लघुकथा :छोड-पत्र

~कात्यायन~dhanwantari-mishra-katyayan

एकदिन अड्डामा :
– ‘तपाईंहरू बीचको मतान्तर के हो ?’
– ‘केही छैन |’ – ऊ भन्छ |
– ‘वहाँ असन्तुलित हुनुहुन्छ |’ – ऊनी भन्छिन् |
– ‘के कुरामा ?’ – सम्बन्धित अधिकारी प्रश्न गर्छन् उनीलाई |
– ‘सम्पूर्ण रूपले |’
– ‘खराब आचरण छ ?’
– ‘थाहा छैन |’
– ‘हिम्सा आदि गर्नुहुन्छ ?’
– ‘गर्नुहुन्न |’
– ‘माया गर्नुहुन्न ?’
– ‘गर्नखोज्नुहुन्छ |’
– ‘समस्या के छ त श्रीमानमा ?’
– ‘विचलन |’
– ‘मैले त खासै समस्या देखिन | घर गएर फेरि ठण्डा मनले सल्लाहा गरेर आउनुहोला | जिन्दगीको सवाल छ | पारपाचुके गरिहाल्नु ठिक हैन |’

***

घरमा :
– ‘हैन किन बुझ्दिनौ ? म तिमीलाई माया गर्दिन ?’
– ‘खण्डित मायाको अर्थ छैन |’
– ‘तिमी विदेशमा सम्पर्कविहिन थियौ | परवशताले विवाह गरें | तिमीलाई अंगाल्नुभन्दा पहिले नै छोड-पत्र पनि त गरिसकें |’
– ‘सम्बन्ध त तोडिएको छैन नि ! मायाको अंश त बाँडिएकै छ नि ! अर्को परिवारको बारेमा म अनभिज्ञ थिएँ |’
– ‘तिमी शिक्षित छौ | उनीहरू पनि त मेरो जिम्मेवारी हो ?’
– ‘ऊनी पनि त विभाजित हुन चाहंदिनन् होला नि ! आफ्नो जिम्मेवारी निर्धक्क वहन गर्नुहोस् | मलाई नि छोड-पत्र दिनुहोस् | मेरो जिम्मेवारीबाट मुक्त गर्छु !’
– ‘यो विदेशी पढाईको प्रभाव हो !’

***

अर्कोदिन अड्डामा :
– ‘कुरा मिल्यो ?’
– ‘मान्दिनन् |’
– ‘रिक्तता ठूलो छ श्रीमान !’
– ‘कस्तो रिक्तता ?’
– ‘स्खलित |’
– ‘मतलब ?’
– ‘माया अधकल्चो ! आवेग अपूर्ण !’
– ‘झगडा छैन | श्रीमान माया गर्छन् | छोड-पत्रको औचित्य के हो ?’
– ‘सायद हजुर बुझ्नुहुन्न नारी-हृदय ! पूर्णरूपेण: समर्पित हुनु र टुक्राएर माया दिनुमा र टुक्राएर लिनुमा ! संसार भुलेर समाहित हुनु र जिम्मेवारी-बोधले अधमरो बनाउनुमा ! पूर्व-स्खलितहरूको स्खलनमा पूर्ण-आवेग हुनै सक्दैन | सम्बन्ध सम्झौता मात्र हैन | यो मेरो अन्तिम निर्णय हो |’

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.