~विक्रम सुब्बा~
भ्यालेन्टाइनको रातो थुंगाका ओँठले
मेरो निँधारको स्वाभिमान चुमेर
तिमीले मायाको वीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जवान मायाको भुवैभुवा फुलेकोछ
ओँठका किरणहरू चुमेर तिमीले
मेरो मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरंगहरूमा
मनमोहक रंगीन ईन्द्रधनुष फलेकोछ
चुमेर तिमीले मेरा आँखाका भज्याङहरू
सुन्दर दृष्टि-वेर्नाहरू सारिदिएपछि
मेरा हरेक नजरका हाँगाहाँगामा
पिपिरी बजाउँदै प्रेमपालुवा हल्लिईरहेकाछन्
मेरा कानहरूलाई सरगम स्वरले चुमेर
मायालु बोलीको भायोलिन मुटुमा रेटिदिएपछि
मेरो रगतमा तिमी लिखित स्वरलिपिहरू मुताबिक
प्रेम-अर्केष्ट्राको महान सागर उर्लिरहेछ
मेरा हत्केलाका भाग्यरेखाहरू चुमेर
तिमीले पिरतीको विजुली हालिदिएपछि
मेरो शरिरका हरेक आलो अंगप्रत्यंगमा
माया नै मायाको उर्जा दगुरिरहेकोछ
मेरो यात्राका लक्ष्यलाई चुमेर तिमीले
ढुकढुकी पदचापहरू भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्
हर मोर्चामा मेरो अजेय तागत भन्नु
मभित्र तिमीले भरेको प्रेमशक्ती रहेछ
यही शक्ती मेरो दाहिनो बसिदिएपछि
हरेक मोर्चामा हाम्रो प्रेमको
विजयी ध्वजापताका फर्रफराईरहेछन् ।