~विमल कोइराला~
बिहानीपखको कलिलो सूर्य
मलाई औधी मन पर्छ,
जेठ–असारमै पनि भतभती पोल्ने
ताता–उज्याला–राता एकसाथ थुप्रै सम्झना आउँछन्
सूर्यलाई देख्दा ।
कहालीलाग्दो लामो रातको
डरलाग्दो छटपटीलाई चिरेर
झ्यालबाट लुक्दै जब सूर्य पस्छ मेरो कोठामा
म रोमाञ्चित हुन्छु
मानौँ मलाई नाउँ थाहा नपाएको कुनै मित्रले
पछिल्तिरबाट आँखा छोपिरहेछ,
म सम्झेजति नाउँ भन्दै जान्छु र हाँसेको आवाज मात्र आउँछ
सूर्य पनि लुकामारी खेल्छ मेरा आँखासँग त्यसै गरी
निद्रामा हुन्छु र पटक–पटक आयो कि भन्दै
आँखा उघारी हेर्छु,
जब सूर्य देख्छु
मेरो अनुहार
प्रसव वेदनाबाट तत्काल मुक्त मेरी पत्नीले पहिले
मलाई देख्दा झैँ हुन्छ
हलुङ्गो, ज्यादै हलुङ्गो।
ज्ञानेश्वर, काठमाडौं