नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~

बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको सरसताले जागे पनि बेपत्तिएको मान्छे, … । एकछिन स्तब्ध भयो शक्ति-सञ्चार । अनेक बोझले थिचियो पद-पाइलो । चोटै-चोटले थिल्थिलियो मन-मथिङ्गल ।

खोला किनारको बेँसीमा सरिसकेको धानका गाँज देख्दा बल्ल खप्तड उक्लन कस्सिएका पयरमा दरिलो उर्जा थपियो । त्यो उर्जा एकछिन मनमा तरङ्गियो र विद्युत गतिमा दगुर्‍यो शरीरभर । उर्जाशील स्पर्शले मोहित हुँदै जीवनको लयमा बग्न थालेँ म पनि । सोचेँ, कठीन मोडमा सुस्तिएको मान्छे जीवन दौडमा सामेल भएपछि छिटै वेगवान हुँदोरहेछ ।

जडारीगाडको किनारैकिनार कुदिरहेछौँ हामी । भक्तराज जोशी, पूर्ण जेठारा, जयन्ती जोशी र डम्बरध्वज अवस्थी छन् सहयात्री ।

ट्रयाक खोलिएको बाटो मर्मत र विस्तार थाल्दा थन्किएका छन् जिपहरू । डोजरले भत्काइरहेको भित्तो हेरेर ‘बन्दै छ’ भन्ने विश्वासले रमाउँछु म । बनाएरभन्दा भत्काएर फाइदा लिन उद्दत हुनेहरूलाई सम्झदा भने नरमाइलो भरिन्छ मनमा ।

डोर्‍याउँदै ल्याइएकी बूढीआमै भेटिइन् बाटामा । मर्ने बेलामै भए पनि नेपालीत्वको प्रमाणपत्र पाएर औधि खुसी थिइन् उनी । उनको खुसीमा साथ दिइरहेथे उनका सन्ततिहरू । मेरो मन भने अनेक तर्कनामा हराइरहेथ्यो । खुसी भएकाहरूको जमातमा पनि पद्दति खोजेर बेचैन थियो मेरो मन ।

डाँडाखेतको माछा र चाउचाउले दिएको शक्तिका भरमा एउटा पाखो उक्लेर छान्ना गढी पुग्यौँ हामी ।

‘आज उकालो सक्यो, अब पाल्लै पाल्लो’ भक्तले थकित हामीतिर फर्केर सान्त्वना सुसेले ।

तेर्‍पाएँ लाग्नु पहिले डाँडामुन्तिरको विद्यालयछेउका एकजनालाई सोधे उनले, ‘पानी आछी’ अनि पहाडी चिसो पानीले भोक र थकान मेटयौँ हामीले ।

भक्तले चिनाए सेरोफेरो- लामातोला, कालुखेती, माझीगाउँ, खापरमाण्डु, गढीगाउँ, लोखडा, … ।

बादलको छहारीमुन्तिर हरिया थुम्क्याइला पहाडहरू उन्मुक्त हाँसिरहेथे । पहाडी बस्तीमा शितल छायाँ झार्दै विनायक लेक र खप्तड लेक प्रीत गाँसिरहेथे । देखिए- लेकमुन्तिर गमक्क बसेका गाउँबस्ती र त्यसकै फेदीमा भर्खरै रोपाइँ हुँदै गरेको दियालीगाड बेँसीका तरेली खेतहरू । बर्षात्‍को सञ्जिवनी पाएर वैँशालु बनिरहेथ्यो प्रकृति । खप्तड पुग्ने बाटो भने लेकमुन्तिर उकालोको कुहिरोभित्र हराइरहेथ्यो । सोचेथेँ, त्यही कुहिरे पर्दाभित्र भेटिएला, धर्तीको सप्पै सुन्दरता । अनि उचालिएका भृकुटी र चञ्चल नयन सुम्सुम्याउँदै भनेथेँ मैले- अद्वितीय रहेछ खप्तडी काख, झन् कस्तो होला खप्तड । पुग्नुभन्दा पहिल्यै खप्तड चाहर्न अधीर मनलाई सम्झाएथेँ- पुगिहालिन्छ नि भोलि ।

अर्कोदिन गढीगाउँबाट लागियो उकालो । नौमूल धाराबाट निसृतः छडिभेलगाडको पानीको कलकलाहट र लेकाली चिसो स्पर्शले लेक उक्लन लागेका हामीलाई मोहित बनायो ।

लेकमा अझै फलिरहेथ्यो काफल लटरम्म । चुत्रोजस्तो फल अञ्जलिभर टिप्छे बिन्दू । निकै रसिलो रहेछ त्रिखुडी । जाडेपानीको उकालोमा बिन्दूले भाँची सिस्नो काँकडी । उसले फेरि बटुली कन्थफलु । प्रकृति जति स्वच्छ छ उति नै निष्पक्ष र दानी पनि ।

न्याउलीको विरही धुन गुञ्जिरहेछ पाखैभर । म अचम्मित हुन्छु, यति रसिलो लेकमा पनि न्याउली किन विरह उरालेकी होली । मन बुझाउँछु- न्याउली खुसी हुँदा पोख्दी हो विरह ।

‘अगाडि हट्नेलाई भेट्दाइन जुकाले ।’ लेकाली जुकाको लस्काइ हामीतिरै बढ्न थाल्दा भक्तले सुनाए । शायद उनले छिटो हिँड्ने इशारा गर्दै थिए ।

‘जुकाले चाल र गन्न थाहा पाएकै हुँनैन, अगाडि हट्ने पर पुग्छ !’ बिन्दू थप्छे । उसको तर्कमा गजब दम छ, वाचाल बाबुकी चलाख छोरी ऊ ।

‘जुकाले पुरानो रगत लिएर नयाँ रगत दिन्छ रे नि त ।’ पछौटे हुनुपर्दाको पीडा लुकाउन खोज्छु म ।

‘कति दिनदेखिका भोकाएका जुकालाई रक्तदान गर्दा धर्म पनि मिल्ला नि ।’ डम्बरले पछयौटे समूहको समर्थन गर्न खोज्छन् ।

टिपेर फाल्न नसकिनेगरी जुका लागेपछि भक्तले सबैलाई बाँड्छन् नुन-ढिका । नुन दल्दा जुका हुन्छ फत्रक्क । अनि खुसी बाँड्छन्- ‘खप्तडमा जुका लाग्दाइनन् ।’

गोठका लागि अन्नपात लिन र घीउ, दूध घर छोड्न कुरुम्तै भारी बोकर खालि खुट्टै झरेका बूढाबा भेटिए ।

‘धिनालो भए खीर खाउँला भन्या !’ भक्तले बूढाबाको प्रतिक्रिया चाहे ।

‘हुन्छ, म नफर्किए छोरो छ ।’, बूढाबा ओरालो झरे ।

‘दुई गोठौ दूध भए पुगिजाला ।’, भक्त हामीतिर फर्किए ।

हिँड्नसके छेडीपाटनको सैनिक गुल्मनेर पुग्ने र नसके वल्तिरैको खर्कको गोठमा बस्ने योजना सुनाएका थिए भक्तले हामीलाई । गोठ बस्न परे खीर खान चामल र चिनी झोलामा बोकेका रहेछन् उनले ।

अलिमास्तिर पुगेपछि बाबुछोरीले निकै उत्साहित हुँदै देखाए तुनाकोटको आफ्नो आलुबारी । उनीहरूको पसिना-प्रेमले द्रविभूत हुन्छु म ।

केही गोठहरू देखिए । एउटा गोठका बूढाबाले खुवाए मिठो मोही । गोठलाई ‘छाना’ र मोहीलाई ‘छाइँ’ भन्छन् भक्त । अनि लेकमा चाहिन्छ भन्दै रहरलाग्दा खुर्सानी टिपेर झोलामा हाल्छन् ।

अँध्यारियो क्षितिज अनि पर्न थाल्यो सिमसिमे पानी । कुहिरो छरिनाले आफू वरपर मात्र देखिएको छ बाटो । देखिँदैन अगाडि पुगेको वा पछाडि छोडिएको साथी । ‘हरिया पहाडको फरिया’ म कुहिरोलाई रोमाञ्चक कालिगढी मानेर मन बहलाउने प्रयत्न गर्छु । हिँड्न नसकेका हामीलाई पखैँदै हिँड्छन् भक्त । स-साना बालकलाई झैँ सान्त्वना दिन्छन्, ‘नापै माथि पुगे पाल्लो आइगो ।’

‘हामी पुग्दा खुल्ला नि खप्तड ।’ मैले उनलाई झिज्याइरहन्छु ।

पानी पर्न पनि छोडेन । उकालो पनि कहिल्यै सकिएन । घरिघरि तेर्पाएँ भए पनि फेरि ठडिइहाल्छ उकालो । पसिनाले निथु्रक्क भएको शरीर फत्रक्क गलिरहेछ । पाइलो पटक्कै चल्दैन । बेहालै भयो । सबैका मुखमण्डलमा एउटै त्रास थियो- ‘बास भेट्न नसकेर विचल्ली पो परिन्छ कि ?’

अप्ठेराहरू मुटुको खोपिल्टोमा पुरेर उक्लिरहँदा देखियो जिन्दगीको भञ्ज्याङ वल्तिरको पाखो । यो त यति कठिन भइरहेछ । भञ्ज्याङ पल्तिरको दाह्रे उकालो झन् कसरी उक्लने होला ? भुत्ते हुँदै गइरहेको बलबुता र उल्टो भइरहने परिस्थितिका पहाडहरू देखेर झन् गल्नथाल्छु म ।

मनको चङ्गा उड्दै बाहुलीगाड र सेती किनारमा बेचैन लडिरहेको चैनपुर पुग्यो । त्यहाँ भेटिए- सुनील खनाल, आत्माराम सत्याल, सूर्यप्रसाद गौतम, अच्युत अर्याल र महेश मल्ल । मालुमेला जालेबगरमा सडक विच्छेद गर्दै झरेको पहिरो पैदलै पार गर्‍यो । खोड्पे, स्याउले, भासुको भीर र सहजपुर सहजै छिचोल्यो । बुडीतोलामा बिग्रेको गाडीबाट ओर्लेर एकछिन सुस्तायो । अत्तेरिया, चिसापानी, भुरीगाउँ, नेपालगञ्ज हुँदै गुलरिया ओर्लियो । धधबारको नयाँ पुलछेउ पुगेर सुस्वादु भोज गर्‍यो- शिवराम भट्टराई, बुद्ध पौडेल र बैकुण्ठ अर्यालसँग । कृष्णसारका बथान हेर्दै खैरापुरका सियाँलहरू डुल्यो छत्रभुषण तिमल्सिनासँग । अनि प्लेन चढेर काठमाडौँ पुग्यो ।

हँ, के भयो यस्तो, म आश्चर्यचकित भएँ ।

भोक, प्यास, थकान सहन नसकेर आएकै बाटो फर्किन लाग्यो मन । स्वाभाविक उद्वेगसँग रमाउँदै त्यसलाई फेरि यात्रामै फर्काउन चाहन्थेँ म । मनको कुरा बुझेझैँ त्यतिबेलै भक्तले उपाय निकाले, एकठाउँमा पटयाइँ मारौँ र फाँको खाऊ।’

शरीर लतार्दै धेरैबेर हिँडेपछि सबै ओतिन मिल्ने एउटा ओडार भेटियो । पसिना र पानीले भिजेको चिसो लुगा फुकालियो । रोटी, अचार र पानी खाइयो । लेकमा पिरो खानुपर्छ भन्दै एकेक ढिँडी खुर्सानी टोकियो । बल्ल शक्ति भरियो शरीरमा ।

ठाडो उकालो सकिए पनि साह्रै मुस्किल भइरहेछ हिँड्न । गह्रौँ झोला बोकेका बाबुछोरी भने अघिअघि छन् ।

भक्त भन्छन् ‘पाल्लै छ छाँटा हट’ तर चल्दैनन् पटक्क मेरा पाइला ।

‘दिनबैँसमा हिँडिएथ्यो धेरै लेकाली उकालो । शायद त्यतिबेलाको बाँकी बक्यौता होला यो ।’ सुरुमा चङ्गिएर साथ लागे पनि अहिले उकालो चढ्न कठिन भएको छ डम्बरलाई पनि ।

बँदेलले जोतेको पाखो देखियो । बिस्तारै हिँड्ने बहाना बनाउँदै मैले ठट्टा गरेँ, खनजोत भइसकेछ, कसले गर्ला यहाँ खेती ।’

‘खप्तडी प्रकृति आफै खेतीपाती हद्दो । भदौमा खप्तड आया भए देख्नेछिया ।’

खप्तडका कुनाकाप्चा जानेका सहयात्रीको जवाफले मुग्ध भएँ । हावा, पानी, चराका गीत र दृश्यले मोहित भएँ । लोकताका बारी देखेर चकित भएँ । देवदार र खर्सु फेदमा उभिन पाउँदा अचम्मित भएँ । ती एमानका रुखहरू नै खप्तड भूमिका रक्षक भएझैँ लाग्यो मलाई ।

खडुली दुदुली माताको मन्दिरमा पुग्दा झन् दर्किरहेथ्यो पानी । कुहिरोको सफेद पर्दामाथि असंख्य पर्दा थपिइरहेथे । कुहिरोको ओस छिर्छ आँखा, नाक, कान शिताम्मे पार्दै । तर, त्यसले छुन सक्दैन पसिनाले निथ्रुक्क भिजेको शरीरलाई ।

सम्बत् २०७३ सालको जेठको उत्तरार्ध भए पनि मध्यबर्खा उर्लिरहेथ्यो त्यस क्षेत्रमा ।

पपल्क्या पाटनमा घाँडो बजाउँदै चरिरहेथे गाईवस्तु । गाईवस्तुले कुल्चेको हिले बाटोमा चिप्लिँदै अगाडि बढ्दै थियौँ हामी । फूलिरहेथे राता र पहेँला फूलहरू । सानो खोलो कुलकुलाउँदै बगिरहेथ्यो । लागिरहेथ्यो, संसारको स्वर्गभूमि ओर्लियो आफ्नै छेउमा । पानीको सरस संगीत सुन्दै मन धोइपखाली सफा र हलुका बनाएँ मैले । विस्तारित आँखामा अटाउन खोजेँ त्यो सप्पै सुन्दरता । मनमा ओर्लियो संसारको सप्पै उन्माद, सन्तुष्टि र खुसी ।

हिउँदमा हिउँले सफा गरेको जमिनमा वर्षात्‍मा अनेक घाँस र फूल उमार्छ खप्तडी प्रकृति । वर्षात्‍मा उम्रेका फूलपात हिउँमुन्तिर जतनसाथ साँच्दछ त्यसले । बर्खामा कुहिरोको च्यादर ओढिरहने खप्तड हिउँदमा हिउँको सिरक डसनामा आनन्दले सुत्दो हो । सेताकाँडे फूल हेर्दै मनमा फुलाउँछु श्वेत खप्तड । मैले टेकिरहेको हरित खप्तड भने मेरै वरपर थियो । त्यहाँ थिए सहश्र फूल र घाँसपातका असंख्य पत्रैपत्र । म चकित छु, खप्तडी जमिनको ओस, उर्वरा र पवित्रता देखेर ।

ढुङ्गेनी बाटो पछयाउँदै बढियो अघि । आइपुग्यो माझपाटन । रुझीरुझी लगनसाथ चरिरहेथे गाईवस्तु । निकै मिठो र पोसिलो होला घाँसपात । स्वच्छन्द चरिरहेका गाईवस्तु देख्दा लाग्थ्यो, यी जीवजन्तुलाई देखेर हिंस्रक जनावर पनि शाकाहारी भइसके होलान् ।

भक्तले चिनाए- खप्तडी हजारी फूल । पहेँलो फूललाई भनिदिए- खप्तडी सारङ्गी फूल । उनले हरेक चिजमा खप्तडी जोड्छन् । उनको बोलीमा त्यति नै जादू छ जति मनमोहक खप्तडी प्रकृतिमा ।

धर्मशाला दोभानमा काठको फल्याक हालेको खोलो तरेर अर्को पाटनतिर छिरियो । जम्काभेट भयो मरेको घोडासँग । त्यसको शरीरबाट निस्किरहेथे औँसाहा र किराहरू हृवारहृवार्ती । हावामा कोच्चिएको थियो दुर्गन्ध । स्तब्ध भएँ म ! सहन सकेन मनमथिङ्गलले । खप्तडको सम्पन्न धरामा यो के बिजोग भएको ?

गोठहरू देखिए । हाम्रो आजको बास यहीँ हुने भयो । हिलो, चिस्यान र थकानबाट चाहिएको थियो उन्मुक्ति ।

भक्तका गोत्रीय दाजु भेटिए । झुत्रे लुगाले नै बताइरहेथ्यो उनको गरिबी र बाध्यता । आइरहेथ्यो अनौठो गन्ध । मैले त्यसलाई गरिबीको वास्तविक सूचक ठानेँ ।

गोठमा एउटा बोक्राको ओच्छयान छ । बीचमा मुढो जोतिएको छ । अर्कोपटि्ट छ दाउरा राख्ने सानो ठाउँ । बार पल्लोपटि्ट छ भैँसीको चुहुने छाप्रो । यस्तै छ छेउको अर्को गोठ पनि । एउटा गोठालालाई ठिक्क हुने ठाउँमा कसरी बस्ने होला यतिका मान्छे । हामी त एकदिन आगो तापेर पनि बस्न सकिएला । तर, यी बिचरा गोठालाहरू पुस्तौँदेखि यसरी नै बसिरहेछन् । निर्वाहलाई समाधान ठानेर बिताइरहेछन् जिन्दगी ।

गरिबी न्यूनीकरणमा लागिरहेछु भन्ने विज्ञ भनाउँदाहरूलाई सम्झेँ । ठोस आधारसमेत नबनाई मिथ्याङ्कका भरमा जे मन लाग्छ त्यही गर्न खोज्नेप्रति खुसी भएन मन । तिनको अहम्‌को विज्ञता, तिनको स्वार्थको विज्ञता, तिनको सुविधाको विज्ञता सम्झेर हाँसो उठ्न थाल्यो । हाँसोलाई क्षणभरमा निल्यो एउटा मर्मान्त वेदनाले । धनीहरू गरिबको सूचीमा गणना हुने र वास्तविक गरिबहरूको पहिचानै नभएको देखेर पोलिरहृयो अन्तरहृदय । झन् पोलिरहृयो- मर्माहत हुनुपर्नेलाई उत्पातै खुसी देखेर ।

भिज्दै आएकोले चिया खान मन थियो । चिनी भक्तले ल्याएका थिए तर चियापत्ति ल्याउन बिर्सिएछ । चौहत्तरवर्षे बूढाबाले उपाय निकाले । पकाए गन्यालो र मेथि हालेको चिया । कसैले थालमा, कसैले कचौरामा त कसैले अम्खोरामा समेत खाइयो चिया । जेमा खाए पनि बेजोड थियो त्यसको स्वाद ।

पीरो चाउचाउ र खीर खाइयो अनि आधारातसम्म आगो तापेर बसियो । निद्राले लल्याकलुलुक पारेपछि सुतियो लगाएको लुगैसित ।

बिहानीसँग हाँस्यो खप्तडको उज्यालो घाम र खुलेको मौसम जसरी खित्खिताएर हाँसिरहेथ्यो गोठको गरिबी । त्यसको पर्वाह नगरी गौरीशंकर पस्कन्छन् रोटी, अचार र कलु-कडी । खप्तडी स्वाद लिएर हाम्रो यात्रा फेरि रमायो निरन्तरतासँग ।

बुड्न्यापाटन पार गरेपछि उक्लियो जरैजराको उकालो । व्यवधान भएर पसारिए ढलेका रुखहरू । तिनलाई फड्कँदै हिँड्छौँ हामी । आफैसँग सोध्छु, यी लेकाली मान्छेको मेहनतले कहिले पहिल्याउँला समाधान ?

गौरीशंकरसमेत छन् आज हामीसँग । गन्यालो पाइन्छ कि भनेर हेर्छन् यताउता । उनी भन्छन्, ‘खप्तडमा पाँचऔले, निरमसी, सतुवा जसा जडिबुटी टन्नै पाइने भए पनि ल्याउन पाइनैन ।’

अनि कलु काँचै खान्छन् गौरीशंकरले । निगालोको टुसालाई भनिँदोरहेछ कलु । भर्खरै एसएलसी पास गरेको उसको किशोर सपना सुनेर हर्षित् भए पनि उसको विपन्नता चसक्क बिझिरहेछ मेरो मुटुमा । धेरै उधिन्न चाहन्न म उसको गरिबी । मलाई लाग्छ, अँध्यारोभित्रको उज्यालो गोरेटो अवश्य खोज्नेछ यो नवयुवाले ।

बाटोमा देखिन्छन् गोठालाहरू । तिनीहरूको आवाज, रुप, गन्ध, हेराइ पहिचान्न सक्ने भएको छु म पनि । भक्तले हामीलाई चिनाउन खोज्छन् । उनीहरू टाढिन खोज्छन् । लाग्छ, तिनीहरूको आँखामा सहरियाहरूप्रति युगौँदेखिको शंका छ । म भक्कानिएको मन लिएर विदा भएथेँ तिनीहरूबाट ।

वनभित्र बजिरहेछ घाँडो । गाईवस्तु कतै चरिरहेछन्, कतै उग्राइरहेछन् । विस्तारै पाइला चाल्दा पनि मेरो फोक्सो भने धप्किरहेको छ ।

