कथा : सन्तवीर गाउँमा छैन

~गणेश रसिक~Ganesh Rasik
सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज – भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छोड्नु भयो त्यसै दिन सन्तवीरको हर्ष, खुसी र आनन्दहरू उहाँले आफ्नो सुटकेसमा बन्द गरेर जानु भयो ।

आजभोलि गाउँमा एक्लो छ सन्तवीर ।

हुन त आमा – बा छन् सन्तवीरका । आठजना दाजुभाइ, दिदीबहिनीको हकवाला पनि हो  सन्तवीर । तर ती सबैलाई उसको आत्माले आफ्नो ठान्दैन । आत्माले आफ्नो नठानेपछि आफ्नाहरू पनि पराईजस्तै । बरू रगतको वा फरियाको कुनै नाता छैन सारजन्नी भाउजूसँग । तर लाग्छ उसको जन्म भने केवल सारजन्नी भाउजूकै निम्ति हो ।

सारजन्नी भाउजूले गाउँ छोड्नु भएदेखि मानसिक रूपमा विक्षिप्त सन्तवीर कति दिन बिना भातपानी केवल रक्सीले मातेर बारीका कान्ला, खेतका आलीहरूलाई सिरानी हालेर निदायो , बतासिएको पुतली भएर जङ्गल,पाखा,पर्वत र नागीहरू चहा¥यो । कहिले खोलाका किनारैकिनार दौडदै घाँगीमा हामफाल्यो । जियाद्रो रहेछ मरेन, आधापिल्टो भयो । सन्तवीरको यस्तो दुर्दशा देखेर गाउँका रूढिवादी थाङ्नाहरू उल्टै कुरा काट्छन् – “सारजन्नीले पल्टन जाने बेलामा पनि सन्तवीरको मोहनी फुकाइ दिएनछे क्यारे !”

सारजन्नी भाउजूको बान्की परेको शरीर, हिस्सी परेको अनुहार देखेर या मोहनी बोली सुनेर कसै पनि उमेरको अन्दाज गर्न कठिन छ अनि झट्ट हेर्दा तिनजना छोराछोरीकी आमा भनेर पत्याउन पनि गा¥है पर्छ । जो कोहीसँग पनि एकपटक भेटेर दोहोरो कुरा गरिसकेपछि ढुङ्गाको मन भएका मान्छेको पनि पग्लिनै पर्ने हुन्छ र चित्तआकर्षक भाउजूको बानी बेहोरा देखेर सधैँ भेटिरहुँ भन्ने चाहना पनि मनले गर्छ । यस्ती सारजन्नी भाउजू अभावैअभाव गरिबी र थोत्रा लुगाहरूमा जन्मेर हुर्किएको निरीह सन्तवीरका लागि भाग्योदय चिठ्ठा भइन् । खालीखुट्टे सन्तवीरले सार्जने पल्टनबाट ल्याएको डीएम बुट पायो । उनी स्विटर कम्व्याक्ट ड्रेस, डाङ्ग्री पायो । जाडोमा लगाउने ओभरकोट र छत्रे टोपी पायो । लुम्रे, झुप्रे सिकुटे सन्तवीरले सारजान्नी खान्कीको पोस लागेर भालुवासको तामाजस्तै हलक्कै हलक्कियो । सार्जनको जडाउरी लगाएर सारजन्नीसँग ठाँटिएर हिँड्दा ऊ सन्तवीरभन्दा सार्जनको ‘डुब्लिकेट’ जस्तो देखिन्थ्यो । दुवैको यस्तो चाला देखेर चिन्नेहरू जिब्रो फड्काउँदै कुरा काट्थे  – ‘यो सन्ते र सारजन्नी मिलेर सोझा सार्जनलाई उठिबास लगाउने भए ।’

