कथा : धोको

~उमालाल आचार्य~

म सरकारी कार्यालयको कारिन्दा, महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । खासमा मेरो तलब म एक्लैलाई पनि अपुग छ भने चारजनाको परिवारमा त्यो चटनीबाहेक केही होइन । यही चटनीमै झुण्डेको छ अधकल्चो यो जिन्दगी । तलबको अंक गणित मेरो श्रीमती, छोरी र छोरालाई थाहा नभएको पनि होइन । गियरवाला साइकल नपाएसम्म स्कूल नजाने धम्की दिएको थ्यो छोराले । शोकेससहितको दराज नभएसम्म कुनै काम नसघाउने ध्वाँस दिएकी छ छोरीले, ताजमहलको छाप भएको ठूलो लकेटसहितको सिक्री माग गरेको धेरै भयो श्रीमतीले । यी मागहरु मैले पूरा गर्न सक्ने औकातका थिएनन्, त्यसर्थ श्रीमतीले मलाई ‘नामर्द’, कंगाली, अभागी लगायतका अपशब्दले गाली गरिन् मैले चुपचाप सहें, किनकि मसँग विकल्प थिएन । विकल्प भनेको पैसा हो ।

जुत्ता फाटेको तीन महिना भइसक्दा पनि फेर्न सकिरहेको थिएन । टालेर काम चलाउँछु भनी टाल्न गएँ । मसँग पाँच रुपैयाँ थियो । टाल्नेले दश रुपैयाँ माग्यो । हुँदै नभएको पैसा दिन नसकेपछि टाल्नेले पनि मलाई बचन लगायो । पैसा नभएपछि सबैको बचन खेप्नुपर्दोरहेछ । टालेको जुत्तामा टोलाइरहेको थिएँ म । ‘नमस्कार हजुर’ भित्र आउनेले मलाई हात जोड्यो, दारी कपाल फुलेको, दुब्लो, पातलो बुढो थियो ऊ । बुढेशकालमा सहारा कोही नभएपछि विरक्तिएको । रोग लागेपछि निको पार्न पैसाको जोहो गर्न आँटेको मर्मस्पर्शी कुराले मेरो मन रसायो । उसको अनुहारमा मैले आफूलाई पाएँ । केही सहयोग गर्ने मनशायले गोजीमा हात हाल्दा पो चाल पाएँ पैसा त बिहानै छोराले टप्काइदिएछ । तलब पाएपछि सहयोग गर्ने शर्तसहित ती याचकलाई फकाइफुलाइ विदा गरें ।

हस्तरेखाबाट भूत, भविष्य र वर्तमान हेरेर भाग्य चम्काइदिने दाबी गर्दै एउटा जोगी आयो फेरि । उसलाई पैसा दान दिनुपर्ने या उसको औंठी र पत्थर किनिदिनुपर्ने शर्त पनि राख्यो । उसको लट्ठीले उसैलाई बजाइदिने रिस उठ्यो मलाई । मैले हकारेपछि ऊ बाहिरियो । ‘बा मरे, आमा पोइल गइन् र दुःख पाएँ’ भन्दै एउटी केटुली भित्र आई । उसलाई पनि दम्काएँ । ‘पैसा चोरी भयो बाटोखर्च पुगेन’ भनि एउटी महिलाले कुरा राखिन् । कुरा राखे पनि बिन्ती विसाए पनि सबैलाई पैसा चाहिएको । ‘सरकारी अफिसमा पनि भिखारीहरुको भिड् लाग्न थाल्यो । के जमाना आयो ! म रिसाएर बोलें । ‘मन भए पो हुन्छ, मन नहुनेसँग के कुरा गर्नु’ भन्दै मलाई आँखा तरेर गइन् उनी ।

‘के बनाउँ सर ? चाउचाउमा अण्डा हालेर बनाउँ ? चियावाला साहुजीले मलाई जिस्काउँछ । उसलाई थाह छ मैले एउटा समोसा र एक कप चियाबाहेक खाजामा अरु केही खान्न, मेरो औकातले पुग्दैन । जवाफमा म खिस्स हाँसिदिन्छु । मेरा सहकर्मीहरुले धेरै चोटी उक्साउँथे ‘तपाई साह्रै सोझो हुनुहुन्छ कमलजी ! समयअनुसार चल्न सिक्नुस् सिधा औंलामा घिउ आउँदैन, हेर्नुस् ।’ त्यस भनाइका लागि मेरो सधै एउटै जवाफ हुन्थ्यो, ‘औला बाङ्गो पारेर घिउ ल्याउन प¥याछैन मलाई । मलाई त्यस्तो घिउ रुच्दैन ।’ घिउ खाने र रुच्ने संगीसाथीहरु राता पिरा छन्, म बबुरो न रातमा निद न दिनमा भोक । बेलपाटेको छोरो संस्थामा पिएन छ । कालो चश्मा लगाउँछ देब्रे हात उठाएर मलाई ‘नमस्कार’ भन्छ । म बुझ्छु उसले मलाई आदर होइन अनादर गरिरहेको छ, किनकि मेरो भन्दा उसको तलब माथि छ । पैसा नहुने मान्छेलाई सबैले यसरी हेप्दारहेछन् दुनियाँले हेपोस् नहेपोस् तर आफ्नी श्रीमती जीवन संगीनी, अर्धाङ्गीनी उसले हेप्दा पो मन पिर्दाेरहेछ ।

कुन उपायले ल्याइदिनु उसलाई मैले लकेटसहितको सुनको सिक्री ? चोर्न र ढाँट्न सिकिएन, बेचबिखन गर्नलाई पनि केही भएन । ‘पाहुना आउँदा राम्ररी बस्न मिल्ने खालको गतिलो घर बनाउनु प¥यो’ भनेर रातोदिन कचकच गरिरही मेरी श्रीमतीले । सरकारी सेवामा हाड घोटेवापत अलिअलि गर्दै जम्मा पारेको सञ्चय कोषको रकम मैले ननिकाली सुख पाइनँ । आँटेको पैसाले घर बन्दोरहेनछ । त्यो छ कोठे घरले मेरो भाइ अंशमा परेको भातखाने खेत खाइदियो । गडो काटेर बेची घर हालें म मूर्खले । छँदा खाँदाको सादा टेलिभिजन घुइयाको भाउमा फाली रंगीन टेलिभिजन हुलिन् श्रीमतीले, त्यो महाऋण चुकाउन मेरा दाँतबाट पसिना झरिरहेका छन् । पहिला अन्न पानी किन्नु पर्दैनथ्यो । यी दिनहरुमा सबथोक नकिनी हुन्न । यो उमेरमा जागिर छोडी अरु पेशा समाउन पनि उकालै प¥यो । यही जागिरको चटनी तलबमा जीवन गुजार्न पनि उकालै त प¥यो । बरु सपना नै जीन्दगी भइदिएको भए कति हाइहाइ हुन्थ्यो ! सपनामा त मैले बिटाका बिटा पैसा शिरानी हालेर सुतेको छु । पैसाले भरिभराउ बाकस भेटेको छु । सपना देख्न न पैसा लाग्छ, सपनामै खुशी हुँदा न कसैले बचन लाउँछ ।

मलाई ‘नामर्द’ भनेर मेरी श्रीमतीले कसको मर्द पोई खोजेकी हो ? मलाई ‘कंगाली’ भनेर को लखपतिसँग नाता गाँस्न खोजेकी हो ? ‘नामर्द’ ‘कंगाली’ मेरो मर्ममा प्रहार भएका यी बचनवाणहरु बिर्सन खोज्दा पनि बिर्सिइदैनन् । यी दिनहरुमा श्रीमती स–साना कुरामा निहुँ झिकेर झगडा गर्न तम्सिन्छे । राम्ररी बोल्दिन झर्किन्छे, भुन्भुनाउँछे । म चुप लाग्दा पनि एक्लै कराइरहन्छे । मन कुँडिएर भक्कानिदा आँखा रसाउँदा रहेछन् । रसिला आँखा चिम्लदा आँसु आफै झर्दा रहेछन् । ‘धत् यस्ता सानातिना कुरामा पनि आँसु किन झार्ने ?’ हत्तपत्त आँखा पुछेर आफैलाई सान्त्वना दिएको थिएँ । यो उमेरसम्म जाँड रक्सीको स्वाद मैले थाहा पाइनँ । जुवा तास समाउने ढंग छैन । बरु जाँड रक्सीले मातेर घर आउने गरेको भए स्वास्ती नानाभाँती कराउँदा कुट्ने गरेको भए र ‘हातगोडा हुनेहरु गरिखाउ’ भनि जिम्मेवारीबाट पन्छेको भए जसरी तसरी चलि त जाँदोहो । तर म त गालीगलौज र बचनहरु चुपचाप सहन सक्ने अरु केही गर्न नसक्ने कमजोर छु । भगवान अर्को जुनिमा मलाई यति कमजोर नबनाऊ । उति कर्म गर्न पनि नपर्ने, अपजस पनि नआउने र पैसाको छेलोखेलो हुने संस्थानमा जागिर खुवाऊ ।

‘अरु केही सोच्नु भएको छ ?’ डाक्टरले मलाई सोध्यो ।

‘मैले सोचेर नै निर्णयमा आएको हुँ डाक्टर साब । हामी दुबैपक्ष मञ्जुर छांै, मैले कागजमा पनि सहीछाप गरिसकेको छु ।’ त्यसो भए तपाइँ कपडा उतार्दै गर्नुस् हामी तयार हुन्छौं’ भन्दै डाक्टर उता गयो । मेरो मनमा अनेक कुरा खेल्नथाल्यो– मेरी श्रीमती फलानाकी स्वास्नीले यस्ता गहना लगाई, यस्तो सारी किनी भनेर मलाई हियाउने गर्छे । म उसलाई कसरी सम्झाउँ– त्यसको लोग्ने संस्थानमा जागिर खान्छ, बोनस पाउँछ, ओभरटाइम गर्छ भनेर । मेरो सामु उसले अर्कैको पोइको बखान गर्छे मलाई खपि नसक्नु हुन्छ । यी सारा समस्याको जड मै हुँ किनकि मसँग पैसा पुग्दैन । मेरो तलबको चौथाई भाग त उसकै लागि खर्च हुन्छ । लाली, पाउडर, गाजल, क्रिम, बसाउने तेल, नङ पालिस के–के जाति श्रृंगार पटारकै सामान किन्दा सकिन्छ । नून, तेल, साबुन, सरफ, चिनी, चिया उधारो ल्याउने दोकानमा महिनैपिच्छे ऋण घट्नुको साटो चुलिदै गा’छ । त्यस माथि छोराछोरीले चाउचाउ र बिस्कुट पनि उधारोमै थप्दा रहेछन् । दुई पैसा अरु आय आम्दानी कतैबाट छैन । छोराछोरी पढ्दैछन् । फुर्सदमा श्रीमती कि स्वीटर बुन्छे कि पोते उन्छे । ‘केही मेलो मेसो गरन’ भनेर सम्झायो भने हप्तादिन रिसाउँछे । सित्ति छैन बोल्न पनि । लोग्ने स्वास्नीबीच दुखानी सुखानी हुन छोडेको पनि धेरै भयो । पैसा नभएपछि आफ्नै स्वास्नी पनि पराई हुँदारहेछन् ।

मेरो ग्राहकले मलाई पचास हजार मात्र दियो यद्यपि मैले यसको दुगुणा रकम मागेको थिएँ । बेच्छु भनेको र किन्छु भनेको भाउ फरक हुँदोरहेछ । मैले बेच्छु भनेकाले सस्तोमा फसें । लकेटसकित सिक्रीको मूल्य सोधें । ज्यात्तेरी ! मैले पाएको रकममध्ये आधाभन्दा बढी खाँदोरहेछ । बचेको पैसामध्ये केही रकमले जुत्ता र कमिज फेरौंकी झैं लाग्यो । ‘भो’ तलब खाएर किनौंला’ भन्छ फेरि मनले । मान्छेका चाहना असीमित हुन्छन रे, भोलि अर्कै थोक माग राखेर, ‘नामर्द’ र ‘अभागी’ भनिमाग्नु प¥यो भने मन बुझाउन सित्ति होला ? बाँकी पैसा साँचेर जगेडा राखिनँ भने अर्को दिन मैले फेरि के बेच्नु ?

गरीव भन्दा गरीवको पनि आफ्नै तिरबाटो हुँदोरहेछ । आँखा नदेख्ने लोग्ने र लठेब्री स्वास्नी मन्दिरछेउ सँगै माग्न बसेको देखेको छु । उनीहरुको श्रीसम्पत्ति त्यही एउटा माग्ने भाँडो र थाङ्ने झोला हो । साना छोराछोरी छन्, रुखमुनि पाल टाँगेर बस्छन् । पैसा परेको दिन खान्छन् नत्र भोकै रहन्छन् । आपसमा साह्रै माया गर्छन् । मेरो चटनी तलबले घर भाँडभैलो पार्नु भन्दा त्यही जीवन जाति ।

आ–आफ्नो माग पूरा भएपछि छोराछोरी रमाएको, श्रीमती खुशाएको, मेरो वास्ता राखेको ख्याल विचार गरेको, सबै कुरा राम्ररी बुझेको छु । म यिनीहरुको मायामा भुतुक्क भएको पनि छैन किनकि यो दीर्घकालीन होइन । धन्न स्वार्थी संसार ! ‘पैसाको जोहो कहाँबाट मिलाउनुभो ?’ भनेर खुशी हुँदै श्रीमतीले सोधी । ‘दश रुपैयाँको चिट्ठा किनेको थिएँ पचास हजार प¥यो’ भनेर कहिल्यै नढाटेको मान्छेले ढाँटें । म भन्दा धेरै गुना प्यारो लकेटसहितको सिक्रीलाई सुम्सुम्याउँदै घाँटीमा लगाई । ऐना हेरि, कपाल कोरी मुसुक्क हाँसी । मतिर फर्केर बोली ‘बल्ल मेरो धोको पूरा भयो ।’ मैले उसलाई मनमनै भनें– ‘घर पोलेर खरानी बटुल्ने धन्न तिम्रो धोको ।’ यी दिनहरुमा म अशक्त छु सबैलाई थाहा छ । किन अशक्त छु कसैलाई थाहा छैन । पेटीमा बसेर दबाई खाँदैथिएँ, एउटा डुलुवा कुकुर आँगनमा आएर पुच्छर हल्लाउँदै मैले खाएको माग्यो । श्रीमती गाउँतिरबाट आई । सायद सिक्री देखाउन ऊ गाउँ–गाउँ पुगेकी थिई । मेरो नजिक आएर जर्किदै सोधी, ‘तपाइँले आफ्नो मृगौला बेच्नुभा’ हो ?’ लौ वित्याँस प¥यो, यसले पनि एककान दुइकान हुँदै चाल पाइसकिछ । ‘तपाइँले मृगौला बेच्नु भा हो कि नाइँ ?’ ऊ जर्किएपछि म बोलें– ‘एउटै मृगौलाले पनि त मान्छे बाँच्दो रहेछ नि ।’ फेरि उसले रुँदै सोधी– ‘त्यसोभए एउटैमा उसले किन सन्तोष गरेन, जसलाई तपाइँले बेच्नुभो ?’

‘ऊ हामीभन्दा हुनेखाने छ, धेरै तलब पाउँछ । म नाथेलाई किन चाहियो दुईटा मृगौला ?’ ‘म लाउँदिन यो सिक्री । जिउँदा मान्छेको अंग बेच्ने पापी ।’ उसले सिक्री फुकाल्न थाली ।

तिमीले सिक्री नलाए पनि मेरो मृगौला फिर्ता हुँदैन त ।’

रुँदै सिक्री फुकाएर फ्याँकी । सिक्री कुकुरको पुच्छरमा बेरिएर अल्झियो कुकुर तर्सेर भाग्यो । दौडधूप गर्न मलाई मनाही गरेको थियो डाक्टरले । श्रीमती दौडिई त्यसको पछिपछि कुकुर डराएर झन् झन् टाढा गयो, देख्दा देख्दै झाडीमा पस्यो पसिहाल्यो । हारथाक चित्त दुखाएर फकिई श्रीमती । उसका रसाएका रसिला आँखामा हेरेर मैले मनमनै सोधें, ‘म के गरुँ अर्को मृगौला पनि बेचिदिउँ ?’ उसले मलाई निकैबेर हेरी अनि डाँको छोडेर अँगालोमा कसी ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.