~कृष्णशरण उपाध्याय~
कृष्णा र कोशी पहरा फुटाई,
मेची र राप्ती छहरा छुटाई ।
निर्भिक बन्दै बहने रमाई,
यो देश नै स्वर्ग छ है मलाई ।
कस्तुरी या बांदर कृष्णसार,
अर्ना र हात्तीहरु छन् हजार ।
गैंडा र भालु डुल्ने रमाई,
यो देश नै स्वर्ग छ है मलाई ।
किसान खान्छन् पसिना कमाई,
माना छरी नौ मुरी नै फलाई ।
बिताउने काल हलो समाई,
यो देश नै स्वर्ग छ है मलाई ।
नेपालको दौलत जंगलै हो,
तौली नसक्नू जन मंगलै हो ।
छ शुद्ध हावा हंसिलो बसाई,
यो देश नै स्वर्ग छ है मलाई ।
कोदो मकै फापर अन्न बाली,
खाने डुकूका संगमा मजा ली ।
ढिंडो मिठो गुन्द्रुकमा मिलाई,
यो देश नै स्वर्ग छ है मलाई ।
यो देश हो ती शिवको निवास,
जो हुन् उनै अन्तिम सत्प्रकाश,
हिमालले व्योम छुने उचाई ।
यो देश नै स्वर्ग छ है मलाई ।
चौंरी चरेको झरन झरेको,
चांदीसरी स्वच्छ हिउंm परेको ।
संसारकै चित्त दिने चुंडाई,
यो देश नै स्वर्ग छ है मलाई ।
रारासरी ताल कहीं नि छैन,
जडीबुटी सौ थरि पाइदैन ।
फुल्ने अनेकौं फुल मग्मगाई,
यो देश नै स्वर्ग छ है मलाई ।
अचम्मका चित्त छुने पहाड,
तराइका ती हरिया कछाड ।
सयौं थरी जात हुने बसाइ,
यो देश नै स्वर्ग छ है मलाई ।
भाषा अनेकौं र अनेक धर्म,
संस्कार चल्ती कति हुन् अचम्म ।
विभिन्नताको बहुरुप पाई,
यो देश नै स्वर्ग छ है मलाई ।
लखन् तथा शुक्र र धर्मभक्त,
शहीद हाम्रा कति छन् सशक्त ।
उत्साहको शक्ति दिने उठाई,
यो देश नै स्वर्ग छ है मलाई ।
साहित्यका दिग्गज देवकोटा,
विचित्रका सर्जक लेखनाथ ।
जस्ता सयौं जन्म दिने रमाई,
यो देश नै स्वर्ग छ है मलाई ।
विदेश हो वैभवको बजार,
आकाश चुम्ने घर छन् हजार ।
जस्तो भए नि म त जान्न भाइ,
यो देश नै स्वर्ग छ है मलाई ।
हुन्छन् त्यहांका सुविधा विचित्र,
भन्छन् त्यही नै सब इष्टभित्र ।
तान्दैन त्यल्ले किन चित्तलाई,
यो देश नै स्वर्ग छ है मलाई ।
बन्दीपुर, तनहु