~अर्जुन दाहाल~
पर्खाइमा छ उ भोलिको
भिज्दैन अब सिरानी ,
जब उसको मृत्यु र तिम्रो विवाह ,
हुनेछ भोलि बिहानी ।
सिँगारिएकी हुन्छौ तिमी
र अवश्य , उ पनि हुन्छ सजिएको ,
बेहुलीको पहिरनमा तिमी ,
उ सेतो कात्रोले बेरिएको ।
ओड घुम्टो , लगाउ बरमाला
पाउनेछौ तिमिले नयाँ साथी ,
थकित थियो ,
आराम गर्छ , उ तटस्थ हरियो बाँसमाथी ।
भिड हुनेछ तिम्रोमा
बिवाहको सलामी ,
भिड हुनेछ उसकोमा
लामबद्व मलामी ।
शोकमग्न छ उसको परिवार ,
शंख बज्छ उसको घरमा,
तिम्रो घरमा छ नयाँ आशा ,
बजाउ तिमी पन्चैबाजा ।
रुँदै रुँदै लान्छन उसलाई
कफनभित्र बेरिएर ,
हाँस्दै हाँस्दै तिमी जानू ,
डोलिभित्र सजाएर ।
बधाई छ तिमिलाइ ,
बिवाहको शुभकामना ,
बजाउ तिमी ताली
उसलाई अन्तिम श्रद्धाञ्जली ।
डोलि चढि जाँदा तिमी
कफनभित्र लाश भइ उ बस्दै हुनेछ ,
बेहुली बनी नयाँ घरमा तिमिले पहिलो पाइला टेक्दा
समसानघाटमा हेर्नू , उ जल्दै हुनेछ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )