~प्रमोद अधिकारी~
बर्खे झरीमा
गरिवीको छतबाट
तप्प चुहिएको
मध्यरातको पानिले
मलाई कहिल्यै छोएन ।
अर्धनिन्द्रामा
कुम्लो बोकेर
ठाउँ सर्नु परेन ।
देखिरहेको सपना
Pause गर्नु परेन ।
मेरी आमा निथ्रुक्क रुझिन्
अनगिन्ती रातहरु ।
वात्सल्यको छतले
मलाई जोगाइरह्यो ।
एक थोप्पो पानिले
कहिल्यै तर्साएन ।
आकाश भन्दा ठूलो छत
मेरी आमाको मन ।
समय कुदिरहन्छ
मलाई घिसार्दै ।
अहिले तिमी छौ साथमा
जहाँ म ओत लाग्न खोज्छु
मेरो नयाँ छत-तिमी
यहीँ मुन्तिर बसेर
सुख संगाल्न खोज्छु ।
दुःख लुकाउन खोज्छु ।
जिन्दगी विताउने
लालसा छ
तिम्रो प्रेमात्माको छतमा ।
आजसम्म मेरी आमाको
ममताले ओवानो
जोगिएको म
तर आज यि आँखाहरुले
झरी बर्षाए
निथ्रुक्क भिज्ने गरी
सायद तिम्रो मनको छत
कमजोर भएछ कि !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)