~अविनाश श्रेष्ठ~
आङ्निमा जब तान छुन्छे
सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे
आङ ढाक्ने थोरै कपास बुन्छे ।
अनि आकाश बुन्छे, बतास बुन्छे
जून बुन्छे, घाम बुन्छे
अलिकति देशको नाम बुन्छे ।
पानी,खोला, पहाड, कुइरो
चराचुरुङ्गीको आवाज, माटोको गन्ध
जङ्गलको मीठो सुसेली बुन्छे ,
आङ्निमा जब तान छुन्छे ।
(स्रोत : कविता सङ्ग्रह “परेवा : सेता-काला” बाट सभार)