सारजन्नी भाउजूका सासु – ससुरा पितृ भएको माङकोठामा पसिसके । नन्द – आमाजू पराईका चुल्हामा पसिसके । लोग्ने पल्टनमा । आफू एक्लै छोराछोरी सम्हालेर खेतबारी गर्दै पहाडको घर गरिखानु कति अप्ठ्यारो छ भन्ने भोग्नेहरूलाई मात्रा थाहा हुन्छ । कतै घर छाडेर एकदिनका लागि बाहिर जानु परे, मूलढोकामा ताल्चा लाग्छ, सँुगुर, कुखुरा थुन्न – खोल्न, गाईवस्तुलाई घस्याउटा, भकारो सोहोर्नु खेताला खोज्नुपर्छ । यस्तै दिनचर्यामाझ चाहना, आवेग, भावना र आत्मीयताले डो¥याउँदै सन्तवीरलाई सारजन्नी भाउजूको घर आँगनमा पु¥यायो । उदार भावना, खुल्ला स्वभाव र विशाल हृदयकी सारजन्नी भाउजूको माया र ममता छहारीमा सन्तवीरले आफ्नो जन्मघरलाई बिर्सन कर लाग्यो । आमाबाबुको मायालाई दागबत्ती दियो । अब आफ्नो घरमा बाँचेको अभाव, गरिबी, दुःख, पीडाका सीमाहीन क्षणहरूलाई फर्केर पनि हेर्न चाहँदैन । ती क्षणहरूलाई सम्झेर ऊ अति भावुक हुन्छ तर त्यत्रा अजङ्गका दुःखका टेम्के पहाडहरू बोकेर जीवनका सप्तकोशीहरू उसको नाङ्गो शरीर तर्न सक्दैन । नियतिले डो¥याएर उसलाई जहाँ ल्याएर थन्काएको छ, त्यहीँ नै जीवनको सत्य हो भनेर चित्त बुझाउँदछ – सन्तवीर

सन्तवीरलाई थाहा छ, यस घरमा सारजन्नी भाउजू हुनुहुन्न । तर जब – जब यस घरभित्र ऊ पस्छ, तब – तब उसलाई एक्लो भएको महसुस कहिल्यै हुँदैन । यहाँका प्रत्येक कोठा, राखनधरान, ठाउँ जिनिसहरू माझ सारजन्नी भाउजूको उपस्थितिको आभास हुन्छ । छुट्टिने समयको सारजन्नी भाउजूको बोली सन्तवीरको कानमा टेपरेकर्ड भएर गुन्जिरहन्छ  – ‘म गए पनि चिन्ता नगर्नु सन्ते भाइ ! बरू मन परेकी केटी छानिराख्नु, अर्को साल आउँदा तिम्रो विवाह गरिदिन्छु । सायद अब हामी गाउँ होइन काठमाडौँ बस्छौँ होला । छोराछोरी हुर्किए, पढाउनु छ , यो घर तिमीले सम्हाल्नुपर्छ – मेरो देवर भएर ।’

सारजन्नी भाउजूको कुरा सुनेर एकक्षण आवाक् भयो – सन्तवीर । उसको बन्द दिमागको ढोकाबाट बल्ल अलिकति उज्यालो पस्यो –  सारजन्नी भाउजूको मायामा ऊ आफु यति साह्रो पात्तिएछ –  उसले यो बैँसमा पनि अरू केटीतिर आँखा लगाउने र मैले पनि विवाह गर्नुपर्छ भन्ने सोच्ने फुर्सदै पाएनछ । आफ्नो विवाह गरिदिने सुनेर तन्नेरी सन्तवीर खुसीभन्दा बढी खिन्न भयो । कहाँ सारजन्नी भाउजूको माया, जसको निम्ति ऊ आजीवन विवाह नगरी बस्न राजी छ । एउटालाई दिइसकेको माया फेरि अर्कोलाई कसरी दिन सकिन्छ ? सम्झिँदा विरक्तिएर आउँछ सन्तवीरको मन ।

‘मलाई बिदा दिनोस भाउजू, यस घरमा तपार्इँ गइसकेपछि को छ  र मेरो ….।’ –  सन्तवीरले सारजन्नी भाउजूसँग आफ्नो बहको तितो पोख्न चाह्यो ।

तर सारजन्नी भाउजूको आँखाको कटाक्ष सम्मोहनयुक्त सियो र धागोले टम्म सिलाइसकेको छ, निरीह सन्तवीरको ओठ । ऊ बोल्न सक्दैन । कुनै आदेश वा इसारा आयो भने पनि ऊ त्यसलाई नाघेर जानसक्दैन । बरू सारजन्नी भाउजूप्रति ऊ यति नतमस्तक, इमान्दर, अनुशासित र समर्पित छ । सन्तवीर ! तिमी मर्न जाऊ भन्यो भने पनि ऊ तत्कालै खुकुरीले सेरिन तयार हुन्छ ।

गाउँमा पल्टनबाट बिदा आउने र बिदा सकेर पल्टन फर्कने क्रम यथावत् छ । यही बिचमा पल्टनबाट बिदामा आए जम्।दारका लाहुरे छोरा – बुहारी । सन्तवीरलाई खबर आयो — उसको नाममा सारजन्नी भाउजूले केही खर्च र पार्सल पठाउनु भएको छ ।

सन्तवीर जमदारको घर पुग्दा, सिकुवामा जमदारबा, लाहुरे छोरा र छिमेकीहरू साथ मग्नमस्त थिए गफमा अरूबेला भन्दा छुट्टीमा आएको लाहुरेको घरमा तमकझमक नै बेग्लै हुन्छ । त्यही खुसीको रमझमा मिसिन पुग्यो सन्तवीर ।

जमदारकी बुहारी हातमा पार्सल र नगद लिएर निस्किन् । गोरो धपक्क बलेको अनुहारमा सुलुत्त परेको चम्किलो दुई आँखाले सन्तवीरलाई हेर्दा झन्डै बेहोस भयो ।

‘सन्ते भाइ, तिमी त तिनबर्षमा  कति लाठे भएछौ’ – जमदारकी बुहारी यति राम्री थिइन् भनेर पहिले केटाकेटी उमेर भएकाले यादै गरेको रहेनछ । झन आफू लाठे भएको बेहोरा जमदारकी बुहारीको मुखबाट  सुन्न पाउँदा सन्तवीर दङदास प¥यो, र सारजन्नी  भाउजूले छोडेर गएदेखि हराएको उसको अनुहारको चहक बल्ल आजै मात्र देखाप¥यो ।

 जब सन्तवीर पार्सल र नगद बोकेर घरको बाटो फि¥यो । बाटोभरि उसका आँखामा सारजन्नी भाउजूको ठाँउमा जमदारकी बुहारी उभिएकी थिइन् । सारजन्नी भाउज्यूसँग छुटेपछि, नितान्त एक्लो, दुःखी र असहाय  भएको सन्तवीरले जमदारकी बुहारीसँग भेटेपछि केही पाएजस्तो भयो । पार्सल नगद हातमा थाप्दा उनले  केके समाचार भनिन् सन्तवीरले राम्रै सुनको हो तर कुनै हेक्का राख्न सकेन । भावशून्य भएर जमदारकी बुहारी हेरेर टोलाइरह्यो – सन्तवीर । सायद एकोहोरो प्रेममा सीमा नाघेपछि सबै प्रेमीहरू सन्तवीर हुन्छन् ।

जमदारको लाहुरे छोरो, आफ्नी श्रीमती, छोराछोरीलाई आमा – बाबुको साथमा छोडेर पल्टन  फर्कियो ।

सन्तवीर, जमादारको घरदलान कुनै न कुनै बहानाले दिनको एकपटक नटेकी  सक्दैन । त्यस घर र त्यसघरको बुहारीको अदृश्य सम्मोहनले सन्तवीरलाई जबरजस्ती घोक्राएर ल्याउँछ । नआउन्जेल त्यस घरका लागि नौलो र पराई सन्तवीर, आउन थालेपछि मायामोहले नजिक र सहयोगी हुनथाल्यो । खेतबारी, मेलापात, दाउरा, घाँस, सघाउपघाउ बलको काम गर्न फुर्तिलो र छरितो सन्तवीरले जमदार,जमदारिनीको मात्र होइन उनीहरूकी बुहारीको मन जित्न पनि सफल भयो ।

साँझपख, धेरै दिनदेखि बज्न छोडेको सन्तवीरको जोरमुरली फेरि सुनिन थाल्यो । पात झरेर सिक्रिएका बैँसका हाँगाहरूमा नयाँ जोस र जाँगरले नयाँ पालुवाहरू पाउलिए । उसको अनुहार नै फेरिएर घामझैँ तेजिलो भयो । सन्तवीरमा आएको यो परिवर्तन देखेर गाउँकै आहारिसे डाढेहरूले कुरा काट्न थालिहाले  – ‘सारजन्नी भाउजूले सन्तवीरलाई लगाएको मोहनी जमदारकी बुहारीले उल्टाइदिएजस्तो छ ।’

सन्तवीरले यो हल्ला सुन्दा पहिलो पल्ट झस्कियो । उसले त थाहा नपाई सारजन्नी भाउजूको ठाँउमा जमदारकी बुहारीलाई एकोहोरो प्रेम गर्न थालिसकेछ । ऊभित्रको यो पापको सुइँको सारजन्नी भाउजूले पाइन् भने मेरो के गति होला ? र, मप्रति के सोच्लिन् ? सन्तवीर सारजन्नी भाउजूको टिठलाग्दो अनुहार सम्झेर द्रवित हुन्छ र कताकता कुबाटो पो लाग्दैछु भन्ने मनभित्र आशङ्का र डर उब्जिन्छ । तर गरोस् के, कहाँ को कहाँ समुद्रपारी छ सारजन्नी भाउजूको माया । आफू यहीँ एक्लै, बैँस छ उमेर छ, इच्छा र चाहना छ, उसलाई पनि हाँसखेल, ठट्टा गर्न मन लाग्छ । मायाको भारी चौतारी खोजेर बिसाउने चाहना हुन्छ । यही चाहनाको साकार रूप जमदारकी बुहारी उसको जीवनमा आइन् भने पनि सन्तवीरले सारजन्नी भाउजूलाई चटक्कै माया मार्न भने सक्दैन कहिल्यै पनि ।

पानधारेमा पन्ध्र – पन्ध्र दिनमा हाट लाग्छ, वरिपरि छिमेकी गाउँलेहरूलाई चाहिने किनमेल गर्ने बजार यही हो । हटारूको हूलमा सन्तवीर पनि मिसिएर केही नून र अन्य खिच्रिकमिच्रिक सामान बेसाउन एकबिहानै पानधारेको बाटो लाग्यो । हूलमा जमदारकी बुहारी, निर्मली, दखले, मैना र शिवराम पनि थिए ।

पूर्वको डाँडामा झुल्के घामले पखेटा फिजाउँदा चखेवा भञ्ज्याङ्गमा  बिसाउन पुगेका हटारूहरूले थुम्से र झोलामा बोकेका कठुवा र खोयाबिर्केका चुस्की लगाए । फिलिङ्गो र मेसुको अमिलो अचार अकबरे खोर्सानीको पिरोमा जिब्रो फड्कारे । सन्तवीरले पनि जमदारकी बुहारीसँग  बसेर कठुवामा ठाडो घाँटी लगायो । क्षणमा नै रसिलो आँखा पारेर जमदारकी बुहारीलाई हे¥यो  – “भाउजू नरिसाउनु होला, तपाईलाई जति म हेर्छू उति सारजन्नी भाउजू जस्तै लाग्छ । कठै ! यतिबेला के गर्दै होलिन् । हामी पानधारे जाँदा यसरी नै यहाँ बस्थ्याँै, यसरी नै खान्थ्यौँ ।”

जमदारकी बुहारीले सन्तवीरको कुरा भूइँमा खस्न नदिई टपक्कै टिपिन् – ‘तिमीले सारजन्नी भाउजू देखिन्जेल त ठिकै छ तर सार्जनले देख्न थाले भने त तिम्रो दाइले पल्टनबाट आएर डाँडा कटाउँछ त भाइ मलाई……।’

जमदारकी बुहारीको कुरा सुनेर सबै गल्ल हाँसे । सन्तवीर भने दङ्गदास प¥यो । मनमनै सोच्यो, मौकामा चौका दाउमा  च्याखे थापियो बल्झिन्छ क्यारे ।

 बिहानको सिरसिरे हावाले पसिना ओभायो, थकाइ मेटियो । सबै आ – आफ्नो झोलातुम्बी बोकेर बाटो लागे – पानधारे पुग्न अझै निकै छ ।

लमतन्न सुतेको पहाड, हरियो नागी, सर्पजस्तो नागबेली परेको बाटोमा  आफ्नो सुरमा फटाफट हिँडिरहेका हटारूहरू, सन्तवीर सारजन्नी भाउजूसँग यसरी नै हिँडेका बिगत सम्झेर त्यहीँभित्र हराउँदछ ः

आज पनि पहिलेजस्तै पानधारेको हाट भरेर घर फर्कँदा बाटोमा झमक्क साँझ प¥यो । मातेर कसैको खुट्टा ठेगानमा थिएनन् । सन्तवीरले अँध्यारोमा डो¥याउनु पर्ने थियो । सारजन्नी भाउजू र सन्तवीर पछाडि परे ।  सन्तवीर सोचिरहेको थियो ।  – ‘यो तालले कसरी घर पुग्नु होला ।’ सारजन्नी भाउजू हिँड्न नसकेर थचक्क भूँइमा बसिन् । समाएका हातहरू आगोको भुङ्ग्रोजस्तो तातो ! सारजन्नी भाउजूले तानेर अँगालो हालिन् र छातीमा टाँसेर उत्तानो परेर आफै लडिन् र बौलाही जस्ती बरबराउँदै चुम्न थालिन् सन्तवीरलाई । सन्तवीर त्यही समयदेखि नाबालकबाट एकैपटक तन्देरी भयो । समर्थवान् पुरुष भयो । र आफ्नो घर, आमाबा सबै त्यागेर सारजन्नी भाउजूकै रखवारी गर्ने अङ्गरक्षक भयो ।

