आजकल मेरो देश एक्लिएको छ
आत्तिएको छ
निस्सासिएको छ
जताततै लुटपाट, अपहरण,हत्याले
कमजोर बन्दै गएको छ
एक अर्कासंगको संबन्ध छुटेको छ
भाइचाराको नाता टुटेको छ
चेलीहरुको बलात्कार बेचबिखन
स्कुले बालबालिकाको अपहरण
युवाहरु विदेश पलायन
यस्तै दर्दनायक कथाको श्रीङ्खला बनेको छ मेरो देश।
मलाई लाग्छ
इतिहासले वीर नेपाली भनेर चिनाएको मेरो देश
शक्तिहीन बन्दै गएको छ
रणभूमीमा परिणत भएको छ
हामी सबै एक्लै भएका छौं
कोही कसैमा विश्वस्त छैन
जसले सक्यो उसले हान्यो, मा-यो
हार गुहार छैन
विवेकशील मानिएका हामी मानव
पशु भन्दा पनि गिरेका छौं
आफ्नो विवेकको प्रयोग गर्न नसक्ने
अविवेकी बनेका छौं
न्याय सिकाउने मेरो देश
आफै अन्यायको चपेटामा परेको छ
आज आफै पीडित छ
बेसहारा बनेको छ मेरो देश
आँशु मात्र बगेको छैन रगतमा डुबेको छ
आस्था, बिश्वास,प्रेम र सहयोग जस्तो पवित्र भावना
गुमाउँदै छौं हामी
अब होसियार बनौं हामी
सोंच बदलौं हामी
भाइचाराको नातालाई पुनर्ताजगी गरी
फेरी एक बनौं हामी
कहिल्यै नटुट्ने गरी
कहिल्यै नछुट्ने गरी
जोडौं संबन्ध हामी
फेरी विच्छेद नहुनेगरी।।।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
July 13, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)