छन्द कविता : सहर

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

किराका ताँती झैँ निबिड जन-बस्ती सहरमा
धुवाँ, धूलो-मैलो घुलमिल छ हावा कसरमा
बडा ठाडाठाडा गगनसरि अग्ला महल छन्
कडा हल्लाखल्ला खलबल “वितण्डे अनल” छन् ।।

भन्यो कालोपत्रे “पिचिचि” अलपत्रे सडक छन्
सवारीका ताँती रसरङ अनौठा भडक छन्
सयौँ खाल्डाखुल्डी फुटफुट सयौँ जोल्टिङहरू
अहो ! गाडीभित्रै चह र चह जाँते पिङहरू ।।

भरेका छन् बाटा नवकुसुमले खित्खित गरी
खुला छाती, तिघ्रा अज-महिषका लस्करसरि
जवानीका प्यासी भ्रमर दल हिँड्छन् पद चुमी
बिकेका छन् गाला मुखसित सिनेमा हल घुमी ।।

पँधेरा छन् सुक्खा न त छ बिजुली नै समयमा
रमेका छन् स्वामी दल र बल आफ्नै विजयमा
घटे सेवा-टेवा फगत बिल भर्नै छ किचलो
जुराएको नामै “नगर” छ त ! गर्थ्यो किन भलो ?

गुहार्दै छन् पल्लो घरतिर कुनै मानिस मरी
जमेका छन् वल्लो घरतिर बडो उत्सव गरी
सँगै पर्छन् डेरा परिचय हुँदैनन् सहरमा
कठै ! अर्को ढल्दा मन किन रुँदैनन् सहरमा ?

यतै सत्ता, भत्ता, पद र मदका शायरहरू
यतै जल्छन् गाडी हुरुरु पुतला, टायरहरू
जमेका छन् ढिस्का मल कसरका डङ्गुर यतै
जुधेका छन् भोका कुकुर, थुतुने बङ्गुर यतै ।।

विदेशीका जुत्ता अनि पयर चाट्यो सहरले
किनेको भाषाले सरस लय काट्यो सहरले
विदेशीकै शैली जनम गति चुन्छन् सहरमा
सही स्रष्टा, द्रष्टा, कविकलम रुन्छन् सहरमा ।।

कहाँ मिल्ला मेरो हृदय भरिने “स्वप्प नगरी” ?
कहाँ उठ्लिन् मेरी मुलुक जननी हाय बिचरी !
हटोस् कालोमैलो, सहर जनको आड-भर होस्
खुलून् सेवाढोका ! अब “नगर” को नाम “गर” होस् ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.