~इन्दिरा प्रसाई~
तिमीलाई गुमाएका
मर्मान्त मुटुहरू
र तिम्रो अँगालोमा पुग्ने
व्यग्रतामा छटपटिएका छातीहरू
शरणार्थी शिविरमा
भेटेर, देखेर र सुमसुम्याएर
ए देश ।
म तिमी नहुँदाको
अनुभूतिको सूक्ष्म आभासले पनि
सधैँ आक्रान्त छु ।
त्यसैले
देशसँग कतै छलछाम गरे
कसैले कतै विश्वासघात गरे
मेरो मुटु चस्कन्छ
कोही देशलाई
फगत निजी महत्वाकाङ्क्षाको भर्या ङ बनाएर
माथि उक्लिरहे
भर्यालङतल
अविश्वासको खाडल गहिरिँदै जान्छ
र ओर्लंदा
उसको भूगोल बिग्रिसकेको हुन्छ ।
यस बेला—
कतिको प्रहारले
देश घाइते छ,
थकित/गलित/शोषित भएर
देश त्यसै–त्यसै लमतन्न मूर्तिभन्दा चिसो छ ।
अब पनि यस्तै र यस्तै हो भने
शरणार्थी शिविरमा
हूलका हूल भोका र नाङ्गा
देश हराएका मानिसहरू
तिमी, म र हामीमा रूपान्तरित
सायद सबै र सबै शरणार्थी
देश हराएका
देश पचाएका
हामी शरणार्थी
***
र त्यस बेला बितिसकेको समयसँगै
देश खोजिरहेका हामी ।