~दुर्गा कार्की~
केहि दिनदेखि
दिनहुँ तिमी सपनामा आउछौ
र एक हुल आफुजस्तै मान्छेहरुका
अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!”
केही दिनदेखि
कहिँ कतै केही लेखुँ भन्छु
शब्दै भेट्दिनँ खर्चिने!
सत्ते!
उनका लागि पनि, तिम्रा लागि पनि!
फरक यत्ति
उनका लागि आदरले सिँचेका,
तिम्रा लागि घृणाले रुझेका!
आजभोलि,
बाटोमा हिँड्दाहिँड्दै टक्क अडिन्छु- ती बुढा मरे भने???
ओहो!
उनीसँगै मर्छ,
गाउँकी मेरी हजुरामाको “सास”को सिलिन्डर खाटसङ्गै ठड्याउने लोभ,
मामाको मृगौला धुन हप्तैपिच्छे काठमाडौँ धाउन नपर्ने सपना,
फूपूको “हाच्छ्यूँ” गर्दा हाम्फाल्ने आङ अडिए भाकल चढाउने संकल्प,
थाहा पाएदेखि सुन्दै आएका आमाका कर्कर लुछ्ने घुँडाका कथाहरु,
बैनीको “धेरै पडेर डाक्डर” बन्ने रहर
र मेरा एक थान कविताहरु!
तिम्रा मर्दैनन् हजुरामाका सपनाहरू,
तिम्रा लुछ्दैनन् आमाका व्यथाहरु,
तिम्रा दुख्दैनन् बैनीका रहरहरु!
हुँदैन घाटा तिमीलाई !
मर्छ त केवल
बचेखुचेको
अलिकति मानवता !
अलिकति विवेक !
अलिकति भातृत्व !
अलिकति आदर्श !
अलिकति दयामाया, संवेदना!
कुरो यति मर्दासम्म तिमी मान्छे रहन्छौ कि रहन्नौ भन्ने हो!
भनेँ नि,
घाटा त अहँ, हुन्न तिमीलाई!
#SaveDrKC
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)