~रुमानी राई~
हाे,
अब हाम्राे भेट कहिल्यै हुने छैन
र,भेट हुनुको कुनै अर्थ पनि हुने छैन ।
प्रत्येक भेटमा,
तिम्रा गुलावी अाेंठहरु मुस्कुराउने छैनन्
मभित्र कुनै तरङ्ग पैदा हुने छैन ।
छुट्ने बेलामा,
सुकाेमल हातहरू हल्लिने छैनन्
निष्ठूरी शून्यताबाेधले किच्ने छैन ।
हुन सक्छ,
मेराे कविताकाे निलाे अाकासमा
तिमी संझनाकाे खुर्पेटाे जून उदाउने छाै
र,मलाई बेस्सरी चिमाेट्नेछाै ।
एकाेहाेराे देश लेखिरहेकाे म
समयले कुल्चेर संवेदनाहीन चेतना
तिम्रो प्रेमकाे कुनै अर्थ नलाग्न सक्छ ।
अझ स्पष्ट भनाैं,
अभावै अभावले जकडिएकाे जिन्दगी
जसाेतसाे जाेरजाम मै व्यस्त म
नचाहेरै पनि तिमीलाई भुल्न सक्छु ।
यन्त्र मानव झैं,
तिमी अाफ्नै व्यस्त सहरमा
नाडीघडीको काँटाको रफ्तारसंगै
पलपल समय नापिरहेकाे हुनेछाै ।
कुनै दिन
मेराे पुरानाे धुर्मैलो तस्वीर
तिम्रो हृदयकाे भित्ताबाट उप्किएर झर्नेछ ।
नठान्नु-ढुङ्गा जस्ताे मान्छे मलाई
नठान्नु – प्रेमकाे अर्थ के थाहा मलाई !?
अाजदेखि,
एउटै पृथ्वी टेकेर
बेग्ला-बेग्लै गाेलार्द्व बाँच्दैछाैं हामी ।
१ डिसेम्वर 2013
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)