कथा : सम्बन्ध

~सुमित्रा न्यौपाने~

साउनेझरी झमझम परिरहेको थियो । पानी कहिल्यै बन्द हुने छैन झैं लागिरहेको थियो । मन्द उज्यालोमा छाता ओडेर गन्तव्यतर्फ अगाडि बढेका बटुवाहरूको आधा शरीर भिजेको देखिन्थ्यो । झिसमिसे साँझमा चारैतर्फ भ्यागुताहरू कराइरहेका सुनिन्थे । झ्यालमा बसेर म टोलाइरहेको थिएँ । अनेकथरि दृश्यहरू आँखा वरिपरि घुमिरहेका थिए । एक्कासी आमालाई देख्दा म अलि संहालिएँ र उठें । यदाकदाबाहेक म मेरी आमालाई मेरो कोठामा देख्दिनथें । काम परेको बेला म आफै आमासँग पुगिहाल्थेँ ।

‘बाबु मैले काम गर्न सक्न छोडेँ, आज भान्सामा लडे नि म’ । आमाले सुस्तरी भन्नुभयो ।

‘किन आमा कसरी भयो यो ? सन्चो थिएन कि ? चोट त लागेन ? खाना बनाउन नसक्दा मलाई खबर गर्नुपदथ्यो नि आमा ।’ आमाको हात समाउदै बरबराएँ म ।

‘हैन हैन लागेन । एकैछिनमा ठीक भैहालेँ ।’ आमाले मलाई सारै बिरामी परेबाहेक भान्साको काममा लगाउनुभएकै छैन । स्कुल कलेज पढ्दा अलि व्यस्त भइयो । अहिले जागिर लागेकाले, भान्सामा कमै पस्ने गर्दथेँ ।

‘बाबु मैले काम गर्दा अलि होश पुर्याउनुपर्छ । तातोमा बस्नै सक्दिन । भान्साको काम मात्र समालिदिने कोही भए …।’ ‘कसलाई ल्याउने खै ? काम गर्ने केटाकेटी पाइदैनन् । आफन्तकासंगै राख्न मिल्ने छोराछोरी कोही छैनन् । बरु म आफैं ….।’ आमाको कुरा सकिन नपाउदैं मैले भनें । आमालाई मेरो कुरा चित्त बुझेन क्यारे अलि नाक खुम्च्याएर हाँस्दै भन्नुभयो ।

‘बाबु कुरा किन घुमाउने र ? तिमीले बिहे गर भन्न खोजेको पो त ।’ म झसंग भएँ । आङ सिरिङ्ग भएर आयो । बिहे गर्ने उमेर भयो त मेरोे ? बाइस  वर्षमै के बिहे गर्नु ? दाह्री मुसार्दै मुसारे । आफैलाई परीक्षण गर्न मन लाग्यो । के म परिपक्व भैसकें त ? मनमा कुरा खेल्न थाल्यो ।
‘मैले केटी खोजिसकेकी छु ।’

‘हँ… !’ मेरो होश उड्यो ।
‘ठट्टा नगर्नुस् आमा’ भन्ने मन थियो तर बोलिन् ।

‘बाबु तिम्रो बिहे गर्नेबेला पनि त भएको छ । तिमीसँग सँगै पढेकी सविनालाई मैले पनि मन पराएकी छु । उनैसँग तिम्रो बिहेको कुरा चलाउनुपर्यो । दशैंतिर बिहे गर्नुपर्ला ।’ मलाई के बोलुँबोलुँ जस्तो लाग्यो ।

‘आमा सविना र म साथी मात्र हौं । बिहे त के एकले अर्कोलाई मन पराएको कुरा पनि भएको छैन हामीमा । सुखदुखमा साथ दिने साथी बनेका छौं हामी ।’ आमालाई जवाफ दिएँँ । आमा मेरो भनाइ मान्न तयार हुनुभएन ।

‘सुखदुखमा साथ दिने साथी नै जीवनसाथी हुनसक्छ बाबु । तिमीहरू दुवैको आँखामा एक अर्काको लागि प्यार देखिरहेकी छु । फेरि सविना पढेलेखेकी शुशील पनि छे । ऊसँग हाम्रो संस्कार, सम्बन्ध, पारिवारिक अवस्था सबै मिल्छ बाबु ।’ आमाले थप्दै हुनुहुन्थ्यो ।
‘पछि सोचौंला’  छोटो उत्तर दिए ।

‘कोठामा गएर आराम गर्नुहोस् ।’ आमा कोठाबाट जानुभयो तर म आमाको भनाइबाट बाहिर जान सकिन । सविनालाई भित्र भित्रै मैले पनि मन पराइसकेको थिएँ । उनको चित्त दुख्ला भनेर भन्न सकिरहेको थिइन ।

 दिदी बहिनीकी जेठी सविनालाई पारिवारिक जिम्मेवारी अलि बढी नै थियो ।

‘शंकर दाइ, अर्को जन्ममा म छोरा भएर जन्मिन चाहन्छु ।’ बाबुआमाको खुसी छोरामा देखेकी सविनाले पटकपटक भन्ने गर्थिन् । गाँउलेले बुबाआमालाई खिन्न बनाएका घटना सुनाउँथिन् उनी ।

 ‘शंकर दाइ, बिरामी हुनभयो कि ? आज कलेज नै शून्य लागिरहेको छ ।’ कलेज जान नसकेको दिन फोन गर्थिन ।

सविनाले दिएका उपहारहरूले टेबुलबाट मलाई नै चिहाइरहेका थिए । सबै उपहारमा सविनाको माया लुकेको थियो । उनको मनमा पनि अदृश्य मायाको अङ्कुर भएको महसुस भएको थियो मलाई । आमाले भनेको कुरा ठिकै लाग्यो । सविनासँगको सफल दाम्पत्य जीवनको कल्पना डुबें । बुबाआमा नास्ताका लागि पर्खिरहनु भएको थियो ।
‘ शंकर दाइ, फोन उठाउन किन ढिलो गर्नुभएको ?’ एका बिहानै फोनबाट भनेकी थिइन् सविनाले ।

‘हिजो अस्ति मलाई सम्झिनौ त ?’ आज अलि ठट्टा गर्ने मुडमा थिएँ म । मेरो प्रश्न खस्न नपाउँदै भनिन्
‘मनले त सम्झिरहेकी छु नि ।’

‘म तिमीलाई भेट्न चाहन्छु सविना ।’

‘मैले हजुरलाई भेट्नका लागि त फोन गरेको आज । तपाइँलाई अप्ठेरो लाग्दैन भने सपरिवार खाना खान आउनुहोस् है ।’
‘किन सविना ? ’
‘सरप्राइजिङ ! सबै कुरा भेटेर बताउँछु नाई भन्न पाउनुहुन्न नि ।’
‘ठिक छ , जस्तोसुकै सर्त लगाए पनि मान्न तयार छु ।’ फोन राखिन् सविनाले ।

मनमा कौतुहलता झनै बढ्यो । मुख धोएँ । भान्सामा छिरें । चियाको तयारी भैरहेको रहेछ । आमालाई सविनाले खानाका लागि बोलाएको खबर गरें । आमा झनै खुसी हुनुभयो ।

‘साइत जुरेजस्तो छ । कुरा मिल्न पनि सक्छ ।’ आमा रमाउँदैं बुबालाई खबर गर्न जानुभयो । चिया पिएर तयार हुन कोठामा छिरें । कपडा ओल्टाइपल्टाई हेरेें । सबै कपडा फिक्का लागे । सविनाले ‘यो कपडामा कस्तो हेन्डसम देखिनुहुन्छ शंकर दाइ’ भनेको सम्झिए । सविनालाई नै मन पर्ने कपडा लगाएर बाहिर निस्कें ।

बुबा दौरा, सुरवाल, टोपी र लौरोमा सजिएर आमासँगै आउनुभयो । हामी सविनाको घरमा बिहेको कुरा चलाउनका लागि हिड्यौं । सविनाका परिवार बाटो हेरेर पर्खिरहेका थिए । नमस्तेको आदान प्रदानबाट कुराकानी सुरु भयो । सविना रातो र पहेंलो  कुर्ता सुरवालमा सजिएकी थिइन् । पहिले पहिलेभन्दा निकै सुन्दर देखिएकी थिइन् उनी । हातमा विभिन्न सामग्रीले भरिएको थाली लिएर आइन् । राता अक्षता र फूलहरूले सजिसजाउ थियो  । मुखामुख गर्दै मलाई हेर्दै हुनुहुन्थ्यो मेरा बुवाआमा । म अलमलमा थिएँ । मेरो सल्लाहविना उनी अगाडि बढिरहेकी थिइन् । केही बोल्न खोज्दै थिइन् उनी, गला अवरुद्ध भएर आयो । अचानक मेरै हातमा पर्ने गरी लडिन् । अर्धबेहोसीमा थियो उनको अवस्था । केही भन्न खोज्दै हुनुहुन्थ्यो बुवा । अकस्मात्को घट्नाले रोकिनुभयो । सविनालाई नजिकैको बिस्तरामा पुर्याए । हातमा एक रंगिन धागो थियो । म उनको छेवैमा बसें । बिस्तारै होश खुल्दै थियो । बुबाआमा, दिदी बहिनी निकै छट्पटाएका थिए । मेरो हातले उनको कपाल मुसारिरहेको थियो । माया भरिएर आयो ।

‘के भयो बुबा सविनालाई ? यो रातो अक्षता, धागो यो फूल किन ?’

‘बाबु आज रक्षा बन्धनको दिन…. ।’ सविनाका बुबाको गला अवरुद्ध भयो । सविना बिस्तारै उठ्न खोजिरहेकी थिइन् । म उनलाई उठ्न सहयोग गरिरहेको थिएँ ।
‘शंकर दाइ…,’ रोकिइन् उनी ।

‘पल्लो घरका काकाले हिजो माइती नभएका टुहुरा भनेर निकै भने हामीलाई….. ।’
‘सविना कुरा के हो ? खुलेर भन ।’
मैले उनलाई भन्न आग्रह गरें ।

‘शंकर दाइ आज रक्षाबन्धनको दिन । मलाई हातमा राखी बाँध्न दिनुहुन्छ ?’ मेरो हात मुसार्दै भनिन् ।
‘मेरो आफ्नै दाइ बन्न सक्नुहुन्छ ? यो समाजले दाजुभाइ नहुनेलाई हेय दृष्टिले हेर्दोरहेछ । देखाउनकै लागि पनि हामीलाई दाजुभाइको आवश्यक छ । म यो समाजमा राम्रो मान्छे बनेर देखाउन चाहन्छु । तपाईको सहयोगको खाँचो छ । ममा क्षमता छ । साहस र धैर्य गर्ने आँट छ । पुरुषहरूले गर्न सक्ने हरेक कार्य गर्ने जोश र जाँगर छ । तर बुवाआमाको चित्त बुझाउन पनि दाजुभाइको आवश्यकता छ ।’ उनी अनेक कुराहरू भन्दै थिइन् ।

म नाजवाफ भै बुबाआमाको मुखतिर हेरें । बुवा सविनाको आँट र साहस देखेर मुस्कुराइरहनु भएको थियो । सविनाका बुवाआमा र बैनीहरू एकटकले मलाई हेरिरहेका थिए, ठूलो भरोसा गरेर ।

‘जा छोरा राखी बाँध । ’ बुवाको आग्रह थियो ।
‘जा बाबु जा, हामीलाई पनि छोरीको रहर छ ।’ आमाको समर्थन थियो ।

सविनाको अगाडि हात बढाएँ  ।
‘मेरो हातमा सबै बैनीहरूले राखी बाँध्न सक्छौ । अबदेखि कुनै तिहारमा तिमीहरू र म खाली बस्नुपर्ने छैन । हरेक रक्षाबन्धन रमाइलो हुनेछ ।’ मैले सबै बैनीहरूलाई टिका लगाइदिएँ । सविनाका बुबा आमाको हर्षले अश्रुधारा बगिरहेका थिए । सविना र उनका बैनीहरूले मलाई मायालु आँखाले हेरिरहेका थिए ।

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.