~सागर भण्डारी~
मलाई जिउन सिकाउने
ए मेरी प्यारी आमा
मुटु दरो पारिराख है
ठूलो भुकम्प जान सक्छ
पृथ्वी बोक्न सक्ने तिम्रो शरिर
वायुमा डगमगिन सक्छ
अविश्वासका छालहरु उठ्न सक्छन्
विद्यवसंका कल्पनाहरु
यताउता उफ्रन सक्छन्
तिम्रो छोरालाई
समाजले अपराधीको उपाधि दिनेछ
अनि पानी पधेँरोमा
असफल आमाको घोषणा हुनेछ
हो आमा
हाम्रो समाजले नहिडेको
हाम्रो समाजले छोपेको
बाटोमा हिँड्दैछु
भगवानको विरोध गर्दैछु।
सृष्टि चलाउने
ए मेरी प्यारी आमा
मुटु कपाउनु पर्दैन
तिम्रा कल्पनाका ति भगवान
जसले चर्किएका घाउँहरुमा
मल्हम पट्टिले शितलता प्रदान गर्छ
दृष्टिविहीनलाई संसार देखाउछ
अशक्त निमुखालाई जिउन सिकाउछ
नाङ्गो शरिरलाई न्यानो बनाउछ
फोहरमा खेलिरहेका नानीहरूलाई
उज्यालो विद्यालयमा पठाउछ
भोको पेट र च्यातिएको छानोलाई
खुशीको समुन्द्रमा पौडी खेलाउछ
हो आमा
तिम्रो कल्पनाको भगवान
पवित्र भगवान
जसको खोजी गर्दैछु।
र विरोध गर्दैछु
हाम्रो समाजका ति भगवान
जसले बनाउछन्
कसैलाई गरिब,कसैलाई धनि
कसैलाई हिन्दू,कसैलाई मुसलमान
कसैलाई माथिल्लो जाति
कसैलाई तल्लो जाति
बिभाजनका पर्खाल बनाउछन्
अनि मकै भुटेर बाडेझै बाड्छन्
कुसंस्कार र कुसंस्कृतिका पोकाहरु
यि सुन्दर आखामा
कालो पट्टी लगाइदिन्छन्
गरिबी,अशिक्षा र भोकमरीको
हतियार बनाएर
जातीय र धार्मिक युद्ध चलाउछन्
बर्षौ सम्म भुमरीमा फसाउछन्
र जीवनका पानाहरुमा
भगवानको उपाधि लेखाउछन्
हो आमा
म तिनै अपवित्र भगवानको विरोध गर्दैछु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )