कविता : मेरो खस्यौली

~भागवत खनाल~

हिमालय पर्वतको प्रिय सखा नेपालको सान
रुरुक्षत्रको शीरस्थान अर्गलीको सिरान मेरो खस्यौली
ऋषिकेशव भैरवस्थान बिराट धराधाम
प्रक्रितिको अनुपम उपहार सुन्दर जुहार मेरो खस्यौली
मणि मुकुन्दको विजय पताका पृथ्वीनारायणको गुरु
मध्यकालको चौबिसीको सरदार हो मेरो खस्यौली
सुगौलीमा बुटवलको रक्षा कवच
फिरंगीको सातो खाने लल्कार हो मेरो खस्यौली
बिना कसूर भीमसेन थापाको षड्यन्त्रको शिकार
पाल्पाली राजा पृथ्वीपालको अश्रुधारा हो मेरो खस्यौली
अन्याय र न्याय छुट्याउने कालभैरव हो
आई लागे जाई लाग्ने ताण्डव नृत्य हो मेरो खस्यौली
धौलागीरीलाई कालिका देवी उपहार दिने
स्वर्ग जाने निर्बिकल्प बाटो दिने मेरो खस्यौली
बहुजात बहु संस्कृतिको सानदार संगमस्थल
मगरातको मूलभूमि नाभिस्थान मेरो खस्यौली ।

प्रकृतिको अनुपम महान कोशेली
बुद्धीमान ज्ञानी र इमान हो मेरो खस्यौली
आधा पेटमै मुस्कुराउछ हास्छ रमाउछ
मायाप्रीति मीठो बोली कमालको छ मेरो खस्यौली
मधेसलाई सकस पर्दा पीडामा धरधरी रुन्छ
तराईमा धान झुल्दा फुरुङ्ग हुन्छ मेरो खस्यौली
पहिलो झुल्कोमा हिमाल हाँस्दा प्रफुल्ल हुन्छ
बार्पाकमा भूकम्प जादा परेली भिजाउछ मेरो खस्यौली
आऊ बस दुई दिन बिताऊ अनि चिन
लामो लामो सास फेर हेरिरहू मेरो खस्यौली
हिमाल हेर माटो सुंघ अनि राष्ट्र प्रेम जान
मातृभूमिको दिव्य सुवासमा स्वर्ग जान मेरो खस्यौली
के तिमी नेपाल आमा हेर्न चाहन्छौ ?
अवश्य मेरो खस्यौली आऊ
कुन शिखरबाट हेर्छौ ?
कोत्रे रिब्दीकोट भुटुकाबाट हेर
पुरानोकोट भैरवस्थान सामाकोटबाट हेर
उत्तरतर्फ अविरल सुन्दर पर्ततमालामा
आमाको दिव्य मुहार हेर भृकुटी हेर
दक्षिणतर्फ प्यारो मधेसमा गार्गी हेर सीता हेर
लुम्बिनी वनमा शिद्धार्थका साना साना कोमल पाइला हेर ।

(स्रोत : सदृश्य डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.