~तारा पराजुली~
प्रभातले सप्को खोल्न नभ्याउंदै
दुइचार धर्का मिरमिरे भुइंमा खस्न नपाउदै
गर्भिणी क्षितिजहरु
चिसो घाम कोरल्छन
लाखिएर पल्लो भूखण्ड पुग्छन्
अपांग शरणार्थी सपनाहरु ।
घामसंगै ओहोर दोहोर गर्ने दिनहरु
त्यो जूनको बलेसी
झ्याल ढोकाब छलेर चिहाउने हावाका झोक्काहरु
मौसमका बहार
पीठ्यूँभरि थकाइ थाप्ने चौतारी
फूर्सदका कल्पना
फूलको महक
पालममा तमूल स्वर
खर्कको सेलो
बेठीको सुरम्य
उत्ताउला रत्यौलीहरु
मारुनी हाकपारे
बालुन र चाङबुङ
दशैको मालश्री
तिहारको सयपत्री मखमली मेला
देँउसी र भैलो
बकर इदको अंगालो
सबै सबै पोको पारी
उतै लगेछौ
फगत छाडेछौ झभल्को अल्झाइराखेरयो भूगोल भरि ।
कतिन्जेल झुक्याउनु निर्मल आँखाहरुलाई
उ……. त्यो मूल बाटोको हरियो मन देखाउदै
प्रतिक्षालयमा कुराएर ।
फेरि यो निष्ठूर कालचक्रले भेटाउंछ भेट्टाउदैन
मैले मेरो देश हुंदै सगरमाथाको अटाली निस्केर
यो सन्देश पठाएको छु
भोलि हेर्ने ऐनाहरु
नफुटाउनू भनेर
कसै गरि सुनाइदिनु एउटा प्रदेशी सम्झेर।।।
– तारा पराजुली,मोरङ