~अर्जुन दाहाल~
हिजो,
हो, आज उसको नाम परिवर्तन भएको छ ,
प्रकृतिको वरदान , समयको दाइजो ,
राष्ट्र र सरकारले दिएको उपनाम ,
लाखौं जस्तै , उसले पनि आज नयाँ नाम पाएको छ ,
“भुकम्प पीडित”
आज,
उ नदिहरुले घेरिएको छ ,
गतिशील, शान्त र कलकलाउँदो नदि ।
उ समाचार सुन्छ “राहतका समान अवरुद्ध”
उ नदि हेर्छ, आफ्नो रित्तो बोतल हेर्छ ,
तर उ खुसी छ ,
के ७।६ को कम्पनबाट पनि जिवित रहेर हो र ?
हेरिरहेको छ उ , हरेक संरचनाका भग्नावशेष ,
आँखाले भ्याउन्जेल ,
वरिपरि हेर्छ, चिचिला बालबालिका रोइरहेका ,
उ सम्झन्छ आफ्नो परिवार ,
अनि हेर्छ टुहुरो भएको पत्तो नपाएका बालबालिका
चन्चल तर त्रसित
के उनिहरु आमाको न्यानो स्पर्श खोजिरहेका हुन ?
राष्ट्र राहत मागिरहेको छ ,
राष्ट्रवासी राहत खोजिरहेका छन ,
अन्तर्राष्ट्रिय सहयोगमा पनि कालोबजारी ,
राष्ट्रनेता पनि त्यतै तानिएका छन ,
समाचार सुन्छ ,”चाँडै पालहरु बाँडिने”
उ समाचार सुन्छ, आफ्नो पाल हेर्छ ,
अर्धमृत पाल ,
घाइते भए पनि सुर्यको किरणले चम्किलो
तर किन उ वायु र ईन्द्रको भक्ति जपिरहेको छ ?
भोलि ,
आज गाउँमा भिड छ ,
गाउँमा राहतको गाडी आएको छ ,
अनि छाएको छ, एउटा समचार,
“उद्वारटोली द्वारा एउटा बालक सकुशल उद्वार”
उ उद्वारटोलीको हातको बालक हेर्छ ,
कसरी नचिनोस एउटा बाबुले आफ्नो आफ्नो बंश ?
उ आफ्नो भोको नाङ्गो जीउ हेर्छ ,
उद्वारटोलिको भिडमा आफ्नो बालक हेर्छ ,
उद्वारटोलिको गाडीको राहत हेर्छ,
कुन भिडतर्फ लम्कने सोच्छ,
सायद, निब्न आटेको मैनबत्तिनै धेरै चम्कन्छ ,
पुलकित मुद्रामा , उ सुस्तरि बोल्छ ,
“बल्ल राहत”
अन्तत:,
पीडितहरु आशामै छन ,
राष्ट्र शोकमग्न छ,
राष्ट्रवासीका आँसु रोकिएका छैनन ,
सरकार कमाउनमा ब्यस्त छ ,
ठिकै भन्छन बृद्धहरु
मर्न भन्दा बाँच्नै छ गाह्रो ।
आफु भोकै बिते पनि ,
आफ्नो मृत शरीरको नाममा राहत भित्र्याइरहेका छौ ,
राष्ट्र र राष्ट्रवासीलाई सिमितै भए पनि राहत बाडिँरहेका छौ ,
जिउँदो र मृत, दुवै शरीरले
राष्ट्रसेवा गरेका सम्पुर्ण भुकम्पिय शाहीदहरुलाई
मेरो कबिताको सलाम ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )