~प्रदीप लोहागुण~
गब्बर सिंहजस्तै जब्बर छ देश
गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार
गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था ।
अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार
आधारातमा
रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई
आतंकवादी घोषणा गर्छ देश
सरकार त्यसको कञ्चटमा ताक्छ कानुनको पेस्तोल
र गब्बर सिंहजस्तै खूब अट्टहास गर्छ ।
सरकारको त्यो रहस्यमय अट्टहास
गुञ्जिन्छ संसदको दुवै सदनमा
र संक्रमित हुन्छ
पुलिसको खाकी युनिफर्ममा
वकिलको कालो कोटमा
अनि अदालतको पुरानो टाइपराइटरमा ।
देशको बुट्टेदार थैलीबाट खैनी झिकेर
ठूलो फाँक हाल्छ
र कथित आतंकवादी युवकको अनुहारमै
थुक्छ सरकार ‘हाक थू’
ऊ त्यही युवक हो जसले खेतमा पसिना रोपेर
खोलिदिएको हो स्विस बैंकमा सरकारको एकाउन्ट
ऊ त्यही युवक हो जसले कारखानामा हात काटेर
बनाइदिएको हो प्रधानमन्त्रीलाई चौकी ।
उसलाई थाहा छैन
झेलममा बग्ने
कश्मिरीहरूको पसिनाको आदिम इतिहास
उसलाई थाहा छैन
गंगा र जमुनामा बग्ने
उत्तर भारतीयहरूको पसिनाको लोकगीत
उसलाई थाहा छैन
कृष्ण र कावेरीमा बग्ने
दक्षिण भारतीयहरूको पसिनाको शास्त्रीय संगीत
उसलाई थाहा छैन
ब्रह्मपुत्रमा मिसिएर बग्ने पूर्वोत्तरवासीहरूको पसिनाको कथा
उसलाई थाहा छैन
टिस्टा र रंगीतमा बग्ने पसिनाको चुटके र समला
अर्थात् उसलाई थाहै छैन
यो देशका नदीहरूले
कि आँशु बोक्छन् कि पसिना ।
समाजले ड्रपआउट नागरिक भन्नुअघि
उसले प्राइमेरी स्कुलमा कतै पढेको थियो
कि समुन्द्रको पानी नुनिलो हुन्छ
र त्यसैबाट बनिन्छ नुन ।
तर सरकार नमक हराम छ
नागरिकको पसिनाले नै बनिएको नुन खान्छ
र राष्ट्रप्रेमको कठघरामा उभ्याएर
राष्ट्रिय सुरक्षाको गीता छुवाउँदै
कथित आतंकवादी युवकको बयान लिन्छ
‘सरकार ! मैने देश का नमक खाया है ।’