~रामप्रकाश पुरी~
१. प्रारम्भः
“देशविहीनहरू” कथा सङ्ग्रहका लेखक प्रकाश थापा मगर पुस्तककारका दृष्टिले पहिलो हुन् । तथापि उनका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न लेख÷रचना, समीक्षाहरू पहिलेदेखि नै प्रकाशित हुँदै आएका छन् । यसकारण लेखनका दृष्टिले लेखक थापा परिपक्क र अनुभवी सर्जकहरूभित्र पर्दछन् । उनी जीवनका भोगाइहरूमा पनि स्वदेशभित्रको अव्यवस्था, विसङ्गति, गरिबी र असमानताबाट पैदा भएका विशृङ्खलित र तनावपूर्ण जीवन परिवेशदेखि प्रवासी नेपालीहरूले बिताइरहेको कठिन, अपमान र असुरक्षित जीवनको मैदानबाट भुक्तभोगी हुँदै सङ्घर्ष र मुक्तिको वास्तविकताको राजनीति तथा विचार र व्यवहारमा सम्मुनत र श्रीबृद्धिमा स्वदेशको माटोमा पुनः यात्रारत भएकाले प्रवल र अनुभवयुक्त छन् । त्यसैले कथा सङ्ग्रहका सबै कथाहरूमा यी सबै विविधताहरू परिवेश र सन्दर्भहरूमा प्रस्तुतीकरण भएका छन् । एउटा राम्रो स्रष्टाले यथार्थताहरूको विमोचन गर्दै वास्तविकताको उद्घाटन गर्नु अनिवार्य हुन्छ । सामाजिक जीवनमा सदर गरिएको भय र सन्त्रास, नियति बनाइएको अभाव र तनाव, संस्कार बनाइएको दलन र भेदभाव र नैतिकता बनाइएको छाडावाद र निराशावादको यथार्थताबाट मुक्त समाजले अधिकार सम्पन्न नागरिकहरूको न्याय र कानुन, श्रमको फलको उपभोग गर्न पाउने सम्पन्न र सुखी जीवनयापनका श्रमिकहरूको समाज, शिष्ट, सभ्य र सम्मानित नागरिक हैसियत र आशा र विश्वासको जगमा उठाइएको वस्त्रयुक्त नैतिकता एवं आभूषण सहितको जीवनशैलीको वास्तविकताको आचारसंहिता निर्माण गर्न सक्छ भन्ने भविष्यदृष्टि नै राम्रो स्रष्टाको विचार विम्व हो । राम्रो स्रष्टाको सिर्जनामा वर्तमानको परिवेशलाई बदल्ने शक्ति अन्तरनिहीत हुन्छ । शब्दभित्र निहित विचारशक्तिको प्रभावी भूमिकाले शासन व्यवस्था परिवर्तन हुने, कमजोर शक्तिहरूलाई महाशक्तिमा उठाउने, महाशक्तिहरूलाई पतन गराइदिने, युद्धहरूमा मनोवल उठाउने वा मनोवल गिराउने, विजय–पराजयको कारण बनाउने, जागरण र उत्साहद्वारा सामाजिक क्रान्तिहरू उठाउने, वर्गसङ्घर्षहरू चर्काउने आदि महत्वपूर्ण घटनाहरू घटित हुन पुग्दछन् । इतिहासका घटनाहरूलाई नियाँलेर हेर्दा शब्दभित्र निहित विचारशक्तिको सिर्जना हुँदा रगतको मसीले इतिहासको गाथा कोरेका छन् । यसर्थ वास्तविकताको द्रष्टा सर्जक यथार्थवादी सर्जकभन्दा निकै उन्नत, सम्पन्न र गतिशील हुन्छ । “रोएर बस्नु हुँदैन, हाँसो खोज्न सक्नुपर्छ” सिद्धान्तलाई आत्मसात गरेका कारण यसको आयतन प्रगतिशील हुँदै प्रगतिवादसम्म फैलिएको हुन्छ । प्रगतिवाद भन्ने कुरा त माक्र्सवादी–लेनिनवादी दर्शन विज्ञानको साहित्य खण्डको नाम हो, तर प्रगतिशील त्यस्तो होइन । यो पुँजीवादभित्र सुधार खोज्नेदेखि प्रगतिवादसम्मलाई आत्मसात गर्ने खालको हुन्छ । कथाकार प्रकाश थापा मगरका कथाहरूले प्रगतिवादको सिद्धान्तलाई पछ्याएका छन् र प्रगतिशील बाटोका यात्रीहरू बनेका छन् । यहाँ प्रत्येक कथाहरूको विविधता, विशेषता र शिल्पकलाको सन्दर्भमा विश्लेषण गर्न सम्भव छैन । यद्यपि कथाहरूले हिँडेको विचारपथ, समग्रमा वैचारिक निष्कर्ष,समेटिएका क्षेत्रहरू, कथाकारको शिल्पकला र भावी सम्भावनाहरूको सन्दर्भलाई केही विश्लेषण, केही आलोचना र केही सल्लाहहरूका साथ छिनाफानो गर्ने प्रयत्न गरिनेछ ।
२. विविधता र विशेषताको दृृष्टिले “देशविहीनहरू”
“देशविहीनहरू” कथा सङ्ग्रहभित्रका कथाहरूमध्येको एउटा कथा हो । यस कथा सङ्ग्रहमा १२ वटा कथाहरू समावेश छन् । कथाहरूले गाउँ, शहर र प्रवासका विभिन्न क्षेत्रहरूमा (स्थान) फरक फरक घटना र कथ्यमा विचरण गरेका छन् । फरक क्षेत्र हुनु, फरक घटना हुनु र फरक ढङ्गले कथ्य भएका कारण कथा सङ्ग्रह विविधताको गरिमाले ओजस्वी बनेको छ । कथामा नेपालका विभिन्न जिल्लाहरू, जातिहरू र कार्यव्यवहारका विभिन्न प्रसङ्गहरूको विशेषता पनि छ । गाई, भैँसी, घोडा, चराचुरूङ्गी, भेँडाबाख्रा आदि प्राणी जगतसितको मानव जातिको कार्यव्यवहारको आधारमा भएको सम्बन्ध, त्यस्तै रूख, जङ्गल, ढुङ्गा, पानी, बस्तीहरू आदिसितको अनन्य प्राकृतिक सम्बन्धलाई कथा सङ्ग्रहभित्र समेटिएका विभिन्न कथाहरूमा उल्लेखनीय ढङ्गले आत्मसात गरिएको छ । त्यसैगरी, जुलुस, पुलिस, छोराछोरी, आमाबुवा, दाइभाइ, दिदीबहिनी, महिला, पुरूष तथा बालक लगायतका मानवीय क्रियाकलापका कर्ता र कर्महरू कथा सङ्ग्रहमा अवतरण भएका छन् । “केही छैन, सुम्मिनाको झल्को आइरहन्छ । त्यसैलाई बिर्साउन त यो जङ्गलको खानीमा बसेको छु । तर यहाँ पनि मलाई के सुख छ र ? बेला बेलामा प्रहरीहरू आउँछन् । खै ? मजदुरहरूको विवरण देखा ? कति तलब दिन्छस् ? मजदुरहरूको ई.एस.आई. बिमा छ कि छैन ? भनेर थर्काउँछन् । उनीहरूलाई दुई÷चार हजार पैसा नदिई हुन्न । उता अन्डरग्राउण्डवाला (भूमिगत पृथकतावादीहरू) आउँछन् र भन्छन्– ‘विदेशी मजदुरहरूलाई काममा नलगाउनू । लेबर परमित खैै ?’ उनीहरूलाई त झन् २०÷२५ हजार चन्दा दिनु पर्छ । दोहोरो चपेटामा छौँ हामी । तर मेरा केटाहरू सही छन् । मजदुर र मालिक जस्तो सम्बन्ध छैन हामीबीच, घरपरिवारको जस्तो छ ।” ‘सुम्मिनाको झल्को’ कथाको एउटा कोइलाखानीको मजदुर पात्रको यो अभिव्यक्तिमा मानवीय लगायतका सम्बन्धहरू छन् । त्यस्तै “घोडा” नामले कथाको नामाकरण नै भएको छ । यसरी प्रस्तुत कथा सङ्ग्रहले विविधताको सिद्धान्तलाई दह्रो ढङ्गले आत्मसात गरेको स्पष्ट छ । यही विविधता, एकता र सम्बन्धलाई पनि दहै्र ढङ्गले स्थापित गरेको छ । यो यस कथा सङ्ग्रहको विशेषता हो ।
३. शिल्पकलाका दृष्टिले “देशविहीनहरू”
