~दुर्गा विनय~
देख्दा–देख्दै कत्ति कथाहरू घटिसक्दा रहेछन् । भोग्दा–भोग्दै कत्ति उपन्यासहरू पनि तयार भइसक्दा रहेछन् । देखेका, भोगेकालाई लेख्दा पनि त कथाहरू तयार हुँदारहेछन् ।
लेख्दा–लेख्दै आवाज सुनें । बाहिरबाटै आएको हो । आवाज सुनेको हेर्न गएँ बाहिरतिरै । आज शनिवार हो । बिहानै थाहा पाएको । अर्थशास्त्रको किताब हातमा थियो । पढ्दै पनि थिएँ । खाल खालका अनुहारहरू बाटोमा हिंडेको पनि देखेको हुँ । खाल–खालका भाव लिएर ।
– ‘समय कति छिटो बित्छ ?’ म सोध्छु आफैंलाई । ‘यो इकोनोमिक्स पनि कत्ति घाँडो विषय । वित्थामा कमर्स लिएको ।’ घरिघरि लाग्ने कुरा आज (अहिले) पनि लागेको छ । अघि सुनेको आवाज हेर्छु केही रहेनछ । त्यसै सुनेको रहेछु ।
– ‘के सुनें हुँला ?’
– ‘कल थिचिएको, चरा कराएको, गाई कराएको । सबै मिसिएको एकै सुनें । गाडी कुदेको पनि ।’ आफ्नो प्रश्नको उत्तर आफैं दिन्छ मन ।
म फेरि एक पाना पल्टाउँछु किताबको । विषय पानाको टुप्पोमा लेखिएको देख्छु । ‘माइक्रो इकोनोमिक्स ।’ ‘कसरी पढ्नु, जाँच आइसक्यो’ मन एकचोटी फेरि आँत्तिन्छ, अघिको जसरी । दुई–चार अनुच्छेद पढेर फेरि आँखा वरपर नियाल्छ । अनि फेरि किताब पढ्न थाल्छु ।
बसेको खाटमा भएर हेर्छु दृश्य गाउँघरको । भैंसी तान्दै लगेको पनि देखेको हुँ । छाता काँघबाट ढाडतिर झुण्ड्याई गाई चराउँदै लगेको पनि देखेको हुँ ।
परबाट आएको बाइकमा बसेकालाई पहिल्याउन खोज्दा–खोज्दै ‘ह्वाँ–ह्वाँ’ सुनें । बच्चा रोएको रहेछ ।
– “ला … ! तँलाई तँ बोला’को नसुन्ने ।” दुई चार सिर्कना लगाउँदै आमा (रहिछन्) बोलिन् । रूँदै गरेको केटो फुत्किएर अलिपर पुगेर “कमला” भन्दै भाग्यो । आमा खेदाउन लागिन् ।
रिसले के गरूँ, के गरूँ हुँदा उसले “कमला” भनेको हो भन्ने लाग्यो । हाँस त अघि नै उठेको हो तर पनि हाँसिन । अहिले हाँसे मुसुमुसु ।
किताबको अर्को पाना पल्टाउँछु । ‘माइक्रो इकोनोमिक्सको परिभाषाहरू’ पढें ।
– ‘सुरूको दिन त अंग्रेजी छ । अंग्रेजी पढुँ कि क्या हो ।’ इकोनोमिक्स अफ्ठ्यारो लागेकोले मन अंग्रेजीतिर मोडिएको हुनसक्छ ।
– ‘जे पढेपछि फाइदा मलाई नै हुने हो ।’ सान्त्वना दिन्छु मनलाई म आफैं ।
कुद्दै गरेको साइकल छिमेकको घर अगाडि आएर रोकियो । दुई गह्रौं बोराहरू साइकलको केरियरको दुई छेऊ झुण्डिएको देखें ।
– “ल्यायौ कान्छा ?” सोधेको पनि सुनें । सोध्ने गुरूङ्गनी हुन् । हातमा साबुन दल्दै आएर सोधेकी हुन् ।
– “तैंले पढ्नु पर्दैन ।” अर्को छिमेकले आफ्नो छोरालाई कराउँछ ।
– “अहिले आएर पढ्छु ।” कुद्दाकुद्दै छोरोले भन्छ ।
– “महङ्गो र’छ । बिहानै गएकोले अलि सस्तै पाइयो ।” बोरालाई दुई हातले समातेर बल्ल बल्ल अलिपर लान सक्यो ।
– “कत्रो छ हेरौं न त ।” ग्राहकलाई एक ग्लास जाँड दिदै घर बुहारीले सोधी । ग्राहकसँगै साइकलवाला पनि एक ग्लास पाउँछ ।
– “सानो छ नि ।” दिएको जाँड पानी खाए जसरी पिउँछ कान्छा (भनौं, गुरूङ्गनीले भने जसरी) । “यहाँ नखोल, खोरमा लगेर खोल ।” बाटाकै छेउमा बोरा खोल्न आँटेको देखेर कराउँछ कान्छा ।
– “माथिबाट हेर्ने हौ ।” खोल्दै गरेकी पनि कराउँछे ।
बोराको मुख खोलिसकिएको बेला । के हो लडीबडी गर्छ बोराभित्रै, बोरा छोडेर ऊ आत्तिंदै कुद्छे । सुँगुरको पाठो पनि छिटो बोराबाट बाहिर निस्केर भाग्छ । आपूm अघि तर्सेको सम्झेर ऊ हाँस्छे । अरूहरू पाठो फुत्काएकोमा रिसाउँछन् उसँग । म हाँस्छु ।
फुत्किएको पाठो जहाँ पायो त्यहीँ कुद्दै गरेको देख्छु ।
– “कान्छा उताबाट खेदा ।” गुरूङ्गनीको छोराले दुई हात पैmलाएर, टाङ फारेर पक्डुँला झैं गरेर भनेको हो । अलि अलि निहुरेको पनि छ ।
– “भाइ….भाइ सुँगुर भागेको छ, आइज समात्न जानुपर्छ ।” नाकबाट सिगान बगिरहेको, मैलो जामा, नकोरिएको कपाल भएकी दिदीले उसको सानो भाइलाई बोलाएकी छ ।
– “एता, एता, यहाँ छ ।” लसुन रोपेको (रहेछ) ठाउँमा छिरेको सुँगुरको बच्चा देखाउँदै ऊ बोक्छ माटोको डल्ला जस्तो (ढुङ्गा पनि हुनसक्छ) ।
– “समात्नु पर्दैन ?” गुरूङ्गनीको छोरा जङ्गिन्छ कान्छासित । कान्छाको टाङ्गमुनिबाट भर्खरै फुत्किएको छ पाठो । कान्छा ङिच्च गर्छ, बोल्न केही सक्दैन । भर्खरै फेरि एक गिलास लाएकोले होला कान्छाले खेदिरहेको पाठो समात्न नसकेको ।
– “आ….मा….” सुँगुरको पाठोले खेदिरहेको जस्तो दृश्य देख्छु म अहिले । सानो फुच्चे आँत्तिदै अघि–अघि कुद्दै सुँगुरको पाठो पछि–पछि उसको कुद्दै । कुद्दा–कुद्दै फुच्चे लड्छ, नाकको सिगानमा धुलो टाँसिन्छ, अनुहार, लुगामा पनि । ऊ बसेर रून्छ । सुँगुरको पाठो भाग्छ अघि–अघि । अरू हाँसेको देखेर हाँस्छु म पनि । हाँस्दै गरेको फुच्चेको हजुरबाले उसलाई बोकेर लान्छन् ।
अघि कत्ति खेरदेखि जाँड खाइरहेको त्यो मान्छे भित्तामा अडेसो लाग्न खोज्दाखोज्दै पछाडितिर लडेको देखें ।
– “आमा यहाँ हेर ।” गुरूङ्गनीकी छोरीले गुरूङ्गनीलाई भनेको सुनें । गुरूङ्गनीले मनमनै केही भनिन् होला अनुमान गर्छु । त्यस लडिरहेको मान्छेको हात समातेर तान्छिन् गुरूङ्गनी “अए, जा, जा उताबाट छेक् ।” भन्छिन् पनि ।
– “झट्टी हान्नु नि हौ साँढेलाई ।” गुरूङ्गनीको छोरीलाई पनि रिस उठेछ । अघि रूँदै गरेको फुच्चे नजिक आएको बेला पाठोलाई खेद्ने गर्छ ।
– “एउटा पाठो समात्न सक्दैनन् । म समात्छु ।” अघि लडेको मत्तु मुढाबाट फेरि लडेको रहेछ । सासु–बुहारी मुसमुसु हाँसेको देखें । उसलाई मुढामा उठाएर राखिदिएको पनि देखें । फेरि लडेको पनि देखें ।
मत्तु लडेकोमा मलाई खुब हाँस उठ्यो । भित्रैबाट हाँसे म । मैले मत्तुलाई हेरिरहें एकटक । उठेर मुढामा बस्न खोज्छ, फेरि एकछिन्मा लड्छ ।
मैले किताबको अर्को पाना पल्टाएँ ।
० ० ० ०
दुर्गा विनय / झापा
(स्रोत : रचनाकारको ब्लगबाट सभार )