संस्मरण : पिकीओतोको

~मनुजबाबु मिश्र~

पश्चिमी तटवर्ती महानगरको कार्यक्रम सकेर ‘मुनिराज’ सोझै आफ्नो भाइकहाँ आएर बसेको थियो । कामबाट छुट्टी लिएर भाइ चाहिँले दाजुलाई केही दिन त महानगरीका केही दर्शनीय स्थान, कला सङ्ग्रहालय आदि घुमाइदिएका थिए तर के गर्नु हेरेर नसकिने, घुमेर नसकिने, यो विशाल र विकसित देश, भाइ चाहिँले सधैँ घुमाइरहनु सम्भव थिएन । एक्लै घुम्न निस्कनु झन् असम्भव थियो । त्यसैले त्यतातिर घुम्न जाने मुनिराजजस्ता धेरै विदेशीले अधिकांश समय कोठामा नै झोक्राएर अथवा झ्याल बाहिरको दृश्य केलाएर बिताउनै पर्ने बाध्यता रहन्थ्यो ।

मुनिराजको समस्या पनि त्यस्तै थियो । अपरिचितै अपरिचित कोसँग बोलोस् ऊ बाहिर निस्किहाले पनि । मान्छे त छन् तर कसैलाई कसैसँग बोल्ने फुर्सद छैन । भाषाबिनाको सहर । ठिकै थियो होला तेह्रौँ शताब्दीका इटालियन विद्वान् ‘टम्स एकिनास’ले मानिस सामाजिक पशु हो, भनेको । त्यतिबेला मानिस समाजमा नै रहन्थ्यो होला तर अहिले Û तर अहिले त मानिस समाजविहीन पशु हुन आएको छ । उसको समाजै छैन भने कोसँग बोलोस् ऊ । आˆनो देशमा त ए मुनि के छ तेरो हाल भन्दै सधैँ दुई चार जना साथी आउने जाने गरिरहन्थे तर यहाँ Û यहाँ कसैको कोही साथी देखिएन ।

कोठाभित्र मात्र कति बसोस् । त्यसैले झ्याल बाहिरको दृश्यमा आँखा तन्काएर हेर्ने गर्दथ्यो । बाहिर पनि के हेर्नु आँखै अगाडि गगनचुम्बी घरहरूको घना बस्ती । आकाश छुने घर र घरमाथि ग्राफिक डिजाइन जस्तो लाग्ने साँगुरो क्षितिज रेखा घरपारि पनि घरै घरका चुच्चे बुच्चे मस्तुलहरू । असीमित र अनन्तपारिको हिमालदेखि वारिको मैदानसम्म पुगेर बिलाएको आधा विश्वकै टोपी जस्तो लाग्ने नेपालको आकाश हेर्न अभ्यस्त मुनिराजका आँखा के हेरोस्, यहाँको सहरको शङ्कुचित आकाश Û धर्तीतिर हेर्‍यो मान्छे नै नदेखिने । देखिए पनि सुरुसुरु हिँडी मात्र रहने-वरिपरिका दुःख-सुख, घटना-दुर्घटनाप्रतिका प्रतिक्रियाविहीन रोबोटजस्ता । द्रुत गतिमा दौडिरहेका मोटरहरू पनि देखिन्थे । मोटरभित्र पक्का पनि मान्छे होलान् भन्ने मुनिराजको कल्पना मात्र थियो । मान्छे नहुन पनि त सक्छ नि । हाँक्नेहरूलाई सामान्य तय देख्नै सकिँदैन । यो विश्वलाई कसले हाँकेको छ । ऊ स्वयंलाई हाँक्ने को हो, मुनिराजले देख्न सकेको थिएन । मान्छेविनाका कति हवाइजहाजले ठू्ल्ठूला काम फत्ते गरेर आएको कुरा उसले धेरै पटक सुनेको थियो । विश्वको सर्वशक्तिमान देश-के आश्चर्य र यहाँ त मान्छेलाई ठेलेर मेसिन विकासको अग्रदूत भइसकेको छ । पार्कको उत्तर अन्त्यको एउटा घर-पाँचौँ तलाको तीन-चारवटा कोठाहरू मात्र थिए- मुनिराजको आˆनो भन्नु । हरेक बिहानदेखि हरेक बेलुकासम्म, सधैँ कति हेर्नु पट्यार लागुञ्जेल झ्याल बाहिरको एउटै दृश्य । सबेरै भाइ बुहारी दौडिहाल्थे काममा । सानो भतिजो पनि स्कुल गइसकेको हुन्थ्यो । एक्लै पैदल घुम्न सकिने सभ्यता थिएन त्यो सहरमा । झ्याल बाहिर पार्कको पल्लो छेउमा एउटा मानवाकृतिमाथि उसको आँखा झल्याकझुलुक पर्ने गरेको थियो तर त्यसप्रति उसको ध्यान आकृष्ट हुन सकेको थिएन । त्यो दिन भने हातमा एउटा सूचना पाटी बोकेर लर्‍याङतर्‍याङ गरिरहेको आकृतिमाथि उसको आँखा टक्क रोकिन पुग्यो । यन्त्र-मान्छे पो हो कि भनेर उसले आँखा गाडेर हेर्‍यो तर त्यो आकृतिको लिङ्गसम्म पनि उसले छुट्याउन सकेन ।

शरीरको अनुपातमा त्यो आकृतिको टाउको, केराउ बारीमा ठड्याइएको हाँडिटाउके ख्याकको जस्तो ठूलो थियो । उसका वरिपरि पाँच-सातवटा सूचना बोर्डहरू देखिन्थे । मुनिराजको कौतुहल बढ्दै गयो । दुर्विन ल्याएर हेर्‍यो । एउटा बोर्डमा लेखिएको रहेछ ‘लिभ वाई द बब-डाई वाई द बब’ अथवा वम्व गोलासँगै बाँन्च-बब गोलानजिकै मर । अरू बोर्डहरूमा के के लेखिएका थिए । उसले पढ्न सकेन । दुर्विनबाट हेरेपछि त्यो आकृति यन्त्र मानवको नभएर खास मान्छेकै रहेछ भन्ने कुरा चाहिँ उसलाई पक्का भयो ।

को होला त्यो- के गर्दैछ त्यहाँ दिनरात ? पार्कमा कहिले सुनसान, कहिले वनभोजीको भीड, जुनसुकै अवस्थामा पनि ऊ त्यही ढोकाको छेउमा देखिन्थ्यो । ढोकापारि विश्वको सर्वशक्ति केन्द्र, सर्वसुरक्षित शक्ति पुरुषको कार्यालय एवं वासस्थान ‘हृवाइट हाउस’ श्वेत प्रासाद, आकाशको सूर्य जस्तै चम्किरहेको थियो । त्यसको उत्तरमा ‘लाफायते’ नामक पार्क तथा पेन्सिलभानिया एभेन्युतिर जोडिएको एउटा सडक तन्किएको थियो । त्यही पार्कको श्वेत प्रासादतिर जाने ठूलो ढोकाकै छेउमा घर जमिनै गरेझैँ बसेको थियो त्यो मान्छे । बिहान पनि त्यहीँ, बेलुका पनि त्यहीँ, मध्यरातमा पनि त्यहीँ, कार्यालयको सुरु र अन्त्यतिर ओइरिने कर्मचारीको भीडमा पनि त्यहीँ, श्वेत प्रासादका दर्शनार्थीको हुल पस्दा पनि त्यहीँ, कठ्याङ्गि्रने जाडोदेखि भक्भकाउँदो गर्मी र भीषण वषर्ामा पनि त्यहीँ, रातको सन्नाटामा उसैको छेउमा ठड्याइएको बोर्डमा अडेस लागेर २-३ घण्टा निद्राको झम्का लिने गर्दथ्यो त्यो मान्छे ।

कौतुलहलवश, आँट गरेर एक दिन मुनिराज त्यो लाफायते पार्कको ढोकैतिर पुग्यो । उसलाई त्यो अद्भूत मान्छेको नजिक जान डर लाग्यो । उसका वरिपरि ठड्याइएका साइनबोर्डका अक्षर पढ्दै र सामग्रीहरू हेर्दै ऊ अगाडि बढ्यो । सभ्य मानिसको असभ्य आचरण! शान्ति-स्वतन्त्रता र न्यायको अवशान! मुकुण्डोधारीको हो- मानववादको वकालत बन्द गर! अणु अस्त्रधारी हत्याराको विरोध गर! गरिबी हटाउ! आदि अक्षरहरू लेखिएका बब-मिसाइलका चित्रहरू समेतका अठारवटा ठूलाठूला बोर्डहरू ठड्याइएका रहेछन् उसका वरिपरि । हिजोआज श्वेत-प्रासादको त्यो भेकमा स-साना दुईवटासम्म विरोध वाक्य लेखिएका बोर्डको प्रदर्शन गर्न पाइन्छ तर त्यहाँ भने १० फिट अग्ला बोर्डहरू थिए । नजिकै विभिन्न आकारका ढुङ्गाहरू पनि थुपारिएको रहेछ । ती ढुङ्गाहरूमा पनि अणु अस्त्र-अन्याय-अत्याचार विरोधी वाक्यहरू लेखिएको देख्यो मुनिराजले । आजभोलि उसका साथी बोल्नेमा एक जना विलियम टम्स नामक मान्छे र नबोल्नेमा वरिपरिका केही लोखर्केहरू रहेछन् ।

विस्तारसँग अगाडि बढ्दै ऊ, नजिकैको एक जना ‘हार्डी, नामक व्यक्तिको चमेनागृहमा पस्यो । कफीको चुस्की लिँदै मुनिराजले त्यो मान्छेको बारेमा जिज्ञासा देखाउन लाग्यो । सानो साँगुरो त्यो हार्डीको चमेनागृहले त्यो मान्छेलाई बरोबर चिया चमेना दिने, हार्डीले आˆनै निजी स्नानगृहको प्रयोग गर्न दिनेजस्ता सहयोग गर्ने गरेको रहेछ । त्यो मान्छेको बारेमा जिज्ञासा राखेको देख्दा हार्डीलाई निकै खुसी लाग्यो । बडो उत्साहपूर्वक उसले एउटा दराजबाट केही समाचारपत्रका टुक्रा र खत्र्याकखुत्रुक झिकेर टेबलमा राख्दै भन्न लाग्यो ।

हेर्नोस् ती केटी एक कुशल चित्रकार हुन् । स्पेनको म्याडि्रट आर्टस् कलेजको स्नातक । उनीभित्र आगो थियो । उनले आˆनो चित्रमा ओइर्‍याएको आगोले कसैलाई पोल्न सकेन । अनि उनले आगो बनेर ‘परफरमेन्स-वडी आर्ट’द्वारा विश्वमा बढ्दै गइरहेको अमानवीय प्रवृत्तिको विरोधमा आˆनो शरीरै समर्पित गरेर प्रदर्शन गर्न लागिन् । स्पेनमा नै उनी सर्वपरिचित भइसकेकी रहिछन् । विश्वको सर्वशक्तिमान भनिएको देश अमेरिकामा नै आएर उनले अन्तर विद्रोहको प्रदर्शन गर्ने निर्णय लिएर भण्डै तीस वर्ष अगाडि उनी यहाँ आइन् । हेर्नोस्, यो १९८८ को डिसेम्बर ४ मा स्पेनको ‘तोलेडो म्यागाजिन’मा वासिङ्टन डीसीमा नै बस्ने एक जना पत्रकार जोसेफ तान्वरले दिएको उनको बारेको वर्णन । यसअनुसार पश्चिम स्पेनमा जन्मिएकी ती केटीको नाम कन्सेप्सीओ पिकीओतो हो । धेरैले उनलाई ‘कोनी’, अथवा ‘पिकी’ भनेर बोलउँछन् ।

“ए Û ती केटी पो हुन् ? म त केटो भन्ठानेको । कस्तो अस्वाभाविक टाउको-सिन्का जस्तो शरीरमा त्यति ठूलो टाउको ।”

पाँच फिट जति अल्गी, दुब्ली, पातली, तीक्ष्ण दृष्टि र चञ्चल स्वभाव भएकी ‘पिकी’ हेर्दा त्यति सुन्दरी थिइनन् तर पनि स्वभाव भने बडो खुलस्त-मृदुभाषि र सरल थियो । उनीभित्र पत्पताइरहेको घृणा र विद्रोहको भुङ्ग्रोलाई कोही अनुमान नै गर्न सक्दैनथ्यो । उनी मानववादी भावना र संवेदनशीलताले भरिएको नारी थिइन् । आधुनिक भनिएको सभ्य मानिसको असभ्य प्रवृत्तिले विकृत बनाउँदै ल्याएको घृणित क्रियाकलापबाट उनी मर्माहत थिइन् । आज विश्वका सर्वशक्तिमान-सर्वविकसित सर्वसभ्य, शिष्ट र विशिष्ट भनिएका राष्ट्रले विपन्न राष्ट्र र गरिब जनताप्रति गर्दै आएको अन्याय, अत्यचार-जनसंहारजस्ता कुकृत्यले पिकीभित्रको विद्रोहको भुङ्ग्रोेलाई भर्भराउँदो आगोको लप्कामा परिणत गरिदिँदै थियो । बाल्यकालमा नै टुहुरो भएकी ‘पिकी’ अठार वर्षकै उमेरमा अमेरिका आइपुगेकी थिइन् विद्रोहको अन्तर आगो बोकेर तर मानव अधिकारवादी यो देशमा उनले अनेकौँ हण्डर र ठक्कर खानुपर्‍यो । २१ वर्षकै उमेरमा उनले यतैतिरको एउटा इटालियन व्यापारीसँग विवाह गरिन्-छोरी पाइन् तर दुई वर्ष पनि नपुग्दै उनीहरूको सम्बन्ध पारपाचुकेमा परिणत भयो ।

शृङ्खलाबद्ध हत्या र हिंसा झाङ्गिँदै गएर उनको अन्तरहृदय व्यथित विश्वकै प्रतीक बनिसकेको थियो । गरिब र पीडितको पक्षमा बलेको उनीभित्रको विद्रोहको चित्र एवं उनको आर्टलाई बुझिदिने कोही भएन । अतः उनी एक्लै अघि सरिन् आˆनै ‘वडी आर्ट’ द्वारा आक्रोश र विद्रोहको प्रदर्शन गर्न ।

उनले रोजेको ठाउँ थियो विश्वको सर्वशक्ति केन्द्र ‘हृवाइट हाउस’ -श्वेत प्रासाद) अथवा संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको कार्यस्थान र वासस्थान । यसैको उत्तरमा लाफायते र दक्षिणमा इलिप्से नाम गरेका पार्क रहेका छन् । यो श्वेत प्रासाद स्वयं प्रजातन्त्र र मानव अधिकारको आदर्श केन्द्र भएको हुँदा यसका वरिपरि कतै पनि भीडभाड, जुलुस, विरोध प्रदर्शनी, नाराबाजी गर्न, सुतेर रात बिताउन, ६ फिटभन्दा अग्लो सरकार विरोधी साइनबोर्ड लिएर हिँड्न आदि कार्य पूर्णरूपले निषेध गरिएको थियो । यही स्थानलाई पिकीले अन्तरविद्रोहको प्रदर्शन गर्ने उपयुक्त स्थान देखिन् । ‘इलिप्से पार्क’ को मूलढोकामा उनले १९८१ को अगस्ट महिनादेखि विरोध वाक्यले भरिएका साइनबोर्डहरूको प्रदर्शन गर्दै रातदिन धर्ना दिन थालिन् तर उनलाई त्यहाँका सुरक्षा गार्डले धेरै दिन बस्न दिएनन् । उनलाई कहिले लच्छारपच्छार पार्ने, कहिले टाउकामा डण्डाले हिर्काउने गर्दै ज्यादै दुःख दिन लागे । त्यताबाट उनी श्वेत प्रासादको उत्तरतिरको लाफायते पार्कको मूलढोकामा बसेर धर्ना दिन लागिन् र अझैसम्म त्यहीँ छन् । पुलिसको पिटाइबाट उनको टाउको घाउ नै घाउ र पाप्राले भरिइसकेको थियो । अतः यो पटकमा आफ्नो टाउकाको रक्षार्थ सबै कपाल गुटमुट्याएर एउटा हेल्मेट, त्यसमाथि कृत्रिम कपालको झाँक्रो, त्यसमाथि इस्लामी शैलीमा रुमालको घुम्टो बाँधेकी थिइन् उनले ।

(स्रोत : मधुपर्क २०६५ चैत)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.