~जीवराज बुढाथोकी~
यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै
हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!!
उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी
आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !!
जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी
सुनौलो कपालको सुन्दर जुरो, मजबुत बाँधेकी !!!
बाँयाँ हातमा वियाड, दायाँ हातले रोपी रहेकी
ती एक्ली सुन्दरी, असारको हिलोमा खेली रहेकी !!
कुनै बेला यस्तै सुन्दरी, एक्लै बाली काटी रहेकी
काम गर्दे, बेदनाले भरिपूर्ण, गीतपनि गाई रहेकी !!!
वीलिएम वर्डस्वर्थले गरेका, तिनको वर्णन सुन्दर
उनी बाली काट्दै थिइन् रे ! यिनी रोपी रहेछन् तर !!
उनी गाउदै थिइन रे ! यिनी भने मौन रहेकी छन्
यिनको भावुकतामा सुन्दरता, लाग्छ धेरै झन् !!!
बस्तीबाट टाढा, हरिया डाँडाको काखमा फैलिएको
मनोरम फाँटका गराहरु, झमझम बर्षाले भरिएको !!
दृष्य यो छ रमाइलो, हेरिरहुँ लागिरहने सबैलाई
प्रकृतिको मनोरम सुन्दरताले, छुँदैन र कसलाई !!!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं