कविता : भतेर र आँखाहरू

~कणाद महर्षि~Kanad Maharshi_1

हरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो
र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो
खप्परहरू उसिनेर सुरुवा बनाऊ
गिदीहरू साँधेर अचार बनाऊ
मुटुहरू कुहाएर जाँड बनाऊ
र त्यसपछिको भोजमा
अभागी जन्मेका शिशुहरूको छालाहरू उधारेर लपेसको प्रयोग गरौैं

सुत्केरी आमा ! प्रथम खेप तिमी स्वाद चाख
पोको पारेर शालका लाम्टाहरू कुनै कतारोमा नहाल, कतै नपुर, कतै नफाल
हामी सभामा भाग लिनेहरू – ठूलाबडा हौँ- स्वागत चाहन्छौं
आलो शालका मालाहरूले हामीलाई सिङ्गार
र हामी त्यो शाल र त्यो शिशुको अपराधी र महान् बाबुलाई चिन्ने प्रयास गछौं
हेर बिकुल बजिरहेछ – नलीखुट्टा ! हेर बिकुल बजिरहेछ-नलीखुट्टा !!
हेर रगतको गोरेटोमा-आँखाहरू ! हेर रगतको गोरेमा आँखाहरू !!
हाम्रो सभ्य सडकमा खप्पर मात्रै हिडिरहेछ – हो खप्पर मात्रै !!
करङ्ग र कप्टेरे हाडहरूको बैज्ञानिक सोकेस सजिंदो छ – सजिँदो छ

ज्ञान, गिदी र समवेदनशीलताहरू बिक्रीका लागि कतै हाट हुँदैछ
कतै लिलाम हुँदै छ
थुप्रै कागहरूको एउटा युद्ध आएर कुर्सी र फाइलहरूमा मोर्चा कस्दै थियो
ठुङ्दा कागको भाषामा-फाइलभित्र मान्छेहरू कैदी छन्
ठुङ्दा कागको भाषामा-कुर्सीमाथि मान्छेहरू बन्दी छन्
नआऊ स्वतन्त्रता ! टुँडिखेलमा त मानिसहरूको दिवस हुनुपर्थ्यो
नआऊ दिवस ! घुम्तीहरूमा त मानिसहरूको सालिक हुनुपर्थ्यो
सालिक हुन अब मानिसहरूको अङ्ग कम्ती छ
टुँडिखेल हुन अब मानिसहरूको फुर्सत थोरै छ ।

-चाबेल, काठमाडौँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.