बिन्दूले अंगालाभर फूल टिप्छे । गौरीशंकर खिच्छ । दुबै मतिर फर्कन्छन् र मुस्कुराउँछन् । उनीहरूको मुहारमा पोतिएको छ खप्तडी सयपत्रीको हाँसो ।

पाटनमा पोखिएको घामको उज्यालो र हावामा हल्लिएको फूलको रमाइलो कुदिरहेछ मनभरि । त्यसको उत्तेजनाले म झन् तानिइरहेछु खप्तडी प्रकृतितिरै ।

विशाल पाटनमा मान्छेको पातलो उपस्थिति देखेर अचम्मित हुन्छु । सोच्छु, खप्तडमा कस्तो हुँदोहो हिउँद- तब, भयानक निर्जनता ओर्लिन्छ छातीमा । एकदुर्इ दिनदेखि आफन्तहरूसँग सम्पर्क विच्छेद भएको मुटुमा उर्लन थाल्छन् अनेक छालहरू ।

घाम छहलियो तब मसिना चरीहरूको सुरिलो चिरबिर सुनियो । पानी नपर्नाले सबैकुरा मज्जाले हेर्दै रमाउँदै हिँडिरहेथ्यौँ । आकास धुम्मिएर पानी पर्न बेरै हुँदैन भन्दै थिए सहयात्रीहरू । मनमा डर र खुसी एकैपटक उदाइरहेथ्यो- हामी डुलञ्जरी नपरे हुन्थ्यो खप्तडमा पानी ।

फुर्केपाटनमा अलि बढी नै फुलिरहेथ्यो फूल । कतै डालो घोप्टयाएझैँ त कतै रेखी हालेझैँ थिए रङ्गीन फूलहरू । ज्यान फालेर त्यतै दौडेँ म । हिलोमा गाडिए खुट्टा । खुट्टा झिक्दा हिलोमै छोडिए जुत्ता । जुत्ता हातमा लिएर लौराको सहाराले निस्कदै थिएँ भक्त कराए, ‘दलदल हुनसक्छ, होशियार भएर निस्कनुस् । उनले लौराले घोचेर थलथले जमिन देखाए ।

हिजो राती जोडले दुखेको टाउको हल्का भयो बल्ल । अनुमान गरेँ- पानीमा भिजेर वा लेक लागेर नभई रातभर मुढाको धुवाँले दुखेकोरहेछ टाउको ।

‘नागढुङ्गा छाड्ने भयौँ, घोडा दाउने पाटनतिर जान लाग्यौँ’, भक्त बोले ।

‘जहाँ पुग्यो, त्यहीँ राम्रो छ खप्तड, जता घुमाए पनि घुमाउनुहोस् ।’ मैले भनेँ ।

घोडा दाउने पाटनका हरिया थुम्का देखिए । थुम्काका बीचमा हरिया चौर देखिए । टाउको नउठाई चरिरहेका घोडाहरू देखिए । ती घोडाहरू देखेर मनमनै भनेँ, मैले त भोक केटाकेटीमै छोडेर आएँछु । देखेजति सकेजति आफूले मात्र खानुपर्नेहरू थिएनन् त्यहाँ ।

हुन त, त्यहाँ खाएर नसकिने घाँसपात छ । जति घुमेर नसकिने प्रकृति छ । शायद यहाँका हरेक जनावर भन्दा हुन्- सबैले खाउँ सबैले गरौँ सुख सयल वा मोज । सोचेँ, सम्पन्नतामा आफै हट्दोरहेछ दुर्व्यवहार ।

खप्तडी पाटनका सबचिज अद्वितीय- पाटनका फूल, पाटनका घाँसपात, पाटनका गाईवस्तु, पाटनको जमिन । सबैचिज ओजिलो- पाटनको सुन्दरता, पाटनको शितलता, पाटनको विशालता । पाटनलाई स्पर्श गर्ने वनेली क्षितिज उस्तै । पाटनको निर्मल आकास त्यस्तै । पाटनमा सुन्दरता पोख्छ घाम । पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।

घोडा दाउने पाटनमा मन पनि सजिलै दाउन सकिँदोरहेछ । मनको दौड, मनको वहाव, मनको उडान, मनको कामना सप्पै रोकिएको छ अहिले । मखमली पाटनका घोडामाथि सवार भएर मनले गरिरहेछ सुखानुभूति । अनि आनन्दले मखमली चौरमा सुतेँ म पनि । कुलकुलाइरहेको सङ्लो पानी पिएँ । र, धेरैबेरसम्म पिइरहेँ मोहक दृश्यहरू ।

‘जेठी बहुरानी र र्‍याइँर्‍याइँ घट्ट छयाँइ छयाँइ पानी छाड्यौँ’ भन्न थाले भक्त । कुनै ठाउँ हेर्न छुट्छ कि भन्ने चिन्ता हामीलाई भन्दा उनलाई बढी छ ।

‘केही छोडिएको छैन, सिङ्गो खप्तड समाहित भइरहेछ मानसभूमिमा’, मैले मनमनै भनेँ ।

खप्तड बाबाको कुटीमा पुगियो ।

कुटीको सुरक्षार्थ खटिएका सैनिकले खोलिदिए कोठाहरू । आफ्नाले छोडेको टुहुरोसरि देखिए कोठाका हरेकचिज । शयनकक्ष, गीतार, लुगाफाटो, खराउलगायत खप्तड बाबाका व्यक्तिगत प्रयोगका सामग्रीहरू, बाबाले लेखेका पुस्तकहरू, औषधि आदि देखेर झन् विरक्तियो मन । ‘खप्तडबाबा डाक्टरी जिन्दगीबाट विरक्तिएर यई एकान्त ठाउँमा आयाका हुन् हरे’ भन्ने घोडा दाउने पाटनमा भेटिएको गोठालोको कथनले समेत छोइरहेथ्यो त्यतिबेला । तपस्वी पुरुषको सान्निध्यमा रहेर दीक्षा लिएझैँ बुझाएँ चित्त- ‘मानव व्यवहार विचारकै ध्रुवमा घुम्ने हुँदा असल विचार लिनुपर्छ र, सत्कर्मले जिउनुपर्छ जिन्दगी ।’

तर, सत्कर्म कुन हो ? र कुकर्म कुन हो ? आजसम्म राम्ररी छुटयाउन सकेको छैन मैले ।

अगाडि बारीमा झाङ्गिँदै थियो खप्तडी साग । स्याउका राता चिचिलामा भरिँदै थियो पोस । कुटीको अगाडि कोरिएको थियो हेलीरेखा । कुटी पछाडिबाट सैपाल हिमाल देखिन्छ भन्दै थिए सहयात्री । ती सबथोकबाट विरक्तिएझैँ भएँ । शायद त्यसक्षण खप्तड बाबालाई श्रद्धाञ्जली चढाइरहेथ्यो मनले ।

‘विचार विज्ञान’को उत्पत्ति थलोमा उभिँदा जन्मेथ्यो एउटा विचार- प्राकृतिक सौन्दर्य चेत र मानवीय एवं धार्मिक विश्वासको आडमा झन् सुन्दर बनेको रहेछ खप्तड ।

करिब आधा घण्टामा छेडीपाटन पुगियो ।

अलिठूलो खोलो बहिरहेथ्यो हुन्हुनाउँदै । चौर, थुम्का र जंगल एउटै मालामा उनेर उन्मुक्त हाँसो हाँसिरहेथ्यो प्रकृति । सुवास बोकेको बतासले बोकेर ल्यायो जागृतिको लहर । मनका फाँटमा हर्षासुको सिञ्चन भयो । मनले सजाउन थाल्यो अद्वितीय सुन्दरता । सुन्दर प्रकृतिको अर्को अनुपम रुप देखियो आफैभित्र ।

प्राकृतिक सुन्दरतामा थपिए मानव निर्मित संरचनाहरू । सैनिक गुल्म, पर्यटन कार्यालय, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय रहेछन् त्यहाँ ।

त्रिवेणीतिर लागियो खोलो पछ्याउँदै ।

चाल्नेबाडोपाटनमा भेटिए केही गोठालाहरू । एमानको ढुङ्गोलाई भीमढुङ्गो भनिदिए उनीहरूले । बझाङी राजाले बनाएको दरबार देखाइदिए अलिमास्तिर । आँखामा लुकेका दृश्यहरू छताछुल्ल पोखिँदै थिए पाटनहरूमा ।

केदार ढुङ्गा, दसहरा मेला लाग्ने चौर र त्रिवेणी आइपुगे । त्रिवेणीका मन्दिर र खोलाहरूसँग रमायौँ केहीबेर । जुत्ता खोलेर खोलामा पस्यौँ । मन्दिरमा पुजा गर्‍यौँ । चर्को घाम लागिरहे पनि चिसो छ हावा र चिसै छ पानी । पाखोमा स्थापित एउटा शिवलिङ्गबाट खसिरहेथ्यो जलधारा । त्यसभित्र एउटा खोला बगिरहेछ भन्दै हामीले थाहा नपाएको एउटा पक्ष छर्लङ्ग पारिदिए भक्तले । उनले ज्ञानको दोभानलाई त्रिवेणीमा बदलिदिए ।

‘रात त्रिवेणीमा सुत्यौँ र त्यहाँ चर्न लागेका घोडा ल्याएर छकालै फक्यौँ ।’ अस्ति भर्खरै लागेको दसहरा मेलाबाट फर्कँदाको अनुभव सुनाउँछन् गौरीशंकर ।

चौरमा पल्टिएको त चाट्न आइपुगे गाईहरू । जुका लाग्दा दल्न राखेको गोजीको नुन चटाइदिएँ । झन् पछ्याउन थाले । सोचेँ, खोजेको स्वाद जस्तो मिठोकुरा अरु के हुनसक्ला यो दुनियाँमा ?

आएकै बाटो छेडिपाटन फर्केर लाग्यौँ खप्तड तालतर्फ। वरपरका जिल्लाका मान्छेको गरिबीले निकुञ्ज खुला गरिएको हो भन्ने गुल्मपतिको भनाइ मनमा ठाक्किइरहेछ पाइलैपिच्छे ।

‘मान्छेलाई बाटो लगाउन्या अगाडिबाट’ भन्दै भक्त कुदे बेपत्तासँग । हामीले पछयाइरहृयौँ, पछयाइरहृयौँ ।

कति छिटो बिग्रियो मौसम । कुहिरोको पर्दा ढेपिँदा चिसो खस्यो हामीमाथि । कुहिरोले दृश्यहरू लुकाउँछ पछ्यौरीमा र पुछपाछ पारेर एकछिनपछि निकाल्छ दुरुस्तै । यी हरिया पहाड कुहिरे पछ्यौरीको स्याहार पाएर यति सुन्दर भएका रहेछन्, म पुलकित हुन्छु ।

एउटा दोबाटोमा पुगियो । लेखिएको छ- एकातिर पन्ध्र मिनटमा खप्तड पाटन र अर्कोतिर बीस मिनटमा खप्तड दह । हामी ओरालियौँ खप्तड दहतिर ।

बास बस्न लागेको एउटा तामेढुकुरको जोडीले पखेँटा फटफटायो । लेकाली चकमन्नता चिर्दै चरीले अनौठो स्वर निकाल्यो । आइलाग्ला जसरी हेर्दै ढेडु अर्को रुखमा हाम्फाल्यो । ओराली लागेको मृगजसरी स-साना घटनाबाट समेत खेदिइरहेथ्यो कमजोर मन । डर त जंगली जीवजन्तुलाई पनि लाग्दो हो । असहज त तिनलाई पनि भए होला- साँझको चकमन्नतामा शान्तिको सास फेर्न नपाउँदा ।

पानी परिहाल्ने हो कि वा फर्कँदा उकालो गाह्रो हुने हो भन्दै ओरालिइरहृयौँ हामी । खप्तड ताल पुग्नै लाग्दा मोबाइलमा टावर देखियो । र, विच्छेद भएका तरङ्गहरू जोडिए आफन्तसँग एकछिनलाई ।

भक्तले बाजुरा र अछामका गाउँहरू चिनाउँदै थिए, मृगको चिच्याहट सुनियो । शायद भनिरहेथ्यो, ‘बझाङ, बाजुरा, अछाम र डोटीमा छुटयाइरहनु पर्दैन खप्तडलाई । बरु सिंगो खप्तडको संरक्षण भए सजिलो हुन्थ्यो बाँच्न सबैलाई ।’

आहा खप्तड ताल ! छयाङ्ग खुलेको आकास तालमै खसिरहेथ्यो । हरिया बोटविरुवाको छायाँ त्यसमै तैरिरहेथ्यो । पत्रपत्र सुन्दरता उर्लिरहेथ्यो छालमा । तालले भनिरहेथ्यो- हेर, मेरो छातीको दर्पण र मनमा सङ्गाल उज्यालो । तब पानीभन्दा झन् सङ्लो भयो मेरो मन । सङ्लो मनमा दगुरे खुसीका हजार तरङ्गहरू ।

पर्यटन कार्यालयको क्वाटरमा फर्कँदा रातै पर्‍यो । आजको रात खप्तड डुलेर थाक्दाको रात । लठ्ठ परिरहृयो मन- रोमाञ्चक आनन्दले । एउटा गर्वको पानो थपिएझैँ भयो, मनको डायरीमा । एउटा अद्भूत दृश्य सजियो मनको बारीमा । एउटा मनोकांक्षा सजियो मनको शिरानीमा- यो माली यसैगरी डुलिरहन सकोस् प्रकृतिको फूलबारीमा ।

अर्कोदिन गोब्रेपाटन आइपुग्यो हामीछेउ । अनि आयो एउटा पोखरी । खप्तडको भूमिमा प्रशस्त पानी हुनाले जहाँसुकै बन्न सक्दारहेछन् ताल वा पोखरी ।

ठूल्ठूला रुख भएको पाखोबाट सहश्रलिङ्गतिर जाँदै थियौँ हामी ।

चरिरहेका गाईवस्तुको घाँडोको संगीतले गुञ्जिएको छ खप्तड । देखिन्थे, पाटनमा घोडा, जंगलमा गाईवस्तु । घोडाले रित्तै बनाएको चउरमा चर्न नसकेर जंगल पसेका होलान् यी बिचरा गाईवस्तुहरू ।

बाटोभर कपास देखियो । एउटा विरुवा फुलिरहेथ्यो सेतै र छरिरहेथ्यो कपास ।

एउटा खर्कमा चरिरहेथे गाईवस्तु र छेउमै लडिरहेथ्यो हेलिप्याड । यस्ता हेलिप्याड त धेरै ठाउँमा देखिए । ती लाग्थे, गरिब गुरुवाका लागि अभेद्य लक्ष्मण रेखा । मानौँ त्यो रेखाभित्रको जमिन सहरियाहरूको मात्रै आँगन हो ।

छोप्यो कुहिरोले र दुख्यो टाउको फेरि ।

सहश्रलिङ्ग अद्भूत प्राकृतिक ढुङ्गेथान रहेछ । सहश्रलिङ्गमाथि चढेर स्मरण गरेँ मेरो आस्था, विश्वास र इमान । हरेक तीर्थस्थलमा पुग्दा र्इश्वरभन्दा पहिले यस्तै भावना तेर्सिन्छन् मेरो मनमा ।

भक्त फड्केको देखेर म पनि गएँ अर्को ठूलो ढुङ्गामा । फर्कन लाग्दा देखियो दुई ढुङ्गाबीचको दरार । मान्छे खसे पाताल पुग्ने त्यो दरार देख्दा सातै गयो मेरो त । जसोतसो थान भएको ढुङ्गामा फर्केर आएँ । र, हेरेँ सेरोफेरो । पारिपटि्ट देखिए घोडा दाउने पाटन र अन्य खप्तडी टाकुराहरू । मैले ठहर्‍याएँ, खप्तडको सबैभन्दा उँचोस्थान रहेछ सहश्रलिङ्ग ।

खप्तडका अरु रमणीय दृश्य हेर्दै डोटी निस्कने लोभले चौखुट्टेतिर नझरेर त्रिवेणीतिर लाग्यौँ हामी ।

ओर्लँदा बाटो बिराइएछ ।

खोलो खसिरहेछ झुण्डिएको अप्ठेरो भीरैभीर । खोलाको किनारमा तेर्सिएर बाटो छेकिरहेछ चिमालको झाडी । अनेक अक्करमा टेकेर, पहरे चेप समातेर, खोलाका चिप्लाढुङ्गामा अडिएर ओर्लिरहृयौँ, ओर्लिरहृयौँ । खोलो त्रिवेणीमा मिसिन्छ भन्ने अनुमानका भरमा ओर्लिरहृयौँ निरन्तर ।

बिहान छेडिपाटनबाट हामीसँगै सहश्रलिङ्ग हिँडेको एकजना मान्छे छोडियो । शायद आफ्नो साथी छुट्छ भनेर हामीलाई छोडेर कुद्यो ऊ । उसलाई पर्खँदा एकछिन अलमल भयो । जाँदै गरेका ताजा पदचाप देखिएपछि बल्ल बाटो लाग्यौँ हामी पनि । ‘म जाँदै गरेँ आउँदै गर्नुस् है’ सम्म भन्न सकेन उसले ।

खोला किनारमा दलदल पो भेटियो । भैँसीका खुरका निशान पहिल्याउँदै हिँडियो दलदलबाट जोगिन ।

भेटियो त्रिवेणी । बाटो बिरिनाले आधाघण्टा लाग्ने ठाउँ आइपुग्न दुईघण्टा लाग्यो ।

सिङ्ग्रेपाटनमा बिसाइरहेका अछामे गोठालाहरू भेटिए । तिनका मुहार, लुगा, डोको र सामलको हविगत पनि उस्तै थियो । दोब्रिएका पेट, खरानी उम्रेका ओठ,  चाउरिएका गाला र धाँजा फाटेका पयरमा सुसज्जित थिए तिनीहरू । लक्षण केरकार गर्न नपर्ने गरी तिनलाई पनि लागेको भेटियो निको नहुने गरिबीको महारोग ।

नागबेली नदी र त्यसको किनारको बाटोतिरै गुडुल्किइरहृयौँ हामी । अनेक फूल फुलेका थुम्क्याइला चौरहरूले मोहित गरिरहे । डाँडैमा उक्लेर चरिरहेका घोडाहरूले तानिरहे । थकाइलोका सुन्दर फूलहरू भएको एउटा थुम्को खिचेँ अनेक कोणबाट मैले ।

बाटो उकालिएर जंगलभित्र पस्दा अत्यास बढयो एकछिन । त्यो अत्यास छिर्‍यो मुटुभित्र । चरा नर्चिबिराएको र हावा नसिर्सिराएको जंगल भयावह लाग्यो । आँखा उचालेर आकासतिर हेरेँ । आकाससँग आलिङ्गनरत थियो जंगल । जंगलका हरित केश मुसार्दै तिनैमाथि माया बर्साइरहेथ्यो आकास । त्यो मायाले लछप्पै भिजेको देखियो धर्तीका पत्रपत्र । अनि, आकासको अनन्त माया र जंगलको शितलतामा धेरैबेरसम्म रमाएँ म पनि ।

एमानका रुखहरू नियालिरहँदा भक्तले चिनाए- भूजियार अर्थात् भोजपत्रको रुख । उहिले भोजपत्रमा अनेक लिखत लेखिन्थ्यो रे भन्ने सुने पनि आजसम्म देखेको छैन भोजपत्रे कागज । मलाई त्यस रुखका पत्र उतारेर लेख्न मन थियो समय गीत तर कुदेको समय गति पक्रन कुदिहाल्नुपर्‍यो मलाई पनि ।

ओरालो झरेपछि आइपुग्यो एउटा खोँच । २०५१ सालको हिउँदमा खप्तड जाँदै गरेका सैनिकहरू हिउँले पुरिएर मरेको ठाउँ रहेछ त्यो । अहिले एउटा पाटी ठडिएको रहेछ तिनीहरूको सम्झनामा । अनायास मुटुमाझ बज्रियो अव्यक्त चोटको पीडा । कठोर प्रकृतिसामु निरीह बन्नुपरेका बहादुरहरूलाई सम्झेँ मैले ।

बुकीदह पाटन आइपुग्यो । ‘खप्तडका ठूला बाइस पाटनमध्ये हामीले हेर्नपाउने आखिरी पाटन यई  हो’, जोशी बोले ।

दलदले बुकीदह पाटनको बीचोबीच कोरिएको थियो मुलायम बाटो । अनेक फूल फूलेर मनमोहक भएको थियो पाटन । पाटनको ताजसरि गमक्क देखिन्थ्यो हरियो जंगल । शिलत, शान्त र सुन्दररुप घोलिएको थियो पाटनभरि । मेरा प्यासी नजरले धेरैबेरसम्म गरिरहे दृश्यपान ।

‘अब म नफर्क्यापछि गोठ पुग्न कठिन हुन्या हो’ भन्दै चारदिनदेखि पथपर्दशक भएर सँगै हिँडेका भक्त विदा हुन लागे । हिँड्ने बेलामा दिशानिर्देश गरे, ‘सरासर जानुस् अर्को बाटो छैन ।’

बिरामी श्रीमती र भन्टयाङ भुन्टुङलाई घरमा छाडेर निर्वाहको जागिर खाइरहेका भक्तका धेरै आत्मकथा सुनेँ मैले यो चारदिनमा । सुनेँ, संर्घषमय जीवन भोगाइका अनेक सुस्केराहरू पनि । खप्तडका खर्कहरू धेरैपटक डुलिसकेका उनी हात भाँच्चिएर अपाङ्गमा दर्ता भएका रहेछन् । परिवार र सन्तानप्रतिको उनको समर्पणले भने हर्षित बनाइरहेथ्यो मलाई ।

भक्त छुटि्टनाले मनमा एउटा डर उम्य्रो- बाटो बिराइने हो वा कुनै खतरा आइलाग्ने हो कि ? मनमा एउटा आँधिबेहरी छिर्‍यो । मनलाई थामथुम पारेथेँ- जस्तोसुकै परिस्थितिमा पनि पहिले त मनै बलियो बनाउनुपर्छ ।

बाटो किनार ढपक्कै ढाकेको थियो नरम र गाढा हरियो उन्यूले । बार लगाएसरि ठडिएको थियो निगाली झाडी । गुराँसका अग्ला रुख देखिन्थे बाटो तलमाथि । बिनामेसो ठडिएका थिए ठूल्ठूला ढुङ्गाहरू । ती ढुङ्गाका चेपमा देखिन्थे जंगली जनावर लुक्ने जस्ता दूलाहरू । कुहिरो लागेर अँध्यारो भएको थियो दिउँसै । मन आत्तिएको थियो बिछट्टै ।

बीचपानीमा तीन-चारवटा पसल भए पनि सबै बन्द देखेर साह्रै निरास भइयो । विकल्प नसोची अगाडि बढ्दा अनायास सामना गर्नुपरेको विपरित परिस्थितिले बढी दुखित बनाउँदोरहेछ मान्छेलाई । धाराको पानी खायौँ, झोलाको बिस्कुट झिकेर चपार्यौँ र बास बस्न तयार शरीर र मन दुबैलाई सम्झाएर फेरि अगाडि बढयौँ ।

सानो उकालोमै गल्यौँ र बस्यौँ थचक्कै ।

झिक्रानाबाट चारघण्टा लगाएर आइपुगे केही युगलजोडी । एकलास वनमा मान्छे भेटिँदा जति खुसी थियौँ त्योभन्दा दोब्बर खुसीले उफ्रिएथ्यौँ । लागेथ्यो, हामी पनि पुगिने भयो करिब चारघण्टामा झिक्राना ।

बाटोमै टाँस्सिएका निगाली झाडी देख्दा डर लागिरहेथ्यो- कतै भालु वा अन्य जंगली जन्तु त निस्कन्न फुत्त ? त्यसमाथि कुहिरोले लगाएको थियो नजरबन्द ।

हृदयको ढोकामै चिहाइरहेको संकटलाई बाह्रहात पर हुत्याउन चाहन्थेँ । आँखा, कान, गोडालाई बनाउन चाहन्थेँ सचेत सिपाही । मनमनै बनाएथेँ- आइलाग्नेमाथि जाइलाग्ने रणनीति । तर, कर्कलाका डाँठ भएका थिए हातगोडा । सास बढेर खलाँती भएको थियो छाती । उडुँ कि बसुँ भएको थियो मन । पल्टनबाजी खाने सिसाका गुच्चा भएका थिए आँखा । निगालीका आँखीझ्यालबाट मृत्युदूतले चिहाइरहेझैँ लाग्यो । त्यो विवेक शून्यताको स्थितिमा असहज परिस्थित आएको भए म के गर्थेँ होला, मैलाई थाहा थिएन ।

बाटो किनारमै कलकल झरेको झरनाको पानी खायौँ र, मन माझ्यौँ त्यसको दुधिलो रङले । मन चम्किनाले निरन्तर साथ दिएको छ थाकेको शरीरले पनि । आहा, अनुकूल परिस्थितिमा हुँदोरहेछ असीम आनन्द । पहुँच र प्राप्ति सुगम हुँदा कति सुखद छ जीवन । घिस्रिघिस्री धेरैदिन लगाएर दुःखको सागर पार गरेझैँ भयो मलाई ।

अलि तल झरेपछि देखियो घाम पोखिएको गाउँ । टल्केका टीनका पाताले मनका भित्ता पनि उज्यालिए । आँतमा भरियो खुसी र साहस । लाग्यो, खुसीको अनुभूतिले मात्र पनि रमाउँदोरहेछ जीवन ।

ढपक्क फुलेका गुराँसका पोथ्रा देखिए बाटो किनारमा । झोला बिसाएर दुईचार थुङ्गा गुराँस टिपेँ मैले । ती थुङ्गाको गाढा रङले फिका बनाइदियो थकानको उदासी रङलाई । र, निर्विघ्न खुसी सञ्चार हुनपायो मनभरि ।

भित्तामा थिए घामले पाकेका एमानका ढुङ्गाहरू । कर्किएर मर्किएर जसोतसो अडिएका जस्ता लाग्ने ती ढुङ्गा देखेर भने एउटा भयले निमोठ्यो नराम्ररी- ती ढुङ्गाले थात छोडे भने कहाँ पुगिएला हामी ? सोचेँ, मान्छेले प्रकृतिको नियम मिचे प्रलय हुन्छ । आफूमाथि अतिक्रमण भए बौलाउँछ प्रकृति । यत्ति कुरा किन बुझ्दैनन्, र मनपरि गर्छन् मान्छेहरू ?

एउटा मृगले बाटो काटेर भाग्यो । पापी नजरले धेरै परसम्म पछ्याएँ मैले त्यसलाई ।

झरिरहेछौँ ओरालैओरालो । पल्लोपटि्ट सुसाइरहेछ खोलो । ओल्लो र पल्लो डाँडामा बसेर दुइटा चरीले उरालिरहेछन् विरही स्वर- उहु उहु । निर्जन जंगलमा हिँड्दा सुनिएको त्यही स्वरले समेत जगाएको छ आशा र भगाएको छ मनको डर ।

निरन्तर आरोलो ओर्लँदा कटकटी दुखिरहेछन् घुँडा । भोक र थकाइले चुर भएको छ शरीर । पसिनाले भिजेको छ लुछुप्प । एउटा अत्यासले निलेको छ खर्लप्प । हातेझोलासमेत भएको छ गह्रुङ्गो । रुञ्चे अनुहार लगाएर भए पनि उत्कट खुसी फेला पार्न घर्सिरहेथ्यौँ हामी । चित्त बुझाएथेँ- कठिन आरोलोले साहस र धैर्यताको शिक्षा दिइरहेछ ।

ओरालो ओर्लिसकेर पहाडको फेदीमा पुग्यौँ । हामी आएको बाटो सातघण्टा लाग्छ भनिए पनि तीन-चारघण्टा ढिलो भएछौँ हामी । निकुञ्जको सूचनाले भनिरहेथ्यो- मालिका हुँदै खप्तड पुग्ने अर्को बाटो झन् एकघण्टा लामो छ ।

मनले एउटा प्रश्न तेर्सायो- निर्रथक बिताएका दिनहरू बिर्सेर खप्तड डुल्दाको समय किन हिसाब गरेको ?

