~किरण दहाल~
बरालिँदा साँझपख
यो सहरमा
नदेखियोस् तिमीलाई
ढल्न आँटेको
कुनै राणाकालीन पुरानो घरजस्तो
सम्झिराख्नु हरहमेसा–
सहर आधुनिकता मन पराउँछ
कुनै ब्रान्डेड स्प्रे छरेर
बास्नादार फूलजस्तै
मगमगाएको तिम्रो शरीर
फक्रिरहोस् प्रत्येक गल्लीमा
नसकियोस् तिम्रो यौवन
मैनबत्तीजस्तो
बरु पागल नजरहरू
तेर्सिरहुन तिमीतिरै
यो सहरमा मान्छेहरू
सुन्दरताको खोजीमा छन्
मादकता चुर भएका
ती नयनमा
कसैगरी नछल्किउन आँसुहरू
ती सुकोमल ओठहरूमा
भर्खर हाँस्न सिकेको
बालक मुस्कुराएजस्तै
नाचिरहोस् मीठो हाँसोहरू
खुशी छाईरहोस् मुहारमा
नदेखियोस् तिमीलाई
डढेलोले खाएको बनजस्तो
उदास–उजाड
बुझेकी छौ हौला–
सहरका मान्छेहरू
उन्माद मन पराउँछन्
आफैँलाई बिर्सेर पनि
हाँस्नुपर्छ तिमीले
सुन्दर बन्नुपर्छ अझै
किनकि फूलहरूले
भमरा चुस्नुपर्छ अब !
(पुलेसो डट कममा २०७१–साउन–३ गते प्रकाशित)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)