कविता : ए ! छोरा

~दिल थापा~

म बेस्सरी खुसी भएको थिएँ ए! छोरा
तिमी मेरो पेटमा आएको रात
म बेस्सरी दुःखी भएको थिएँ ए! छोरा
तिमी देश छोडी विदेशीएको रात
तिमी मेरो गर्भमा छँदा
मैले तिमीलाई कति जतन गरेँ
पँधेरोबाट कम्मरमा घौला बोक्दा
खाली खुट्टा गाँउबेशी गर्दा
तिमीजस्तै मेरो श्रीमानले मेरो शरीर लुच्दा पनि
हरेक प्रहर जोगाई जोगाई तिमीलाई जन्माए
तिमी जन्मियौ
म बेस्सरी खुसी भएको थिएँ ए! छोरा
तिमी च्याँ च्याँ गरी रोएको रात
म बेस्सरी कमजोर भएको थिएँ ए! छोरा
तिम्रा भाग्य मेरो खुनले लेखिएको रात

तिमी जन्मदा
मैले तिम्रो अनुहार हेरिन
तिम्रो हात खुट्टा हेरिन
तिमी छोरा हो भनी खुट्टाउने ठाउँमा छिटो छिटो हेरेँ
मेरा नाङ्गो हातहरुले तिमीलाई लिएँ
तिम्रो बाबाको पुरानो पाइन्ट र मेरो पुरानो धोतीको थाङ्‌गोनोमा सुताई कोलमा पिनेको तोरीको तेल
तिमीलाई घसीघसी त्यो हिउँद कटाएँ
तिमी विस्तारै बिस्तारै बढ्‌दै थियौ
टाटे टाटे हिड्न खोज्दै थियौ
बोल्न पनि सिक्दै थियौ
सायद तिमी याद छैन होला
तिम्रो बाबाले आमा भन छोरा भन्दा
तिमीले माँ माँ भनेका थियौ
म बेस्सरी खुसी भएको थिएँ ए! छोरा
तिमीले माँ माँ भनेको रात
म बेस्सरी दुखी भएको थिएँ ए! छोरा
तिमीले म नेपाल आउँदीन होला भनेको रात ॥

तिमीलाई मैले पढाएँ
बोडीको बीऊ बेचेर
लाजका कपडाहरु बेचेर
मेरो गाह्रो गरी सर्ने पैतलाका दामहरु बेचेर
म कति खुसी भएको थिएँ ए! छोरा
तिमीले झोला बोकी स्कूल गएको दिन
म कति दुखी भएको थिएँ ए! छोरा
तिमीले झोला बोकी बिदेश गएको दिन ॥

तिम्रो हात खुट्टाहरुलाई
चर्ने ठाँउहरु दिन सकिन मैले
त्यसैले त तिमी विदेशीयौ
तिमीलाई जन्मभूमी मेरो कोख भन्दा साँघुरो भयो
मैले नजाऊ पनि भन्न सकिन
म कति दुखी भएको थिएँ ए! छोरा
तिमीले मैले राहादानी बनाएँ आमा भनेर फोन गरेको रात
म कति खुसी भएको थिएँ ए! छोरा
तिमीले आमा भिषा लागेन भनेर फोन गरेको रात ॥

तिमी विदेशीरै छाडौं
करोडौं पानीका फाँटहरु तरेर
म एक्लो भएँ
तिम्रो बाबाले छाडेर गएको आभाष दिलाउने गरी
तिमीले पुगे सी फोन गर्छु भनेको पनि महिनौँ बित्यो
तिम्रो फोन आएन
तर एक रात
म कति खुसी भएको थिएँ ए! छोरा महिनौं पछि तिम्रो फोन आएको रात
म कति खुसी भएको थिएँ
ए ! छोरा महिनौँ पछि तिम्रो बोली सुनेको रात ॥

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.