कथा : चोली के पिछे क्या है ?

~मनु ब्राजाकी~Manu Brajaki

भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका ।

यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण दासजी । कीर्तनमण्डलका सदस्यहरू उनीलगायत छ जना थिए । पाँच जना युवा र एउटी युवती । युवाहरू त युवाहरू नै थिए तर युवती चाहिँ युवती हुनाका साथसाथै सीयारामशरणजीकी प्रमुख चेली र कीर्तन कार्यक्रमकी चमेली पनि थिएन् । भजनियाँ सीयारामशरणलाई थाहा छ युवती धतुराको फूल भए पनि गाउँलेहरूका लागि चमेली नै ठहरिनेछे ।

उनीले आउनासाथ गाविस अध्यक्षलाई समाते । अध्यक्षले वार्ड-सदस्यहरूलाई समाते । वार्ड-सदस्यहरूले आआफ्नो वार्डका जनतालाई समाते । अन्ततः सम्पूर्ण गाउँबाट मानोमुठी उठाइयो । भजनमण्डलीको खाने, पिउने, बस्ने र स्वागतको व्यवस्था मिलाइयो ।

धर्मप्राण गाउँलेहरूमा धार्मिक उन्माद उर्लियो ।

बाली भित्रिइसक्या थियो । गाउँले महर्जनहरूले रिन कर्जा उठाइसकेका थिए ।

सबैभन्दा ठूलो कुरा प्रजातन्त्र पनि आइसक्या थियो ।

भारत र नेपालको धर्म र संस्कृतिको समन्वयार्थ भजन मण्डली पनि आइसक्या थियो । यो गाउँलेहरूका लागि बडो सुखद अवसर थियो – भित्र्याइएको बालीका लागि भगवान्प्रति कृतज्ञ हुने ।

श्री सीयारामशरणजीले गाविस अध्यक्षज्यूलाई भने – ‘देखिए प्रधानजी, नेपाल और भारतमे कोई र्फक नही है । हम और आप एक ही है । छोटे भाइको बडे भाइका अनुसरण करना चाहिए । प्रेम से भगवान् सीयारामकी शरण में आइए । दिल खोलके चन्दा दान कीजिए । कल्याण होगा । अगले साल इस गाँव मे और फसल उबजेगा । बोलिए सीयावर रामचन्द्र की जय !’

अध्यक्षलगायत सबै वार्ड-सदस्यहरूले जयकार गरे ।

प्राइमरी स्कुलको प्राङ्गणमा कीर्तन कार्यक्रम हुने भयो । समय आठ बजेपश्चात् । त्यति बेलासम्म गाउँलेहरू साँझको भोजनबाट निवृत भइसक्थे ।

खाटहरू जोडेर मञ्च बनाइयो । मञ्चसामु श्रोताहरूका लागि पराल ओछ्याइयो । दाहिनेतिर पुरुष र देब्रेतिर महिलाहरू बस्ने भए । गाउँका महिलाहरू अझ भनूँ गाउँका बुहारीहरू, यस कार्यक्रममा भाग लिन बढी उत्साहित थिए । किनभने यस्तो धार्मिक कार्यक्रममा मात्र उनीहरू आउन र आएर घुम्टो निधारसम्म उचालेर भगवत् लिन हुन पाउँथे ।

भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्त्वपूर्ण कुरा ‘लाउडस्पिकर’ पनि थियो । लाउडस्पिकर किन थियो भने, भगवान् त बहिरा छँदै छन् – साथै गाउँलाई पनि धार्मिक जोसले थर्काउनु थियो । नथर्काईकन कोही पनि त अनुगत, अनुप्राणित र आतङ्कित हुँदैनन् । आतङ्क यस्तो कुरा हो जसले शक्तिशाली भगवान् र तिनका खसोखास प्रतिनिधिहरुको वर्चस्व कायम राख्दछ । यो कुरा श्री सीयारामशरण दासजीलाई तलसीदासको रामायणभन्दा पनि बढी थाहा छ ।

