~लक्ष्मी मैनाली~
प्रिय ममतामयी आमा,
सम्झना
आमा आज म चिठी लेख्दैछु अहिलेसम्म मैले आफ्ना मनमा लुकाएर राखेका पिडाहरु तपाईलाई सुनाउन, आफ्ना मनभरिका व्यथाहरु पोख्न जुन मैले भोग्दै आएकी छु र अगाडि पनि भोग्नेछु सायद त्यतिन्जेलसम्म जबसम्म यि सास रोकिदैनन्, यि आँसु लुकाउने आँखाहरु चिम्लिदैनन्, पिडा लुकाउने मुटुको धड्कन थामिदैनन् तबसम्म।
आमा, भर्खरै मनाइएको १०८ औं अन्तराष्ट्रिय नारी दिवसमा विभिन्न विचारहरु, तथ्यहरु, भाषणहरु गरिए नारी हकहितको लागि भनेर। सामाजिक सञ्जाल लगायत विभिन्न ठाँउमा विभिन्न कुराहरु भए। मैले पनि सामाजिक सञ्जालमा आफ्ना विचारहरु पोष्ट गरेँ। तर जुन विचारहरु म लेखिरहेको थिएँ त्यो लेखिरहँदा मेरो मन भित्रभित्रै जलिरहेको थियो किनकि जुन कुरा त्यहाँ म गरिरहेको थिएँ नारीलाई समान व्यवहार गर्नुपर्छ, उसले पनि समान अधिकार पाउनुपर्छ उसको आत्मसम्मान गर्नुपर्छ भनेर तर त्यो विचारहरुको ठिक विपरित व्यवहारहरु मैले आफै भोगिरहेको छु भनेर। म कति लाचार र अभागि छु आमा जुन कुराहरु म अरुलाई गर्नुपर्छ भनेर सिकाँउछु तर म आफै त्यो सब भोगिरहेको छु। आमा जुन कुरा यतिका वर्षसम्म मैले तपाईहरुबाट लुकाएर राखेको थिएँ त्यो सब आज यो चिठीमा लेख्दै छु किनकि आमा अब म सँग अरु पिडाहरु लुकाएर बाँच्ने हिम्मत छैन।
आमा म सानी छँदाको कुराहरु याद छ नि तपाईलाई कसैले कसैलाई हेपेको दबाएर राखेको देख्न नहुने म आज आफै किन यति लाचार भएकी छु कि आफु माथिको अत्याचार कसैलाई भन्न सक्दिन किनकि आमा तपाईको इज्जत, सम्मान, प्रतिष्ठामा आँच आउन दिने छैन भनेर गरेको बाचाको कारण म चुप लागेर सहन्छु। तर आमा जुन इज्जतको लागि मैले दिनरात विभिन्न यातनाहरुबाट गुज्रिनु पर्छ के त्यो सहि हो आमा? तपाईले नै सिकाउनुभएको हैन आफ्नो आत्मसम्मानको लागि कसैसँग डराएर बस्नु हुदैन आफ्नो अधिकारको लागि दुनिँयासँग लड्न तयार हुनुपर्छ भनेर तर किन आमा आफ्नै छोरी माथि भएको अत्याचारमाथि तपाई केही बोल्नु हुन्न? किन मलाई केही बोल्न दिनु हुन्न? कसैसँग नडराउने हरेक कुरामा अगाडि आउने म दुनियाँको अगाडि नडराउने म किन आज यति लाचार बनाइदिनुभयो आमा किन?
याद छ नि आमा छोरी मान्छे रजस्वला हुदाँ १४ दिन लुकेर बस्नुपर्ने प्रथालाई १४ वर्षकी मैले नै अन्त्य गरेको थिएँ त्यो समाजमा त्यति बेला त मलाई साथ दिनु भएको थियो। छोरी मान्छे एक्लै कतै जानु नहुने एक्लै कुनै कार्यक्रममा जान नहुने मानसिकतालाई मैले नै बदलदिएकी थिएँ त्यो समाजमा। त्यति बेला पनि मलाई साथ दिनु भएको थियो तर अहिले मलाई यति लाचार बनाइदिनुभएको छ कि मैले नै आवाज उठाउन सिकाएकाहरुले मेरो हिम्मतको प्रशंसा गर्दा मलाई ग्लानि हुन्छ।
आमा, जसको लागि मैले आफ्नो इच्छा चाहना सपनाहरु सब छोडेकी छु उसले नै मेरो जिन्दगी नर्क बनाइदिएको छ। जसको इज्जत,मानसम्मान, प्रतिष्ठाको लागि यो समाजसँग बारम्बार लडेँ जसको लागि म यो दुनियाँसँग लड्न तयार हुन्छु उसले नै मेरो आत्मसम्मान, स्वाभिमान र इज्जतको समाजको अगाडि बारम्बार धज्जी उडाँउछ। बारम्बार मेरो चरित्रमाथि प्रश्न गर्छ। रातदिन काम गर्दा पनि कुनै कदर गर्दैन उल्टो मलाई हरेक रात यातना दिने गर्छ। बारम्बार म छोरी मान्छे भएको र कुनै काम गर्न नसक्ने भन्दै होच्याँउछ। दुनियाँको अगाडि जान नहुने कुरा गर्छ यो थाहा पाएर पनि कि जसले ३ पटक जिल्लास्तरीय ब्याडमिन्टन च्याम्पियनसीप जितिसकेकी छ। स्कुल देखि कलेजसम्मकी टपर हो। सयौं महिला तथा बालबालिकाको हकहितमा काम गरिसकेकी छ। सयौं महिलालाई अगाडि बढ्न सिकाएकी छ। यति सँहदा पनि के म चुप लागेर बसुँ आमा? के छोरी भएर जन्मनु नै मेरो ठूलो गल्ती हो? के मेरो यो संसारमा कुनै अस्तित्व छैन? के छोरी मान्छेको कुनै जिन्दगी हुँदैन? जन्मदेखि बिहे नहुन्जेल बाबुको नामबाट परिचय गराइन्छ बिहेपछि उसको पतिको नामबाट परिचय गराइन्छ चाहे उसले जति नै राम्रो काम किन नगरोस् तर उसको नामको अगाडि सँधै अरुको नाम जोडिन्छ किन उसको आफ्नो नामको यो समाजमा कुनै अस्तित्व हुँदैन?
आमा, अब म यो घर छोड्दै छु म अब यो भन्दा बढी पिडा खप्न सक्दिन। जुन इज्जत, मानसम्मानको लागि तपाईले यो निर्णय गर्नुभएको थियो त्यसलाई म तोड्दै छु। जुन घरमा नारीको इज्जत हुँदैन त्यो घरमा म आफ्नो जिन्दगी बिताउन सक्दिन। जुन मानसम्मानले कसैको जिन्दगी नर्क बनाइदिन्छ त्यो मानसम्मानले के गर्नुहुन्छ आमा? तपाईसँग पनि यसको जवाफ छैन मलाई थाहा छ आमा त्यसैले म यो समाजबाट टाढा जाँदैछु जहाँ मैले जे गरे पनि तपाईको मानसम्मान र प्रतिष्ठामा कुनै आँच आउने छैन। जहाँ छोरीलाई कमजोर सम्झिने बाबु हुनेछैन, जहाँ दिदिबहिनीलाई कमजोर सम्झिने दाजुभाई हुनेछैन्न, जहाँ श्रीमतीलाई कमजोर सम्झिने पति हुनेछैन।
बिदा,
तपाईकी छोरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )