~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
(सहरको एउटा एकतले घर छ । भान्छा कोठामा आमा साँझपख खाना पकाइरहेकी हुन्छिन् । पाँच वर्षीय छोरी सबिना टेबलमा गृहकार्य गरिरहेकी छन् अनि उसको दाजु सात वर्षीय सबिन कुर्सीमा बसेर रित्तो सिलिन्डरको रिङ्ग घुमाइरहेको छ । रिङ्ग मानौ उसका लागि कारको स्टेरिङ हो, हुँ… हुँ… हुँ… पपप…। यत्तिकैमा कार्यालय सकेर फर्किएका बुबाको प्रवेश हुन्छ ।)
सबिन – (बुबालाई देख्नेबित्तिकै) बुबा…आज पनि कार ल्याउनु भएन ?
बुबा – यी ल्याएको छु त, हेर त (खेलाउने कार दिँदै) ।
सबिन – (रिसाएर खेलौना कार भूइँमा फाल्दै) चाहिँदैन यस्तो खेलाउने कार । अँ मलाई त बाटोमा कुदाउने ठूलो कार नै चाहिन्छ ।
बुबा – भन्नेबित्तिकै कसरी किन्नु कार ?
सबिन – (रिसाउँदै) मैले हजुरलाई कार किन्दिनु भनेको धेरै भइसक्यो ।
बुबा – (ढोकाबाट भित्र पस्दै) पर्खन बाबु, बुबाले धेरै पैसा कमाउने अनि कार किन्दिने ?
सबिन – कत्ति दिन भइसक्यो मैले भनेको । अब ता धेरै कमाइसक्नु भयो । जाउ किनेर ल्याउँ । मलाई कुदाउन मन लागिरको छ के । (रिङ्गलाई कहिले देब्रे त कहिले दाहिने घुमाउँदै) हुँ… हुँ… हुँ… पपप…।
बुबा – (झोला टेबलमा बिसाएर कुर्सीमा बस्दै) अब भोलिपर्सी किन्नुपर्छ नि । यी आज पनि अलिकति कमाएर आएँ कार किन्नलाई । अब अझै धेरै दिन काम गरेपछि धेरै पैसा हुन्छ अनि किन्ने नि ?
सबिन – अस्तिदेखि तपाईले कमाएको पैसा धेरै भइसक्यो । बैंकमा राखेको छ भनेको होइन । पुगेन भने मेरो खुत्रुकेमा पनि छ नि । (खुत्रुके हल्याउँदै बुबालाई दिन्छ)
आमा – त्यति पैसाले कार किन्न पुग्दैन बाबु । कति जिद्दी गरेको बुबासँग ।
सबिन – कति चाहिन्छ त ?
आमा – यी यो कोठाभरि पैसा हुनुपर्छ, यत्ति धेरै चाहिन्छ ।
सबिन – कोठाभरि भनेको कति रुपैयाँ आमा ?
आमा – तिमीले भनेजस्तो कार किन्न त बीस लाख रुपैयाँ पर्छ । कहाँबाट कसरी ल्याउनु ?
सबिन – (खुत्रुके थन्क्याउँदै थाल लिएर आएपछि सबिन कुसीमा बस्छ र थाललाई स्टेरिङझैं घुमाउँछ) बुबा त्यसो भए हामी यो घर बेचौं न त । अनि त कार किन्ने पैसा पुगिहाल्छ नि ।
बुबा – बाबु सबिन तिमीले कति जिद्दी गरिरहेको ? कही घर बेचेर कार किन्ने हो त ?
सबिन – न्यौपाने अंकलको पनि कार छ । मदन अंकलले पनि किनिसक्नु भो । सबैको कार छ, हाम्रो चैं…।
(गृहकार्य सकेर सबिना भान्छाकोठाबाट बाहिरिन खोज्छे ।)
सबिन – सबिना…, ऐ बुनु…। आइज बस मेरो कारमा, म तँलाई मामा घर पुर्याएर ल्याउँछु ।
(सबिनालाई भने सबिनजस्तो कारमा कुनै चासो छैन, उसलाई खेलौना भए पुग्छ । मनपर्ने खेलौना लिएर बारिहिन्छे ।)
सबिन – बुबा, आज त जसरी भए पनि कार किन्न जाउँ है ।
आमा – बाबु सबिन तिमी कति जिद्दी गरिरहन्छौ । मेरो जागीर छैन । बुबाको तलबले तिमीहरुलाई पढाउनु कि यो घर बनाएको ऋण तिर्नु कि कार किन्नु ?
सबिन – मैले अघि नै भनेको होइन, घर बेचेर किनौ भनेर !
आमा – (तरकारी चलार्उँदै) घरै बेचेर कहाँ सुत्ने नि ?
सबिन – कारमै पकाउने, सिटमा बसेर खाने अनि त्यही सुत्ने नि ।
बुबा – घर नै बेचेपछि कारचाँही कहाँ राख्ने नि ?
सबिन – मदन अंकलको जस्तै बाटो मै राख्ने नि (बाहिर निस्केर कोठाभित्र छिर्दै) ऊ अंकलको बाटोमै छ, हेर्नु त ।
बुबा – (सबिनको जिद्दीले दिक्क हुँदै कुरो मोड्दै) अनि बाबु सबिन कार किनेपछि कसले हाँक्ने नि ?
सबिन – म हाँक्छु नि । (थाल घुमाउँदै हुँ… हुँ… हुँ… पपप…।) तपाईहरुलाई विदेश पनि घुमाइदिन्छु ।
बुबा – तिम्रो त लाईसेन्स पनि छैन, ट्राफिकले पक्रियो भने नि ?
