~जीवराज बुढाथोकी~
नागरिक भै जन्मे म यो देशमा, के छ मेरो कसुर,
राखे उचित कुरा यो परिवेशमा, के छ मेरो कसुर !!
लोकतन्त्रको फल चाख्ने, मेरोपनि त हक छ हजुर,
हिड्नु पर्ने सधैं दुःखी यो भेषमा, के छ मेरो कसुर !!
शान्ति, न्याय, संबृद्धिका सपना, भए चकनाचुर,
भन्दा किन रह्यो आपत्ति यसमा, के छ मेरो कसुर !!
शीप, जाँगर र श्रम देशमै, सदुपयोग होस् भरपुर,
भन्दाभन्दै म पलायन विदेशमा, के छ मेरो कसुर !!
दुखी, दरिद्री जन सधैं, न्याय खातिर छन् आतुर,
जीवन टार्न गाह्रो महंगी त्यसमा, के छ मेरो कसुर !!
निद्राको सपना भयो सुशासन, भन्नै पर्ने यो जरुर,
धाइते भएँ म कुशासनको ठेसमा, के छ मेरो कसुर !!
गोटी कति सधैं भरी बनी रहुँ म, खेलाडीको चतुर,
सधै हार जीन्दगीको यो चेसमा, के छ मेरो कसुर !!
(अन्त्यानुप्रासमा आधारित विशेष गजल)
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं