~शान्ति प्रियवन्दना~
सलाम गोबिन्द
फेरी भिज्यो माटो
होनहार सन्तानको रगतले
पुछियो सिन्दुर
नवयौवनाको
हुर्किदै गरेका सन्तान
टुहरा हुन पुगे
छिनियो आमाको ममता
बिलायो बाबुको बुढेसकालको सहारा
गुमाए छिमेकीले एक असल छिमेकी
गुमायो देशले
होनहार नौजवान ।
छिमेकीका पैतलामा दविएर
देश दुखेको छ
रोइरहेको छ टिङ्कर र लिम्पयाधुरा
सुक्दै र खुम्चिदै छ
सुस्ता र महेशपुर
अति भयो
कति दिनसम्म सहेर बस्नु हो अब ?
हैन हो हुतिहारा शासकहरू !
हामी हुंकार गर्छौ
छोड गादी र
सुम्प लगाम हाम्रो हातमा
समाएर तरवार
देशको रक्षाको लागि
किल्ला कांगडाको इतिहास दोहोराउन
तयार छौं हामी ।
बहादुर कञ्चनपुर
तिमी जन्माउन नछोड
गोबिन्द गौतमहरू
प्यारो शुदुर पश्चिम
जन्माउ भिमदत्तहरू
आततायी छिमेकीसंग
छिनोफानोको बेला आएको छ अब ।
हेटौडा—४, मकवानपुर ।