कविता : धरानका चोकहरू

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

अत्यन्त समृद्धचोकहरू
कतै नलर्खरावस्
कतै नबरालियोस्,
उभियोस् अटल छाती
साँगुरी भन्ज्याङ्ग भएर
भानुचोक, छाताचोक, लक्ष्मीचोक
बालकचोक, किराँतचोक, बुद्धचोक
विशालचोक र चोकैचोकहरू ।

ठिङ्ग उभिएको छ धरान टावर,
रङ्गनि फूलबारीको बीचमा
छातीमा छडी हल्लाउँदै
साँध सिमाना
देखाउँदै छ,
अनुशासनको,
घरघरका आँगनहरूमा
गुलमोहर र सुपारीका बोटहरू
गल्लीगल्लीका पिचसडक अगाडि
लामबद्ध भएर उभिएका छन्
संभावनाका नौलानौला
आयामहरू स्वागतका लागि ।

तर खै…
कैले कहीँ
केही रोमान्चित भएर,
केही उच्छृङ्खल भएर
यो धरान
दिशाविहीन चोकजस्तो
टाउको नभएका मान्छेहरूजस्तो
अत्यन्त निर्जन, एकान्तमा
चोकहरूको झुण्डजस्तो मात्र लाग्छ,
धेरैजसो अधबैँसे उमेरमै
पक्षाघात भएर
प्रायः चोकहरू
नातिको सहारामा
बिहानै बिहानै
एकपाटो घिसि्रने शरीर
डोर्‍याउँदै, लर्खराउँदै हिँड्ने
यो सडकका
मर्निङवाक खोच्याउने
सडकहरू,
बूढाहरू
केही गर्न नसक्ने
हर्ष सुब्बाले भनेजस्तै
अल्छिलाग्दा दिन कटाउन
मासुका साँप्रा झुण्ड्याएर र
सुँगुरका ढाड बिछाएर
पप्लुटिप्लुको झटारोले
खोयाबिर्के फक्क खुल्छ
साँझमा हरेक चोकहरू
औधि खुसी रमाएका हुन्छन् ।

प्रायः चोंकहरू,
चोकचोकमा उभ्याइएका
बत्ती खम्बाहरू
राँको बालेर हरेक साँझ
सहिदका शालिकहरू
आफ्नै अगाडि खोज्दछन्
तर अपसोस्
सायद कुकुरहरूको हल्लाले
त्यहाँ शालिकहरू आएनन्
सधैँसधैँ बिहान बिहान
घण्टी बजाएर
अग्लो डाँडा विजयपुरबाट
दन्तकाली, बूढासुब्बाहरू
कहिले दिक्क भएको जस्तो
कहिले निन्याउरो जस्तो देखिन्छ
कहिले अत्यन्त भाबुक देखिन्छ,
कहिले असाध्य रिसाएर
भानुचोकको टावर चढेर
ला… मो ला … मो
ठूलो …. ठूलो स्वरले
आवाजले घण्टी बजाएर सङ्केत गर्छ
ठूलोठूलो स्वर निकालेर कराउँछन्
धरानबासीको कान दुख्ने गरी कराउँछ,
प्रत्येक चोकहरूले सुन्ने गरी भन्छ
उठ ! अब अबेर भैसक्यो,
चाँडोभन्दा चाँडो व्यवस्थित गर
निर्माण गर
उत्पादन गर
संचेतना जगाऊ
चाँडोचाँडो चोकहरू
समृद्ध धरान बनाऊ
चाँडाचाँडो
समृद्ध धरानको गीत गाऊ ।

-काठमाडौँ

(स्रोत : मधुपर्क २०६६ माघ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.