~रुमानी राई~
तपाईले देखिरहनु भएको छ
एउटा दृष्य
जो तीन उपदृष्यहरुको यौगिक दृष्य ।
उपदृष्य-१
विषालु सर्प
जसले निलिरहेछ बिस्तारै बिस्तारै
एक निरीह भ्यागुता
आफ्नो भोक मेट्न ।
उपदृष्य-२
सर्पको मुख हुँदै
सनैसनै चिप्लिरहेछ भ्यागुता
मृत्युको गर्भतिर
असह्य पिडामा घरिघरी चीत्कार भर्दै
र, फट्कारीरहेछ जिब्रो
आफ्नै शिरमाथी उडिरहेको पुतली टिप्ने लालसामा ।
उपदृष्य्-३
भ्यागुताको मोहदेखी बेखबर
आफ्नै संसारमा निश्चिन्त उडिरहेछ फुर्रफुर्र……
एउटा सुन्दर पुतली ।
उपसंहार-दृष्य
आहा !
कति मीठो भ्रम बाँच्दारहेछौ हामी
जस्तो कि,
सर्प-भ्यागुता-पुतली
मृत्यु-जीवन-संसारिक मोह ।
[ ९ जुलाई २०१४,मलेसिया ]
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)