सन्सारको ‘स्वर्ग’ तिमी, पाऊँपाऊँ जस्ती ।
हिर्दयको ‘तीर्थ’ सधैँ, धाऊँधाऊँ जस्ती ।।
गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर ।
वैशाखको ‘काफल’ टिपी, खाऊँखाऊँ जस्ती ।।
एकान्तमा गुन्गुनाउँदै, कोल्टो परी बग्ने ।
‘निर्झर’मा नुहाउँन, जाऊँजाऊँ जस्ती ।।
तारे-माले जोतेपछि, फुर्सदको बेला ।
असारको ‘गीत’ रची, गाऊँगाऊँ जस्ती ।।
घामपानीमा ओत लाग्ने, सहारा र शोभा ।
सानो-सानो मेरो ‘घर,’ छाऊँछाऊँ जस्ती ।।
आँगनमा फक्रिएकी, शयपत्री-फूल ।
छातीभरि ‘माला’ उनी, लाऊँलाऊँ जस्ती ।।
काँधैमाथि बोकिरहूँ, धानको बाला जस्ती ।
पिरतीको ‘दाईं’ तिमी, दाऊँदाऊँ जस्ती ।।
गाउँबस्ती उल्टिएर, पञ्चैबाजा ठोकी ।
बेठी लाउने ‘धर्ती’ मेरी, साऊँसाऊँ जस्ती ।।
( १ साउँनु=धान रोप्नुपूर्व बाउसेले खेतमा हिलो सम्याउने काम ।
२ पोखरीमा पस्नेले दुईचार घुट्की पानी खानु र गजलको परिवेशमा रमाउँनेले रचना गर्ने रहर गर्नु उस्तै कुरा हुन्,जो मसँग पनि लागू हुन्छ ।म स्रष्टा नभई केवल पाठक र प्रध्यापकको नाताले द्रष्टासम्म हूँ ।फेसबुकको गजल परिवेशमा डुल्ने क्रममा लेखेको यो चौथो गजल हो(बिचरा म )।
यसमा व्याकरणगत संगतिमा विचलन गर्नु त स्वाभाविकै थियो तर विशेषत: वर्णित कालक्रममा पनि क्रमभङ्ग भएको लाग्नसक्छ ।रचनापछि कालक्रम मिलाउँदा भाव बिग्रने समस्या भयो,किनकि समस्त प्रस्तुति प्रतीकात्मक र ध्वनिव्यञ्जनाधर्मी परे।अत: यसो हुनु स्वाभाविक भएपनि साथीहरुका सुझाव आएपछि यसै राख्न वा फाल्न सकिन्छ ।ती दुबैलाई मिलाउन खोज्दा संरचनामा असर पर्ने भयो ,तसर्थ एकपटक च्यातेर फ्याँक्नुअघि स्फुरणक्षणमा पुगेर हेर्दा पो फालिहाल्नु उचित छैनजस्तो लाग्यो ।फाल्नै परे पछि देखाजाएगा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)