजा प्रयोगका आफ्नै सीमा, सीमितता र संम्भावनाहरूः

यो बाजाबाट वस्तुगत रुपले तालको नियमित झंकारमै सुर र बोलहरू मिलाउनुपर्ने हुँदा  संगीत रचनाको प्रष्ट लय, स्वर (कर्ड), सुक्ष्म/उपस्वर (नोट) तथा अति सुक्ष्म स्वर (माइक्रोटोन)को विशेष प्रष्ट फरकबोध पाइन्न । नियमित कम्पनहरूमा रचनाको बोल प्रष्ट छुट्टिएको भान हुँदैन ।

अतः एकोहोरो रिदममै बजेको जस्तो पनि आभास पाइन्छ तर भित्री भावश्रुतिमा अनुभूत वा मनन् गर्नुपर्ने हुन्छ । त्यस्तै यसबारे अरू पनि केही मननीय पक्षहरूमाः

  • यो बाजा ठुला–ठुला आकेस्ट्राको संयोजनमा प्रयोग गर्दा माइक्रोफोन नै चाहिन्छ । त्यसमा पनि यसलाई मेन लिडमा राखियो भने मात्रै यसको अस्तित्वबोध हुन्छ नत्र आम हेभी म्यूजिकल बाजाहरूबाट भने प्रायः डोमिनेट हुन्छ ।
  • बिनायो बाँसबाट बनिने र चिसो–तातो तथा सासको थुक र ओसले असर पर्ने हुँदा विशेष तरिकाले तेल वा पानीमा नपकाई बनाएमा त्यसको स्थायी सुर श्रुतिगत रुपले–बजाउँदा बजाउँदै घटबढ पनि हुनसक्छ ।
  • यी बाजा बजाउँदा औला वा दोरीको झड्का र छातीको कोठारबाट उठेको झोक्काको तालमेल मिलाउँदा सीमित गतिको काउन्सिङमा मात्रै बोल बजाउन सकिन्छ । जस्तै,  दुगुना, चौगुना, आठौंगुना गरी माइक्रो काउटिङ गर्न निकै गाह्रो हुन्छ र सासको भरले मात्रै प्रयोग गर्दा खास प्रस्ट प्रस्तुति हुँदैन ।
  • यो बाजा यान्त्रिक रुपले भन्दा पनि भाव रुपले वाद्यकको पुरै अनुभूतिजन्य आन्तरिक चालढाल र कला–कमाल, आत्मानन्द र स्वसुखमै विशेषबोध हुने तर त्यही अनुपातमा स्रोता दर्शकलाई खास बराबरी प्रभाव पार्न सक्दैन । अर्थात योबाट बजेको धुन भावना केन्द्रीत र आफैमा बढी आत्मिक तथा नीजि अनुभुतिशील पक्षमा बढी भर पर्दछ ।
  • यो बाजा बादकले मुखले नै बजाउनुपर्ने हुँदा वाद्यक आफैले भने गीत पनिसँगै गाउन पनि सकिदैंन । अर्को वाद्यक चाहिन्छ ।
  • यस वाद्य यन्त्रलाई समयानुसार स्वरुप र गतिशीलतामा समायोजनार्थ निम्न पक्षहरु बढाउँदै लान सकिन्छ ।
  • यो बाजा व्यक्ति, समुदाय कुनै निश्चित संस्कृतिको मात्रै हैन अब विश्व समुदायकै हो भन्ने गरेर विश्वस्तरमा प्रयोेग हुन थालेको सवाललाई अझ परिमार्जित गरी जाने ।
  • यो बाजाको बनोटलाई अझ परिमार्जित गरी लान सकिन्छ जस्तैः विनायोलाई ओँठको आधारमा ठुलो सानो स्केलमा बज्ने गरी त्यसको संरचना र अझ कलात्मक डिजाइनमा दुई जिब्ब्रेबाट पनि भाले–पोथी स्वर (हारमनाइज्ड) बज्ने गरी बनाउने । यसको प्राविधिक सुधार तथा मुर्चुङ्गाको धातु/स्पात फलाममा त्रिधातु वा पञ्च धातु तथा बहुधातु मिसाई अझ रौनक आउने स्वरको गुणमा ध्यान दिई परिमार्जन गर्ने ।
  • यो बाजा बजाउन तथा संगीतको काउन्टर पार्ट र अन्य भूमिकाबाहेक यसैबाट एकल रचना (वादन) सो हुनेगरी रस, राग र भावप्रधान प्रस्तुतिहरुको लागि आधुनिक संगीत नोटेसनहरु तयार गर्नुपर्दछ किनकी यसको नाद र प्रविधिको स्वरुप तथा विशेषताकै आधारमा म्युजिक एरेन्ज खास हुनुपर्दछ । तर त्यसको स्वपहिचानसहितको सारअस्तित्व अन्य बाजा र त्यसका धुनहरुसँग सामूहिक समायोजन हुन्छ ।
  • यो बाजाको वाद्यन प्रक्रिया र तरिकाबारे सरलदेखि जटिल पद्धतिसम्मको विकास गर्दै आधुनिक प्रणालीमा समायोजन गरी प्रयोगात्मक प्रशिक्षण दिने÷दिलाउने प्रचार–प्रसारको सुव्यवस्था सबै सरोकारीमा हुनुपर्दछ ।
  • यस क्षेत्रमा लाग्ने कला प्रतिभाहरुलाई पनि राष्ट्रिय सम्मान साथ यो विधाको आर्थिक र अन्य भौतिक उपलब्धिको लागि काम–नाम–दाम र देशको सांस्कृतिक पहिचानसहितको पर्यटन व्यवसायको आयआर्जनार्थ सवाललाई समेत ध्यान दिनुपर्दछ । यसका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान साथै अन्य सरोकारीहरुको सामूहिक सहभागिता र पहुँच साथै अवसरको वितरणका अन्तरक्रियात्मक सवालमा जिम्मेवारीबोधको एउटा विशेष योजनासहितको कार्यक्रमिक गतिविधि गर्ने/गराउने । साथै संस्थागत संरचनाहरुको कार्ययोजनासहित सबै पक्ष र क्षेत्रमा समायोजित गतिविधि सञ्चालन गरिनुपर्दछ ।

(लेखक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य हुन् ।)

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in लेख, संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.