कविता : बुद्ध : तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~

तिमी बुद्धको
स्वप्निल आँखालाई निहार
त्यहाँ शान्तिको
दिव्य सन्देश पाइन्छ
देश बनाउँदाबनाउँदै
वा देश बचाउँदाबचाउँदै
ती जो मरेर अमर बने
सहिदहरूलाई—
माया गर्ने
एउटा देश चाहिन्छ ।
( १ )

देश शिरमा
सगरमाथा भएर उठेको छ
छातीमा महाभारतका
अनन्त कथाहरू समेटेर
पुछारमा
कोशीका अनन्त लहरहरूसँगै
फैलिँदै गएको छ,
तर नअटेर
कतै कसैको धड्कनमा
गौतम बुद्ध—
‘ड्रइङ रुम’ का भित्ताहरूमा
अचेल
‘पोर्टेट’ भएर सजिँदै गइरहेछ ।
( २ )

यो मेरा पुर्खाले सिर्जेको नेपाल
यसको पत्र–पत्र
बुद्धको आलोकले प्रज्वलित छ
यहाँ कति महाभारत सिर्जिए
कति महाभारत लडिए
तर पनि यसको अन्तरमा
शान्तिको गाथा लुकेको छ
क्रान्तिको अनन्त पीडामा दुख्ने
छातीको घाउमा होस्
वा विजयको शङ्खनादमा खिल्ने
ओठको हाँसोमा होस्
सर्वत्र ‘बुद्ध’ पाइन्छ
बुद्ध—
मेरो घरको चोटामा छ
बुद्ध—
मेरो टोलको चोकमा छ
बुद्ध—
ती सबभन्दा माथि
मेरो देशको गौरव
सगरमाथाको शिरमा छ ।
( ३ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.