मैले स्वीकारेँ- जिन्दगी नै बिताउन लायक स्वर्गीय भूमि रहेछ खप्तड ।

फेदीमा भेटियो खोलो । खोलो तरेर लाग्यौँ तेर्पाएँ । केहीबेरमा आयो झिक्राना । झिक्रानाको गुल्मले नाम दर्ता गर्दै बास बस्न हतारिएका हामीलाई भन्यो- अब नजिकै आउँछ होटल ।

अलितल्तिर पुगेर होटल सोध्दा एकजना बूढीआमैले भनिन्- ‘स्कूलथि निको होटल छ । बीस-पच्चीस मिनटमा पुगिहाल्छौ ।’

भोलि सिलगढी पुग्न बाटो छोटि्टने लोभले हानियौँ हामी ।

करिब डेढघण्टामा विद्यालयनेर पुग्दा एउटा पसलमा भेटिए दम्पति । श्रीमतीले बास पाइन्छ भने पनि श्रीमानले रोटीसँगै कुरा चपाए । अनि त श्रीमतीले ठाउँ नभएको बताउँदै अगाडिपटि्टको डाँडा देखाइन्- ‘बगलेकमा राम्रो होटल छ ।’

रात परिसकेको छ । जूनको मधुरो प्रकाश छरिए पनि पारिपटि्टको त्यो डाँडा ठम्याउन कठिन भइरहेछ । धुर्मैलो आकासमुन्तिरको अँध्यारो पहाड त छिचोल्न सकिन्थ्यो तर मनै अँध्यारिएपछि सकिएन पाइला सार्न । अरु विकल्प नसोचेर मैले भनेँ, ‘जे दिनुहुन्छ त्यही खाने । जहाँ देखाउनुहुन्छ त्यहीँ पल्टिने । अब पाइला सरेनन् हाम्रा त ।’

नभन्दै त्यस्तै भयो । सिमेन्ट र दाउरा थुपारेको कोठामा एउटा गुन्द्री बिच्याइयो । खाना भने मलाई मन पर्ने रोटी, तरकारी र चिकेन बनाइदिए । दार्चुला स्थायी घर भई त्यही गाउँको विद्यालयमा अध्यापन र खिच्रिङ-मिचिङको पसल गरेका ती दम्पत्तिले आफूसँग जस्तो थियो उस्तै सत्कार गरे । हिँड्न नसकेको बेलामा बास दिएर ठूलो गुन लगाए ।

दिनभरको कुदाइले उब्जाएको थकाइलाई मुटुको सहनशील खोपीमा थन्क्याएर एकछिन सुस्ताएँ म । समयका अनेक चड्कन खाएर कठोर भएको छातीमा हुलेँ एउटा सन्तोष । मनमा उभ्याएँ एउटा विश्वास । र लिएँ, एउटा दृढ निश्वास ।

हिजोको कुस्त थकाइले सबेरै हिँड्न नसकेर सातबजे मात्र लाग्यौँ बाटो । बाटो राम्रै भए पनि छैनन् कुनै सवारी साधन । अचम्मित छु, कतिखेर छरिए होलान् मोटर साइकलका टायर-चिन्हहरू ।

सिलगढी झर्दै गरेका शिक्षक गणेश कुँवर छिटो पुग्नुछ भन्दै अघि बढे । चामल बोकेर आइरहेकी महिला र उनकी भतिजी भेटिए बगलेकको डाँडामा । एकछिन सुस्ताएर उनकै पसलमा खाइयो चिया । हिँड्ने बेलामा भनिथिन्- ‘सडक घुम्नलागे पुरानो सोझो बाटो अगाडि लाग्नु ।’

तर अघिल्लै घुम्तीमा छोडिदिएछौँ सडक । भीरमा पुगियो ।

निर्जन छ पाखो । सुनसान छ सेरोफेरो । कसैले गुहारे गर्ला भनेर करायौँ तर प्रत्युत्तरमा भीरको सन्नाटा मात्र सुसाइरहृयो । ढुङ्गे खुडि्कलाको त्यो बाटोमा धेरै समयदेखि हराएकोरहेछ मान्छेको पदचिन्ह । मैले बल्ल थाहा पाएँ, जिउँदा मान्छेको उपस्थिति नभएको हरेक ठाउँ मसानघाट जस्तो लाग्दोरहेछ ।

धन्न अलिबेरमा भेटियो मोटरबाटो ।

ठाडो ओरालो ओर्लँदा देखियो सिलगढी र दिपायल । ओरालो ओर्लेपछि आइपुगेको उडितोलाबाट तल झर्दा भेटिए एकजना शिक्षक । उनले पर्खँदै र बाटो देखाउँदै ल्याइपुर्‍याए सिलगढी । र, आफूले चिनेका होटलमा लिएर गए । थप पैसा तिर्न तयार हुँदा पनि पाइएन हिलो पखाल्ने एकबाल्टिन पानी । जलवियोजनले ग्रस्तसरि सिलगढीमा एकछिन पनि बस्न मन भएन । तल हेरेँ, दिपायल तटमा छाती फिँजाएर मस्तले बगिरहेथ्यो सेती नदी ।

शैलेश्वरी मन्दिर पुगेथ्र्यौँ । एउटा पसलमा छिरेर पानी, कोक र केरा खाएथ्यौँ । सहयोगी भावनाका विश्वकर्मा थरका शिक्षकलाई हात हल्लाथ्यौँ र झरेथ्यौँ दिपायलतिर । भोक, प्यास र थकानले नाम बिर्से पनि सम्झिरहेछु उनले लगाएको अजम्बरी गुन ।

नुहाएर खाना खानुपर्ने हाम्रो खाँचो दिपायलले पनि स्वीकार गरेन सजिलै । दुइटा होटलले त सिधै देखाइदिए सेती नदी । हुन त खप्तडमा लागेको हिलो खप्तडी जल प्रवाहित सेतीमै पखाल्नुपथ्र्यो । तर, थकित शरीर लिएर सेतीमा पुगेर फर्कने साहस भएन ।

सत्कार होटलमा नुहाएर खाना खाएपछि सेती नदीको किनारै किनार कुद्न थाल्दा विदाइको भावमा पश्चिमोत्तर आकासतर्फ आँखा उचालेँ मैले । प्रत्युत्तरमा तरेली परेका अनगिन्ति पहाडी ऋङ्खलाहरू मुस्कुराए । तिनै ऋङ्खलाबीचमा पर्दो हो खप्तड । सन्तोषको सास फेरेँ र मनमा सजिएको खप्तड नियाल्न थालेँ ।

खप्तडी प्रकृतिको मोहनीले रङ्गिएको रहेछ मनमुटु । सिङ्गो खप्तड समाहित भइसकेछ मभित्रै । भेटिए- कोमल फूल, अग्ला रुख, गलैँचे पाटन, निर्मल जल र शितल लेकाली स्पर्श । देखिए- एकतमास चरिरहेका घोडा, कुलकुलाउँदै कुदिरहेका खोला र चिरबिराउँदै उडिरहेका चराहरू । छामिए- अनगिन्ति उकाली, ओराली, तेपाएँ, भञ्ज्याङ र देउरालीहरू । छोइए- खप्तडी खर्कका झुप्रे गोठ र निर्वाह बाँचिरहेका गोठालाहरू ।

गोठालाहरू सम्झँदा भने चित्कार गर्‍यो मनले- गरिबीको रुप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ?

खप्तडको क्षितिजमा ग्रहण लागेसरि देखियो- एकधर्सो धमिलो बादल । त्यसमा चलमलाइरहेथ्यो गरिबीको घुर्मैलो छायाँ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.