कथा निर्माणमा कथाकारले देखाउने शब्द प्रयोगको लय, पात्रहरूको संवाद, घटनाक्रमहरूको क्रमबद्ध शृङ्खला, जनजनले बुझ्ने भाषा र उपयुक्त शब्द चयनमा गठित वाक्य नै सिर्जना शक्तिमा प्रस्तुत हुने शिल्पकला हो । भाषा सबैको साझा बन्न सक्यो भने धेरैभन्दा धेरै मानिसहरूको भाषिक समस्या हल त हुने नै भयो, आम नेपालीहरूले साझा भाषाको रूपमा नेपाली भाषालाई ग्रहण गर्ने कुरा जगजाहेर छ । कथाकार थापाले पनि नेपाली भाषालाई नै प्रयोग गरेर सिर्जना शक्तिलाई साझा सम्पत्तिको रूपमा अभिव्यक्त गरेका छन् । यस कथा सङ्ग्रहका सबै कथाहरूमा भाषिक स्पष्टता छ र साझेदारीतामा एकताबद्ध गरिएको छ । कथाकारले शब्द चयनमा सामान्यीकरण गरेका छन् । एकाध हिन्दी शब्दको प्रयोगले पाठकहरूमा अलमलको स्थिति सिर्जना भएको छ । “झण्डैको अनहोनी”, ‘अनहोनी’ शब्द नेपालीमा प्रचलित छैन र नेपाली शब्दकोषहरूमा त्यसलाई स्थान दिइएको पनि छैन । ल ठीकै छ, यदि भारतीय पृष्ठभूमिको पात्रले आफ्ना भनाइहरूमा ‘अनहोनी’ शब्दलाई प्रयोगमा ल्याउन सक्थ्यो भने स्वाभाविक रूपले लिन सक्ने स्थिति हुन्छ । तर कथावस्तुलाई नै सामान्यकरण गरी शिरबेहोराको न्वारान गर्ने अधिकार सर्जक स्वयंलाई हुने हुँदा यहाँनेर कथाकारको मनमौजी शब्द चयन र प्रयोगलाई उपयुक्त मान्न सकिन्न । ‘अनहोनी’ शब्दको नेपाली अर्थ ‘अनर्थ’ वा आकस्मिक ‘दुर्घटना’ हो भने ‘झण्डैको अनर्थ” शिरबेहोराले कथाको उद्देश्यलाई परिभाषित गर्नमा के फरक पार्दछ ? त्यस्तै ‘सायाँ’, ‘पाया’ शब्दहरूले कथाको शीर्षक न्वारान गर्नु उपयुक्त होइन । ‘सायाँ’ आफूभन्दा अग्रज मान्यजन वा शीरोधार्य स्थानमा रहेको व्यक्ति होला, जस्तै कि जेठो दाजु, बुबापछिको अभिभावकीय स्थानमा रहेको व्यक्ति । त्यसैगरी “पाया” को अर्थ काठको टेको, टेकन, टेवा आदि हुन्छ । नेपाली शब्दकोषहरूमा स्थान पाइनसकेका, साझा भाषाको रूपमा आकार ग्रहण गरिनसकेका—त्यस्ता कैयौँ शब्दहरू होलान्, जो हाम्रो जानकारीभन्दा पर होलान्—लाई सहजै साहित्य कृतिहरूमा शिरबेहोरा गरिनु हुँदैन । पाठकहरूलाई शब्दको अर्थ बुझ्न हैरान भयो भने शब्दकोषको गन्तव्यतर्फसम्मको यात्रा ठीकै होला तर त्यहाँबाट पनि गन्तव्यहीन हुने हो भने शाब्दिक समस्या वाहेक अरू प्राप्ति हुँदैन । शीर्षक चयन र शब्द चयन यसकारण हुन्छ कि यसमा भनाइ र उद्देश्यहरूतर्फ पाठक वर्गलाई अगाडि बढ्न इसारा गरिएको हुन्छ । शिरबेहोरा एक प्रकारको गन्तव्य दृष्टि हो, जसलाई पाठकहरूले अर्थ लगाउन सकुन् अथवा आपूmसित भएका सन्दर्भ सामाग्रीहरूबाट त्यसको अर्थ पत्ता लगाउने सम्भावना पनि होस् । यसतर्फ सर्जकहरूले ध्यान दिनु पर्ने आवश्यकता हुन्छ । यसरी एकाध शब्दहरू नै समस्याका विषय बन्छन्, जो अर्थ नखुलेर “झण्डै अनर्थ” मा बदलिन्छन् ।
तर कथाहरूमा भाषाको प्रयोग सरल र सुलभ छ । पात्रहरूद्वारा कथित कथनहरूमा सरलता, सुलभता र अर्थयुक्तता छ । जस्तै कि, “यिनीहरू दमाई जातिका हुन् । यो केटोको दाइ भारतमा नोकरी गर्दछ । पहिले घर आउने–जाने गर्दथ्यो । दुई÷तीन वर्ष पहिले विवाह गरेपछि श्रीमती उतै लिएर गएको छ । बच्चाहरू जन्मेका छन् रे । बाबुले घर बनाउने काम गर्छन् । सधै काम पाइँदैन । जेठो छोराले केही कमाएपछि परिवार पाल्नमा मद्यत गर्ला भन्ने आशा व्यर्थै भयो । जमिनको नाममा एक हल लाग्ने वारी मात्र छ । तर त्यहाँ कोदोसम्म पनि फल्दैन । मकै र फापरसम्म हुन्छ । उसको एउटी बहिनी पनि छ । उसको विवाह भयो । तर लोग्ने असल परेछ । उनीहरूले वेलामौकामा पैसा, लत्ताकपडाले यो केटोका परिवारलाई मद्दत गर्छन् । उसको आमा र यो केटीले मात्रै घरको काम गर्छन् । बाबुर घर बनाउने कर्मी, आधा पैसा जहाँ काम गर्यो, उतै रक्सी र मासुमा उडाउँछन् । त्यही कुरालाई लिएर बुढाबुढीबीच भनाभन पनि हुन्छ । कहिलेकाँही त हातै हालाहालसम्म हुन्छ । यो केटो घर भएको बेला भने बाबाआमाको बीचमा पसेर झगडा रोक्छ । दुवैलाई बोल्न दिँदैन । दुई वटा भैँसी, एउटा गाई, दुई वटा बाच्छाहरू छन् गोठमा । आमा बिहानै घाँस काट्न गई होलिन् । त्यही भएर यो केटो बाख्रो लिएर यता आयो । बाख्राहरू पनि ११÷१२ वटा जति होलान् । खुबै सप्रेका छन् । माऊहरूले पनि हरेक पटक दुई÷दुई वटा पाठापाठी जन्माउँछन् । वर्षेनी दुई÷चार वटा बेच्छन् पनि । यसैबाट यिनीहरूको निर्वाह चलिरहेको छ ।” धुन कथाकी एउटी महिला पात्रको यो कथनमा सरलता, सहजता र अर्थयुक्तता पाउन सकिन्छ । वाक्यहरूको गठन विश्लेषणात्मक छ । त्यसैले बुझ्नलाई सहजता भएको छ । अनि, कस्तो छ, निम्न वर्गका मान्छेहरूको जीवनयापन गर्ने तरिका ? माथिको कथनबाट स्पष्टता ल्याउने प्रयत्न गरिएको छ । शिष्ट, विशिष्टताको भाषिक प्रयोगको कारण सरल शब्दहरूले पनि विहङ्गम अर्थ पस्केका छन् । कथासङ्ग्रहका सबै कथाहरूमा यो फुलवारीको सुगन्ध मगमगाएको छ ।
कथाकारले स्थान विशेषको चर्चा पात्रहरूको सरल शब्द व्यवहार र फरक पक्षबीचको द्वन्द्व संयोजनमा उपयुक्त ध्यान पुर्याएकोले शिल्पकलाको सुगन्धको आभाष हुन्छ । “महाभारत पहाडमा अवस्थित रहेको त्यो गाउँ । भर्खरै काटिएको खरका कारणले डाँडो पाखो उराठ जस्तो देखिन्थ्यो । त्यसमाथि सल्लाका रूखहरू नाम मात्रका हरिया थिए । वीरबलले खिचडी पकाएको कथामा बयान गरिएको ओदान झैँ टुप्पामा मात्र हरिया ती रूखहरू नजिक जाँदा पनि घामको छायाँ दिन सक्दैनथ्यो । तर वतासलाई बढी नै हुइक्याउन मद्दत गर्थे होलान् । त्यही कारणले हुन सक्छ, सल्लाको रूख भएको ठाउँमा बतास अन्य ठाउँमाभन्दा बढी नै चल्ने गर्दछ । तर अझै पुषको महिना थियो । बतासको वेग त्यति थिएन । जङ्गलमा हरियालीको अंश बाँकी नै थियो । भुइँ घाँस नभए पनि रूख घाँस (स्थानीय भाषामा डाला घाँस) प्रशस्तै थिए अथवा अझै रूख घाँस काट्न सुरू गरिएको थिएन । यस्तै भौगोलिक परिवेशमा रहेको त्यो गाउँ यतिखेर एक प्रकारले उराठलाग्दो नै देखिएको थियो ।” ‘रूखो बोली’ कथामा कथाकार स्वयंले गरेको स्थान विशेषको यो चर्चामा शब्दहरू सरलताको साँचोमा ढालिएका छन् भने उराठ र मनोरम दृश्यहरूलाई संयोजन गरेर भाव छन्द प्रभावकारी बनेको छ । प्रकृति र मानवबीचको सम्बन्ध, न्याय÷अन्याय, सङ्गत÷असङ्गत, देश÷विदेश र असल खराबबीचको सम्बन्धलाई लिएर कथाहरूमा बहसका, छलफलका, सम्बन्ध विछोडका, पीडाका, विद्रोहका आदि भावहरूको शिल्पकारिताले प्रशस्त मात्रामा आयतन लिएका छन् ।
यति भनिरहेको सन्दर्भबाट कथाकारले मख्ख हुनु पर्ने भने होइन । शिल्पकलाको उच्च गन्तव्यतिर बढ्ने सुरसार गर्दैमा उद्देश्य पूरा भयो भन्ने ठानेमा अद्योगतिको सामना गर्नु पर्ने हुन्छ । आत्मपरकताबाट मुक्त गराउँदै वस्तुपरकतातर्फ, स्पष्ट दृष्टिकोण सहितको गन्तव्य यात्रा, स्पष्ट भाषा र शुद्ध लेखनको अझै अभिबृद्धि कथाकारको जिम्मेवारीमा नै पर्दछ ।
४. क्षेत्र विस्तारका दृष्टिले “देशविहीनहरू”
कथा सङ्ग्रहमा समाविष्ट कथाहरूमा राजनीति, सामाजिक र आर्थिक क्षेत्रलाई विशेष केन्द्रमा राखिएको छ भने सांस्कृतिक क्षेत्रलाई परिदृष्यमा नल्याएको भए पनि गहनतापूर्वक तर सुक्ष्म ढङ्गले कथाहरूको जीवनभित्र जीवन्त गराइएको छ । पञ्चायती व्यवस्थाकालीन सङ्घर्ष, वहुदलीय व्यवस्थाकालीन सङ्घर्ष र प्रवासी नेपालीहरूले भोग्ने पीडाहरू एवं देशभित्रका जनताले भोगिरहेका अभाव, तनाव र समस्याका कथा–व्यथाहरूलाई कथाहरूका पात्रहरूद्वारा जीवन्त गराइएको छ । सामाजिक कुसंस्कारहरूलाई सतहमा ल्याइएको छ । आर्थिक अभावहरूले विशृङ्खलित जीवनहरूको भोगाइलाई पदार्पण गरिएको छ । मुख्य विशेषता, कथाकारले आफूले राजनीति गरेनन्, तर घटनाहरूमा पात्रहरूको राजनैतिक गतिविधिलाई स्तरीय ढङ्गले प्रस्तुत गरिएको छ ।
५. विचारका दृष्टिले “देशविहीनहरू”
का. मोहनविक्रम सिंहको शुभकामना र जनगायक जीवन शर्माको भूमिकाले यो कथा सङ्ग्रहले तय गरेको यात्रा र गन्तव्य स्वतः स्पष्ट गरेका छन् । अगाडि पनि उल्लेख गरिएको छ, विचारमा यस कथा सङ्ग्रहले प्रगतिवादलाई आत्मसाथ गरिसकेको छैन । तर प्रगतिशील यात्रा तय गरेको छ । सामाजिक यथार्थवाद मुख्य विचार शक्तिको रूपमा प्राप्त भएका छन् । कथाकार यथार्थतालाई स्वीकार गर्ने मात्र होइन, नयाँ वास्तविकतालाई निम्त्याउने तर्खरमा पनि छन् । त्यसैले कथाकार प्रगतिशील बनेका छन् र कथा सङ्ग्रह पनि प्रगतिशील कित्ताभित्र आएको छ ।
६. निष्कर्ष : उज्यालो भविष्यको यात्रा
कथा सङ्ग्रह “देशविहीनहरू” ले कथाकारलाई उज्यालो भवियको यात्राका लागि ढोका खोलिदिएको छ । सामाजिक, राजनीतिक तथा आर्थिक विसङ्गतिविरूद्धको सङ्घर्षका योद्धाहरू (जनता) मैदानमा छन् । सीप र कौशलता अनुसारको हतियार उठाएर यथास्थितिलाई परिवर्तन गर्ने अभियान अन्तर्गत कथाकार प्रकाश थापा मगरले देखाएको यो उच्च साधना र सृजनशीलताले नेपाली समाजलाई रूपान्तरण गर्ने कार्ययोजनामा सक्रिय बनाउनेछ भन्ने अपेक्षा र विश्वास गर्न सकिन्छ । कमजोरीहरूका विरूद्धको सङ्घर्षका कारण सर्जकले आफूलाई अव्वल सावित गर्न सक्छ । उहाँको नयाँ यात्राका लागि शुभकामना छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १९ – March 26, 2014 – २०७० चैत्र १२ गते, बुधबार)