कविता : नभेटिए जाती भन्दाभन्दै

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापुमा र त्यसको एकान्तमा
तिमी भेटिएका छौ ।
उस्तै छौ तिमी
गुलाफी तिम्रो ओठ उस्तै छ
चाक्लो फराकिलो निधारमाथि
कालो गुलाफ जस्तो केशराशि उस्तै छ
मोह मुस्कान र जादुगरी उस्तै छ ।
नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापु र त्यसको एकान्तमा तिमी भेटिएकी छौ ।
उस्तै छ
तिम्रो आँखाको आकाश र त्यसको गहिराइ
उस्तै छ तिम्रो छाती र त्यसको मोहक उचाइ
उस्तै छ तिम्रो देहको सुगन्ध
उस्तै मादक छ तिम्रो रङ
नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापु र त्यसको एकान्तमा तिमी भेटिएकी छौ ।

उस्तै छैन
पतझडको वृक्षजस्तो
उदास भइसकेँ
खोलाले छोडेको बगरजस्तो
निरश भइसकेँ
म तिम्रा निम्ति अयोग्य भइसकेँ
मलाई माफ गर ।
नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापु र त्यसको एकान्तमा
तिमी भेटिएकी छौ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.