साँझ सात बजेदेखि नै गाउँले स्त्रीपुरुषहरु भेला हुन थाले । मञ्चमा आप\mना मण्डलीहरुबीच सीयारामशरणजी विराजमान छन् । लाउडस्पिकरमा हिन्दी फिल्मी गानाहरु बजिरहेछ । मीठामीठा हिन्दी गानाले प्रेरित भएर दाहिनेतिरका पुरुष -विशेषतः कडुवा तेलयुक्त जुल्फी पालेका) देब्रेतिरकी घुम्टो उचालेकी गाउँकी बुहारीहरुतिर रामले झैं हेरिरहेछन् । बूढापाकाहरु यो हेराइलाई भगवान्को दया ठानेर चुपचाप खैनी मोलिरहेछन् । भगवान् भने आकाशतिर कतै आधुनिक हिन्दी फिल्मी गाना सुनेर बसेका होलान् ।

भजनियाँ-प्रमुख सीयारामजी श्रोता भक्तगणहरु यथेष्ट सङ्ख्यामा अझै नआइपुगेकाले चिन्तित छन् । यै चिन्ताले उनलाई प्रवचन दिने झोक चल्छ । लाउडस्पिकर बन्द गर्ने इसारा गरेर उनी प्रवचन दिन थाल्छन् । उनकी प्रमुख चेली उनीतिर एकाग्रतापूर्वक हेर्दै चमेली भएकी छे । गाउँले बुहारीहरु चमेलीलाई देखेर उत्साहित हुँदै आआप\mना घुम्टा अझै माथि सार्छन् ।

दाहिनेतिर बसेको लखनले खैनी घुसारेर देख्छ, उसकी साइँली बुहारी त साला कैलू चमारको जुल्फे छोरोतिर पो सीताले रामलाई हेरेझैं हेरिराखेकी छे । तर विचरा अहिले गरोस् पनि के ? उसले रिसले खैनीको तीतो रस घुटुक्क निल्यो र प्रवचन सुन्ने अभिनयतिर दत्तचित्त भयो ।

भजनियाँ सीयारा मभारतको प्रजातन्त्र र नेपालको शिशु प्रजातन्त्रको धार्मिक भावले व्याख्या गर्दै थिए । तर उनले छिट्टै बुझे उनको प्रवचनको प्रभाव बूढाखाडाहरुलाई त केही भयो होला तर सबैमा भएको छैन । यो प्रवचनले भगवान् श्रीरामको गरिमा घटोस् कि बढोस्, धर्म फलोस् कि फुलोस् कि भर्सेला परोस् तर उनको दानापानीमा त प्रभाव पर्छपर्छ । अतः उनले धतुराको फूलजस्ती चमेलीलाई गाउँबाट बढीभन्दा बढी भक्तगण बटुल्न हिन्दी फिल्मी गानाहरुको लय र धुनमा कीर्तन गर्ने आज्ञा गरे ।

तुरुन्त हारमोनियम, ढोलक, मजिरा र करताल बज्न थाले । चमेलीले ‘मै दुनियाँ से अब न डरुँ, तुम्ही से मै प्यार करुँ’ भन्ने गानाको लयमा एउटा भजन सुनाइन् । चार-पाँचओटा यस्तै हिन्दी फिल्मी धुनमा भजन सुनाएपछि दाहिने र देब्रे दुवै पक्ष भावविभोर भएर सीतारमको अवस्थामा पुगे ।

आउन त गाउँलेहरु आउँदैछन्, तर फाट्टफुट्ट ।

भजनियाँ प्रधानले आठ बजिसकेको हुँदा पुनः फिल्मी धुनको भजन बन्द गराए । लाउडस्पिकरमा रिकर्डिङ गर्ने आदेश दिए ।

यसैबेला शिवलाल कुर्मीले देख्यो, अँ खैनी मुखमा हालेपछि देख्यो, देब्रेतिर बसेकी उसकी जेठी बुहारी अाफ्नो ठाउँमा छैन ।

रखन झाले देख्यो- उसकी कान्छी बुहारी पनि देब्रेपट्टि अाफ्नो ठाउँमा छैन ।

अँ, प्राइमरी स्कुलको आडैमा बाँसघारी छ र बाँसघारीकै आडैमा आँपको ठूलो बगैंचा छ ।

एक्कासी मञ्चबाट श्री सीयारामशरण दासजी चिच्याए- ‘सीयाराम रामचन्द्रकी जय !’

‘जय !!!

अनि धतुरोजस्ती चमेलीले लाउडस्पिकर बजाई-

चोली के पिछे क्या है, चोली के पिछे ? चुनरी के नीचे क्या है, चुनरी के नीचे ?’

अब कीर्तन सुरु भयो ।

-सैँबु, भैँसेपाटी, ललितपुर

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.