~सोम डेमनडौरा~
ज्ञानी सानु हाम्रो सानु छोरा
तिमी स्कुल जान थालेछौ
खै किन हो,
तिमीलाई स्कुल पठाउँदा मन कटक्क खान्छ
बाटोमा तिमी निराश भै नबोल्दा
गेटमा पुग्दा जब तिमी भक्कानिएर रुन्छौ
मन थाम्न सक्दैन
तैपनि आँशु लुकाई
धरधरी रुन्छ यो मन ।
शुरुको दुई तीन दिन खुशी भएर गयो
मुस्कुराएर गयो
तर अचेल
त्यो खुशी देख्दैन तिम्रो अनुहारमा
किन सानु छोरा ?
म कल्पना गर्छु,
तिमी खुलेर खेल्न पाउँदैनौ होला
घरमा झैं हल्ला गर्न पाउँदैनौ होला
तिमी बाहुबलीको नक्कल गर्दै
बडेमानको बल निकाल्दै
यताउता कुड्ने गथ्र्यो
त्यसो गर्न बन्देज छ होला
र उहि कुरा घरिघरि दोहयाई तेहयाई
एबिसिडी, वानटुथ्री र
ए फर एप्पल बि फर बल भन्नु पर्छ होला
र तिमीलाई झ्याऊ लाग्दो हो ।
यि सबै कुरा जब म सम्झिन्छु सानु
तिमीलाई कति पीडा हुन्छ होला भन्ने
जब म कल्पना गर्न थाल्छु
त्यत्ति बेला सानु
तिमीलाई अँगालोमा बेर्न मन लाग्छ
र तिमीलाई खेलाई खेलाई पढाउन मन लाग्छ ।
अस्ति तिमीले भनेका थियो
मिसले गालामा पिट्नु भयो
साथिले नास्ता खाई दियो
सुईंमा खेल्न लग्दैनन्
मेरो सानो गाडी हराई हाल्यो
हामीले पुनःबिचार गर्यौं
सबै स्कुलका माहोल र संस्कृति
उस्तै उस्तै त छन् नि ।
राम्रो स्कुलमा पढाउने हाम्रो पनि रहर हुँदो हो
हाँस्दै र मुस्कुराउँदै स्कुल गएको
घरमा बस्न भन्दा स्कुल जान मजा आएको
यो रहर सबै आमाबुवाको हुँदो हो
तर रोक्छ त्यसैले
र जाक्न पुगिन्छ बन्धनको संस्कारमा ।
तैपनि निराश नहुनु सानु छोरा
तिमी ज्ञानी छौ
तिम्रो लेखाई कति राम्रा छन्
तिमीले कति राम्रोसँग कलर गर्छौ
तिमीले बाहुबली जस्तै जम्प गर्न सक्छौ
तिमीले सबै कलर चिन्न सक्छौ
तिमीले कम्प्युटर पनि चलाउन सक्छौ
र सक्छौ हामीलाई खुशी बनाउन
र सक्छौ हामीलाई रुवाउन
र सक्छौ मजाले हसाउँन ।
यसैले स्कुल जाऊ सानु
किनभने तिमी अझै ज्ञानी बन्नु छ
तिमीले संसार बुझ्नु छ
र ज्ञान आर्जन गर्नु छ ।
फागुन ३, २०७४
सोम डेमनडौरा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )