~भुवन निस्तेज~
आफ्नै छायाँ साढेसात भा’छ उसका लागि
ऐना भित्रैबाट घात भा’छ उसका लागि
मध्यान्ह नै मध्यरात भा’छ उसका लागि
आशामा तुषारापात भा’छ उसका लागि
नत खाए चित्त बुझ्ने नत छोड्न मिल्ने
जिन्दगानी बासी भात भा’छ उसका लागि
हरेक चोट एउटा नयाँ दर्शन दिई गा’छ
चोट आफैं ‘सुकरात’ भा’छ उसका लागि
झिलिमिली तारा हेर्दै अँध्यारो मै बस्नु
मौलिक हक जन्मजात भा’छ उसका लागि ।
10 पुस 2067
विशालनगर, धनगढ़ी,कैलाली
(स्रोत : साहित्य सभा)