आज पनि पानधारेबाट फर्कँदा जमदारकी बुहारीसँग त्यस्तै भइदियो भने के गर्ने ? – सन्तवीरको मन उत्तेजना र खुसीले खरायो भएर हरियो नागीमा बेतोडसँग दौडियो । हेर्दाहेर्दै माथि चप्लेटी ढुङ्गामा पुग्दा बाज बनेर निलो आकाशमा उड्यो ।

नभन्दै पानधारेबाट हाट भरेर घर फर्किँदा बाटोमा त्यस्तै साँझ त्यसरी नै प¥यो, हिँडेको बाटो त्यही छ । मौसम त्यही छ । झिसमिसे साँझको बतास र मनको चाहना त्यही छ । सन्तवीरलाई त्यस्तो लाग्छ आज विगतका प्रत्येक घटनाहरूमा पुनरावृत्ति भइरहेको छ, भिन्नता यति मात्र छ – सारजन्नी भाउजूको स्थानमा जमदारकी बुहारी छिन् ।

जति अँध्यारो हुन्छ त्यति हिँडाइले बाटो काटिन्छ, जति बाटो काटिन्छ त्यति अधैर्य हुन्छ सन्तवीरको मन । जमदारकी बुहारीप्रतिको उसको पाप मन,अनुराग र आसक्तिका घोडाहरू तबेलामा बाँधेर राख्न साह्रै गाह्रो  परेको छ उसलाई । कुर्कुरे बैँसमा सारजन्नी भाउजूले ‘भोटे कुकुरको छाउरालाई खोलेमा बानी पारिदिएको लतले’ सन्तवीरलाई हरेक पल्टनिया भाउजूहरूप्रति समान दृष्टिकोण राख्ने मनरोगी बनाइदिएको छ । त्यही मनोरोगका कारण देख्दा निरीह, सोझो, लठुवा र आज्ञाकारी लाग्ने सन्तवीर मौका पर्नासाथ जखमले देउते बोका हुन्छ । जमदारकी बुहारीप्रति उसको आँखा गाडिएको उसलाई देखेकै दिनदेखि हो । यति हो धरापमा पार्ने मौकाको खोजीमा छ सन्तवीर । आज त्यो अवसर आइलाग्दैछ उसलाई ।

उकालो ओरालो हिड्ने बानी छुटेको हुनाले पल्टनमा बसीबसी खाएर पोस लागेकी जमदारकी बुहारीलाई हिँड्न गा¥हो भयो । एकातिर मातेका खुट्टा अर्कोतिर अँध्यारोले तिरमिराएका आँखा । सधैँ बानी परेकाहरू फटाफट लड्दैपड्दै भए पनि बाटो लागे । पछि परे सन्तवीर र जमदारकी बुहारी ।

सन्तवीर आखिर साधु बिरालो न थियो । एकान्त पर्नासाथ डो¥याइरहेको जमदारकी बुहारीको हात तानेर छातीमा टाँस्यो र अनि जुरूक्कै बोकेर भुईँमा उत्तानो पारेर सुतायो ।

जसको भरोसामा हिँडिरहेकी बुहारी, उही डरलाग्दो चितुवा भएर आफूमाथि झम्टेको देखेर पहिले के भइरहेको छ सोच्नै सकिनन् । पछि पो होस खुल्यो र एक्कासि चिच्चाइन् । आफूलाई अभर पारेकोले बचाउन गुहार मागिन् ।

जमदारकी बुहारीको चिच्चाहट सुनेर हिँडिरहेकाहरू सबै फरक्क फर्किए । सुसेली पार्दै होहल्ला गर्दै घटनास्थलतिर सबै हाक्किए । निमेषभरमै सबै एक गोला परे ।

घटनास्थलमा जमदारकी बुहारी मात्रै एक्लै थिइन् । सन्तवीर अँध्यारोमा उफ्रिएको उपियाँझैँ बेपत्ता भयो । जमदारकी बुहारी रिसले दाह्रा किटदै थरथर काम्दै थिइन् । “यस पातकीले सबै स्वास्नी मान्छेहरूलाई सारजन्नी भाउजूझैँ ठान्छ कि कसो ? मान्छेको फेला नपरेको साला कुकुर ! किन भाग्छस् ए नामर्द । डाँका सन्ते…..! बाबुको छोरा होस् भने आइज…..।”

त्यस साँझदेखि सन्तवीर गाउँमा छैन ।

(२००४) 

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.