~पुरुषोत्तम सुवेदी~
एक्लै उभिएको छु क्षितिजमुनि
धरतीको एक टुक्रा टेकेर
क्षितिज, पर डाँडाको उचाइमा
एक्लोपनको बोझ बोकेर
मजस्तै अन्यमनस्क खडा छ
— रक्सीले छोडिसकेको रक्स्याहाजस्तो ।
मैले टेकेको धरती हल्लिँदै छ
मभित्रको आक्रोश विस्फोट
ज्वालाका रूपमा निस्कनलाई
एउटा मान्छे— नितान्त एक्लो मान्छे
हल्ला र विद्रोह जीवनको सासफेराइ
रूखो क्रन्दन युगबोधको समेटेर
मान्छेका आँखामा कारखानाको धूवाँझैँ पीरो
— एक्लै चियाउँछ आँखाले जहाँसम्म देखिन्छ ।
आफन्तहरूले धोका दिएका यो साँझ
प्रेयसीले पाचुके मागेकी छन्, मानौँ
नमीठो भविष्यको अस्थिर पीडा जन्मन्छ
म आफूलाई नै बिर्सिरहेको छु
एउटा मान्छे हुन्छ कल्पित मुटुभरि–भरि
बिसाउनी पार गर्ने उसका यान्त्रिक खुट्टा छन्
फुटपाथमै खुस्कन्छन् सडक नटेक्दै
मुठी बटारेर बदला लिन आतुर म
मन्द–मन्द हेर्दै आँखाहरूले कठोरता
— रेडियोधर्मिताको वेगमा पगाल्ने त होइन पृथ्वीलाई ?
आकस्मिक निर्णयले जन्माएका लक्ष्यहीन लहरहरू
हिउँचुली, पाखाहरू, मरुभूमि र समुद्रसम्म फैलन्छन्
फैलेका यी स्थूलताहरू एकैपटक आइदिँदा
आत्महत्या हेर्न मन लाग्छ हत्याझैँ
घाँटी रेटेर यस धरतीको
धेरै होइन एक टुक्रा धरती भए पुग्छ
विद्रोहको निसाना बनाउन
तारा मात्रै झुल्के पनि हुन्छ सूर्यको सट्टा
जीवनबोध— गोधूलिको शान्ति
एक्लोपनको अनुभूति— कात्रो भिरेको विवशता ।
सूर्यतेज जब टेबुलल्याम्प बन्न आइपुग्छ
क्षितिजमा अँध्यारो— फगत अँध्यारो कालिमा
विद्रोह— समर्पण, विद्रोह— हाराकिरीजस्तो
एउटा आस्था जीवनभरिको
लुकाऊँ कि त्यही डाँडामा पोको पारेर बचाउन त्यो ज्योति ?
गुलाममान्छे एक्लो भएको बेला बजारमा
म त्यही निरीह, विवश र कातर मान्छेपन बोकिहिँड्छु
चिसो बतास, तातो किरण र विश्वास चाहिन्छ मलाई
परपरका असफलताहरूसम्म धावा बोल्नलाई ।
मैले हेरेको रातो क्षितिज उघ्रँदै छ बादलविहीन
नवविवाहित युवतीको घुम्टो जसरी अनावृत्त हुन्छ
खुसीले जितेन एक्लोपनलाई— तिलाञ्जली
म बिस्तारै पाखुरा छाम्छु पाइला बढाउँदै अलि–अलि
एक्लै अन्यमनस्क र भावहीन अतीतका साथ
मेरा पदचिह्रनहरू धरतीको धेरै टुक्रामा टेकिएका हुनेछन्
क्षितिज हेर्दै जान्छु, क्षितिज हेर्दै जान्छु अविरल
विद्रोह मुटुभित्रभित्रै सल्कँदैछ, विस्फोट जन्मँदैछ चाँडै… ।
-कलङ्की, काठमाडौँ