कविता : प्रदान

~प्रेमराजेश्वरी थापा~

दिन सकीनँ प्रियतम दान ।
अम्बरदेखी अवनिसम्मको राशि-राशि आकांक्षा
कुन्नी कसरि भरिन गो सानो उरमा यतिको इच्छा ?
फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ?
दिन सकीनँ प्रियतम दान ।

शरद्-निशामा रजत-ज्योत्स्ना खिलखिल हाँसिरहेको
नीलमको प्यालीमा प्रियतम अमृत छचल्किएको
पग्‌लिन थाले प्राणहरूका यी सारा अभिमान
अनी समर्पण कता, कसरि अभिलाषा भए प्रदान ?
दिन सकीनँ प्रियतम दान ।

साना क्षुद्र अकिञ्चन भए पनि लिइ निज उर-उच्छ्वास
कृष्ण-निशामा सबै ओच्याए तारक करूण प्रकाढ
थोपा-थोपा भई साधना आफैँ चुहे अजान
फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ?
दिन सकीनँ प्रियतम दान ।

रोयो धुरूधुरू नीरवता ओस अश्रु सुकुमार
आँखा खोलि उषाले हेरिन् थोपाको संसार
व्याप्त भए आफैँ समीरमा उरका व्याकुल गान
अनी समर्पण कता, कसरि अभिलाषा भए प्रदान ?
दिन सकीनँ प्रियतम दान ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.