~प्रमोद प्रधान~
म फूललाई हेर्छु
र, फूलसँग जीवनलाई दाँज्छु;
मभित्र एउटा प्रश्न उम्रन्छ—
जीवन फूलजस्तो सुन्दर किन छैन ?
नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ
म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु;
तर, मभित्र एउटा विरोध बोल्छ—
जीवन नदीजस्तै प्रवाहमय किन छैन ?
मानिसका अनुहारमा अनेक पीडा बोलिरहेछ
जीवन पीडित अनुहार झैँ असहाय बाँचिरहेछ
हुन त जीवन उज्यालो दीपशिखा हुनुपर्ने हो;
म आफैसँग बहस गरिरहेछु—
जीवन दीपशिखा झैँ उज्यालो किन छैन ?
साँच्चै,
म आफैसँग प्रश्न गरिरहेछु—
जीवन फूलजस्तै सुन्दर किन छैन ?
जीवन नदीजस्तै प्रवाहमय किन छैन ?
जीवन दीपशिखाझैँ उज्यालो किन छैन ?
म आफैसँग बहस लडिरहेछु
जीवन यात्राजस्तै रोमाञ्चकारी किन छैन ?
जीवन सङ्गीतजस्तै सुरिलो किन छैन ?
जीवन कविताजस्तो किन हुँदैन ।