~माधवलाल कर्माचार्य~
लड्दै पड्दै मानिसलाई जसरी भए पनि बाँच्नु छ,
आपद्लाई टारी टारी जसरी भए पनि ज्यूनु छ ।
आशा सपना पूरै होला भन्नु निश्चय छैन कुनै,
भोलि पर्सिको ज्यूनु नै भन्नु सुरक्षा छैन कुनै ।
बाँच्नै नपाई मर्नु पर्ला भन्ने मात्रै धन्दा छ,
विषै घुटु घुटु निल्न परोस् जसरी भए पनि लम्कन्छ ।
लड्नु निरन्तर ज्यूनु भन्छ, बलको हक नै ज्यादा छ,
हिम्मत भन्छ, साहस भन्छ, जसरी भए पनि ज्यूनु छ ।
रात गुडाई दिवस उडाई मानिस बढ्दै जाँदै छ,
कलिला मानिस कलिला सपना पाकी त्यसै झर्दैछ ।
चित्त दुखाई तिमी के गर्छौ एक दिन बिर्सी जानेछ,
मायाको तिमी इन्द्रै गरन, विगत विगत भै जानेछ ।
ब्रह्मा मुहुर्तमा बिम्झी आफू डाँडाको जून पाउनु छ,
यसरी यसरी मानिसलाई जसरी भएपनि ज्यूनु छ ।
(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)