~प्रथा~
भैँसीको नथ्थीमा नाकी उनेर
मैले भैँसी डोर्याएँ
र त्यहि भैँसीको पिठ्युमा बसेर
तिमीले भैँसी चरायौ !
झोलामा कापी र पेन्सिल बोकेर
म स्कुल गएँ
र त्यहि कापीका पानाहरू पल्टाएर
तिमीले कक्षामा बाह्रखरी लेख्यौ !
…………………..
एक दिनको कुरा हो !
तिमी ओरालो झर्यौ
सायद, तिम्रो बाटो त्यहि थियो !
म उकालो उक्लिएँ
सायद, मेरो बाटो नि यहि थियो !
………………….
समय त गति हो !
रोकेर कहाँ रोकिन्छ र ?
जसरी घुमिरहेछ – यो पृथ्वी
उसै गरि घुमिरहेछ – समयको बाटुलो चर्खा पनि !
………………
छोटे मालिक !
सायद, एकै दिन हुनुपर्दछ
हामी दुबै फौजीमा भर्ती भएर रमाएको दिन !
………………..
माटोको कलिलो मुटु कुल्चिएर
तिमी त –
फगत, मुकुटको लागि लड्यौ !
म त –
देश हराएको मान्छे !
त्यहि माटोमा सपना रोपेर
आफैभित्र एउटा देश भेटाउनलाई लडेँ !
…………………..
बारुदको भयावह धुन सुनेर
जब नाच्न थाल्यो
युद्धको डोजर छमछमी – श्रीपेजको शीरमाथि !
तब शीसाको महलझैँ चर्कदै झर्यो
कालो इतिहासको खोकिलाबाट – दरबारको अनुहार !
र सडकमा ओर्लिएर गाए
बालसिरी ठोकिएका आवाजहरूले – धर्तीको आदिम गीत !
…………
बस !
तिमीले हार्यौ
र मैले जितेँ !
…………..
बर्षौँपछिको कुरा हो !
तिमी त जर्नेल
जङ्गी अड्डामा घाम तापिरहेछौ !
म त गोठालो हुँ
खाडीको तातो रम्बलमा भेडा चराइरहेछु !
पेटभित्रको ज्वाला निभाउन
पुरानो लालढड्डामा तिमी नाम लेखाइरहेछौ !
देशको भोक मेटाउन
म त आफ्नै गाँस चुंडाएर रेमिट्यान्स पठाइरहेछु !
…………………….
तिमीलाई चिन्ता होला
डि. भि. चिठ्ठाको लिस्टमा नाम हेर्ने !
मलाई नि चिन्ता छ
बूढी आमाको थोत्रो पेटानी कसरी फेर्ने !
फरक छन्
सबै कुराहरू – शासक र शासित !
……………………
तिमी विक्रमसिंह थापा हौ
म त नुमकलाल थारू हुँ !
तिमीसँग त –
तिम्रो आफ्नै सिङ्गो देश छ !
तर मसँग त –
यति ठुलो भूगोलको परिधिभित्र
अटाउन नसकेको एउटा आदिबाशी मन मात्र छ !
……………………
२०७१ फागुन २६
(स्रोत : एबिसिखबर डट कम)