~श्यामदास वैष्णव~
जसले जे गरे पनि अहिले
‘हुने’ भएको छ ।
‘गाई’लाई ‘गदाह’
र, ‘गदाह’लाई ‘पदाह’ माने पनि
फरक नपर्ने भएको छ ।
रातलाई ‘दिन’ र
दिनलाई ‘अलच्छिन’
ठाने पनि मिल्ने भएको छ ।
मूल्यांकनको दृष्टिकोणै
‘अदल’-‘बदल’ भइरहेका बेला
नेतालाई बिक्रेता र
बिक्रेतालाई ‘प्रयोक्ता’
ठाने पनि हुने भएको छ ।
पहिलेको धारणा भत्काई
परिवर्तनले –
‘नयाँ व्यवस्था’ बसाल्न खोजेको छ ।
यस उद्देश्यपूर्तिका लागि
‘लुट्नेलाई’-‘छुट्ने’ र
नजुट्नेलाई ‘पिट्ने’
गरे पनि सुहाउने भएको छ ।
‘क्रान्ति’ भन्नु परिवर्तन न हो !
‘शान्तिलाई’ भ्रान्ति र ‘भ्रान्तिलाई’ ‘संक्रान्ति’
माने पनि कोही नबोल्ने भएको छ ।