~महेश शाह~
महान आत्माहरु!
क्षितिज पारिको दुनियाबाट
आँखा चिम्लेर त हेर
दुखी छौ हामी ,दुखी छन तिनी
दुखी छन आज , सारा नेपाली
नेपालदेखि बङ्लादेश मौन छन्
यिन्नै तितो याद सँगाली
छड्के नजरले पनि त हेर
मैनबत्तिहरु तिम्रो यादमा
ज्युदो जलेका मात्र हैनन
आँशु बगाएर सित्तैमा
गलेका मात्र हैनन
आमाबुबाका आशास्तभ
ढलेका मात्र हैनन
सँधै टिलपिल गरि चम्किरहने
ताराहरु आज चम्किन छाडेका छन्
कतै ताराहरु बिच तिमिहरु उभेर त हैन?
बगैंचामा हरपल मुस्कुराउने
फूलहरु आज मुस्कुराउन छाडेका छन्
कतै पत्रपत्रमा तिमिहरुको अनुहार नदेखेर त हैन ?
गाएर कहिल्यै नथाक्ने
चरचुरुङी गाउन छाडेका छन्
कतै तिमीहरुको ध्वनि नसुनेर त हैन?
सबै तिमीहरुको तस्बिर अगाडि
सम्झना र यादहरु गोडेका छन्
के साच्चै हामीमाझ रहेनौ अब?
हे ईश्वर , हे प्रकृति
यो कस्तो खेल खेल्यौ तिमी ?
किन अगाडि बढ्न लाएर
आफै पछि धकेल्यौ तिमी ?
तिमी नै भन ,
कुन पन्डोरा बाकसभित्र लुकाउ
तिनका झझल्कित तश्बिरहरु ?
कुन कोठामा कैद गरिदिउ
“मलाई फेरि लाउने छन् ” भन्दै
कुरेका सेता एप्रोनका पिडाहरु ?
कुन ठाउँमा गाडिदिउ ,?
या कुन चितामा जलाईदिउ ?
बर्सौबर्सका परिश्रमहरु ?
जवाफ देउ न,
कस्को मुख हेरेर बस्नेछन ?
आँखाका मोती गुमाएका आमाबुबाहरु ?
किन उडाई लग्यौ पलभरमै
भर्खर उड्न सिकेका सिमलका भुवाहरु ?
हे समय
तिमी निश्ठुरी छौ
त्यो थाहा थियो
तर यति सम्म
म सोच्न सक्दिन
तर खुसी नहोउ
तिनीहरु मरेका छैनन्
अझै ज्युँदै छन
र सँधै ज्युँदै रहनेछन
हाम्रा स्मृतिका पानाहरुमा
सधै चम्किदै रहनेछन ?
मनमन्दिरका सेता छानाहरुमा
हे महान आत्माहरु
तिमीहरु सम्झनाको बगैंचाका फूल भयौ
स्वीकार गर ,तैपनी ,पुष्प एक अञ्जुली
दिन त सकिनौ पहिल्यै केही ,भुल भयो
स्वीकार गर आज , “हार्दिक श्रद्धाञ्जली ”
बङ्ला विमान दुर्घटनामा ज्यान गुमाउने श्रेधेय बरिस्ठ neurosurgeon डाक्टर बाल कृष्ण थापा र अन्य सबै डाक्टर मित्रहरुप्रति समर्पित ……..
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )