~उपेन्द्र सुब्बा~
देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ।
देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ
मात्र विश्वासमा।
त्यही विश्वासमा
निर्बलहरू बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
गरिबहरू धन माग्दै ऋण गरी बोका काट्छन्
दु:खीहरू सुख माग्दै रुइकराइ भाकल गर्छन्
विश्वास यति घाती छ कि!
नाथे एउटा ढुङ्गाले पनि
यसरी मान्छेको शोषण गर्छ।