सबिन – ट्राफिकले हेर्ने बेला तपाईले हाँक्नु नि ।
बुबा – (सबिन कहिले देब्रे त कहिले दाहिनेतिर थाललाई स्टेरिङजस्तै घुमाइरहेछ) तिमीले यी यसरी नै स्टेरिङ घुमायौ भने त गाडी एक्सीडेन्ट भइहाल्छ नि ?
सबिन – कार किनेपछि त तपाईले मलाई सिकाइहाल्नु हुन्छ नि । (एकछिन सम्झँदै) यी मलाई आइहाल्छ नि । गियर यसरी सार्ने, तल खुट्टाले ब्रेक र क्लज थिच्ने, स्टेरिङछेउमा हर्न थिच्ने, पानी पर्र्यो भने शिशा पुछ्न पनि आउँछ मलाई वाइफर चलाउने त हो नि अनि ऐनाबाट अगाडिपछाडिका गाडी हेरेर चलाउनुपर्छ । अनि त हुँ… हुँ… हुँ… पपप…।
आमा – (खाना पस्कँदै) सबिन ल पुग्यो अब कार बाटोमा साइड लगाएर खाना खान आउ ।
सबिन – बुबा कार किन्ने भनेको होइन । अहिल्यै जाउँन, किनेर ल्याइहालौं न । हुँ… हुँ… हुँ… पपप…।
(बुबा हात धोएर खाना खान बसेका हुन्छन् । यत्तिकैमा छिमेकी शिक्षक गोपालको आगमन हुन्छ । ढोकाबाट भित्र हेर्दै)
गोपाल – सबिन के किन्ने रे ?
(एकआपसमा नमस्कार आदानप्रदान हुन्छ । गोपालले सबिनलाई पनि नमस्कार गर्छन्, उ नमस्कार फर्काउँदै भन्छ ।)
सबिन – गोपाल सर हामी त कार किन्ने । कार किनेपछि त म हुँ… हुँ… हुँ… पपप…।
गोपाल – (कुर्सीमा बस्दै) बाबु सबिन कार किन्ने पैसा खै त ?
सबिन – बुबासँग छ । अलिकति पुग्दैन रे, गोपाल सर तपाई दिनु न ।
आमा – (गोपाल सरलाई चिया दिँदै) यसले कार किनिदिनु भनेको तीन वर्ष भइसक्यो । घर किनेदेखि नै उसले कार कार भनेको भन्यै छ ।
सबिन – सर गोजीमा कति पैसा छ ? (पैसाले भरिएको गोजीतिर हेर्दै)
गोपाल – बाबु म पनि तिम्रोजस्तै घर बनाउँदै छु । यी यति पैसाले पुग्दैन, धेरै पैसा चाहिएको छ ।
बुबा – ए सबिन तिमी आज किन यति जिद्दी गरेको ? चुप लाग्ने कि यही लौराले बसालूँ ? (फकाउँदा नमानेपछि बुबा सबिनलाई कुट्न खोज्छन् । सबिन रुन थाल्छ ।)
गोपाल – (जिस्क्याउँदै, हँसाउन खोज्दै) खेल्ने कार भए म किनिदिउँला, हुन्छ ?
सबिन – नाई, नाई, चाहिँदैन के त्यस्तो मुला खेल्ने कार…।
आमा – (जिस्क्याएको नबुझी) कहाँ खेल्ने कारको कुरा गर्या हो र उसले ? कुन्नी के कार चाहिएको रे, चानचुने हो र ? बीस लाख पर्छ रे ! खेलाउने कार त उ पल्लो कोठामा कति छन् कति । आज ल्याइदियो भोलि पुरानो हुन्छ ।
गोपाल – सबिन तिम्रो बाबालाई पनि त हजुरबाले कार किन्दिनुभएको छैन नि । तिमी पनि बुबाले जस्तै धेरै पढेर कमाएर मोटरसाइकल किनेजस्तै कार किन्ने ।
(यत्तिकैमा खाना खान बोलाउन गोपाल सरको छोरो निर्मल आइपुग्छ)
सबिन – निर्मल दादा, हामी त कार किन्ने । तपाई पनि तपाईको बुबालाई किनिमाग्नु नि । हाम्रो स्कुलमा त साथीहरु कारमा आउँछन् । उनीहरुका बुबाआमाले कारमा चढाएर घर ल्याउँछन् ।
निर्मल – (कोठाभित्र प्रवेश गरेर कुर्सीमा बस्दै) म त धेरै पढ्छु, अनि डाक्टर बन्छु । अनि आफैं पैसा कमाएर कार किन्छु ।
सबिन – नाइ मलाई त कुदाइहाल्न मन लागेको छ ।
निर्मल – सबिन हुँदैन । म १० कक्षामा पढ्ने भइसकें र त कार कुदाउन डर लाग्छ । अस्ति मेरो साथीले बाबासँग चाबी मागेर कुदाएको एउटा मान्छे किचाएछ, उसको बाबाले त्यो मान्छेलाई उपचार गर्न धेरै पैसा खर्च गरिरहनुभएको छ । मलाई त डर लाग्छ, पछि ठूलो भएपछि कमाएर किनौंला अनि चढौंला । हस् सबिन ।
सबिन – (निर्मलको कुराले सबिन एकछिन घोत्लियो । चित्त बुझेछ क्यार, खुसी हुँदै भन्यो) दादा, म पनि तपाईजस्तै डाक्टर बन्छु, अनि धेरै पैसा कमाउँछु अनि कार किन्छु है ।
(सबिनलाई हौसला दिन सबैजना खुसी भएर ताली पिट्छन् ।)
बुबा, आमा, गोपाल सर सबै एकैपटक भन्छन् (स्याबास सबिन, तिमी कत्ति ‘गुड’ ।)
(पर्दा खस्छ ।)
gopiji2065@gmail.com
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल