~छविरमण सिलवाल~
मुहारमा हिलो पोतेर
हिलो-हिलो
पानी-पानीसँग
सम्झौता गर्न
शालीन दस्तावेजहरू
गरिबी लुकाएर
हाँस्छन्
पीडा लुकाएर
बाँच्छन्
उनीहरूका नाममा
गरिने राजनीतिले
कोल्टा फेरेको पत्तो छैन
एउटा युग यसरी
बितिरहेछ ।
महलमा त्यही चामल पाक्छ
हातमा ठेला उठाइएकाहरू
युगौं-युगसम्म पिल्सिन्छन्,
भोकै-नाङ्गै
जीवन गुजारीरहेछन् ।
काल-चक्र भन्दा माथि कोही छैन
कलियुगीन मान्छेहरू
रंग फेर्दै रौनक देखाउछन्
र,
एक दिन,
आफैंले आफ्नो
मुहारमा कालो पोत्छन्,
मुहारमा हिलो पोत्नेहरूको
हिलो पखालिन्छ,
र,
सत्यता फैलाउछन् ।
र,
मुहारमा कालो पोत्नेहरू,
इतिहासमा नै कालो पोतेर
बिलाउछन् ।
काठमाडौं, नेपाल
(स्रोत : रचना द्वैमासिक)